नेपालमा बढ्दो वायु प्रदूषण र त्यसले स्वास्थ्यमा पारिरहेको असरबारे सोमबार काठमाडौंमा संवाद भएको छ । वातावरण विभाग, युथ अलायन्स फर इन्भाइरोन्मेन्ट र क्लिन एयर अलाइन्सको सहकार्यमा आयोजित कार्यक्रममा नेपालमा वायु प्रदूषणको वर्तमान अवस्था, स्वास्थ्य जोखिम र नीतिगत चुनौतीबारे छलफल भएको हो ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालको हावाको गुणस्तर असुरक्षित रहेको र पिएम २।५ को स्तर दक्षिण एसियामै उच्च रहेको जानकारी दिइयो । नेपालमा कुल मृत्युमध्ये करिब १९ प्रतिशत मृत्यु वायु प्रदूषणसँग सम्बन्धित रहेको देखाएको छ ।
विशेष गरी काठमाडौं उपत्यकामा पछिल्ला दिनमा हिउँद र सुक्खायाममा एक्युआई २०० भन्दा माथि पुगेको, धुँवाधुलो, सवारी साधनको धुवाँ, निर्माण गतिविधि, फोहोर जलाउने प्रवृत्ति र वन डढेलोले प्रदूषण बढाएको निष्कर्ष कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका वायु प्रदूषण विश्लेषक सागर अधिकारीले नेपालमा बर्खाका बेला पानीले पखाल्दा प्रदूषण घट्ने भए पनि त्योबाहेक अन्य समयमा मापदण्डभन्दा माथि हुने गरेको बताए।
नेपालमा वायु प्रदूषणको स्थिति, योजना र नीतिहरू सम्बन्धी प्रस्तुति दिएका अधिकारीले भने, ‘मनसुनमा वायु प्रदूषणको मात्रा कम हुँदाहुँदै पनि मापदण्डभन्दा माथि नै हुन्छ, बर्खामा पानीले पखालेर लगेका बेला मात्र कम हुन्छ । यसबाहेक अन्य सिजनमा त वायु प्रदूषण उच्च नै हुन्छ ।
काठमाडौं उपत्यका र तराई क्षेत्र वायु प्रदूषणका दृष्टिले हटस्पट हुन् ।’ डा. अनुप सुवेदीले रौंभन्दा पनि मसिना प्रदूषणका कण ९पिएम २.५० श्वासप्रश्वास नलीमा सिधै प्रवेश गरेर रक्त सञ्चार प्रणालीमा मिसिने र मुटु हुँदै जुनसुकै भागमा जाने गरेको बताए ।
वायु प्रदूषणले आमनागरिकमा पार्न असर तथा त्यसमा पनि बालबालिका र ज्येष्ठ नागरिकमा केन्द्रित भएर प्रस्तूति दिएका डा सुवेदीले भने, ‘वायु प्रदूषणले नागरिकको आयु घटाएको छ । स्वासप्रश्वास, उच्च रक्तचाप, हृदयघातसँग सम्बन्धीत रोगमा वायु प्रदूषणको पनि योगदान छ ।’ प्रदूषित हावाका कारण बालबालिकामा फोक्सो विकासमा असर, दम, श्वासप्रश्वाससम्बन्धी रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या बढिरहेको उनले बताए।
वातावरण विभागका वातावरण निरीक्षक प्रकाश केसीले प्रदूषण नियन्त्रणका लागि स्रोतमै नियन्त्रण गर्नुपर्ने बताए । वातावरण विभागले काठमाडौं उपत्यकाको वायु प्रदूषण कार्ययोजना संशोधन तथा वायु प्रदूषणको राष्ट्रिय मापदण्ड परिमार्जन गरिरहेको उनले जनाए ।
स्वास्थ्य मन्त्रालयका डा. समीर अधिकारीले वायु प्रदूषण समाधानका लागि दीर्घकालीन पहल आवश्यक रहेको उल्लेख गर्दै यसले भावी पुस्तालाई लाभ पु-याउने कुरामा जोड दिए। उनले नेपालमा यस समस्यालाई प्रभावकारी रूपमा समाधान गर्न वकालत र प्रदूषणका स्रोतको सही पहिचान अत्यन्त महत्वपूर्ण हुने बताए। उनले फोहोर जलाउने कार्य वायु प्रदूषणको प्रमुख कारण भएको उल्लेख गर्दै फोहोर व्यवस्थापन सरकार मात्र नभई सबै नागरिकको साझा जिम्मेवारी भएको बताए। साथै, उनले प्रदूषणलाई यसको स्रोतबाटै घटाउने आवश्यकता औंल्याउँदै वायु प्रदूषण नियन्त्रण केवल वातावरण विभाग वा स्थानीय सरकारको मात्र दायित्व नभएको पनि स्पष्ट पारे।
युथ अलायन्स फर इन्भाइरोन्मेन्टका अध्यक्ष सनोत अधिकारीले वातावरणीय स्वास्थ्यका लागि कुनै ‘खोप’ नभएको चेतावनी दिँदै स्वच्छ वातावरणका लागि सामूहिक प्रयास आवश्यक रहेको आग्रह गरे। सोही अवसरमा नीति निर्माता, शिक्षाविद्, विज्ञ, बालबालिका तथा युवा प्रतिनिधि र नागरिक समाजसँग संवाद पनि भएको थियो । सहभागीले वायु प्रदूषण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने औंल्याए । सरोकारवालाले जनचेतना फैलाउनुपर्ने, वैज्ञानिक तथ्यमा आधारित नीति निर्माण तथा बालबालिका र युवालाई केन्द्रमा राखेर समाधान अघि बढाउनुपर्नेमा जोड दिए ।