गत भदौ २४ मा भएको जेन–जी आन्दोलनको क्रममा काठमाडौं जगन्नाथदेवलस्थित केन्द्रीय करागारबाट फरार कैदी सिराहास्थित घरबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएको संयुक्त प्रहरी टालीले गोप्य सूचनाको आधारमा सोमबार करिब ३८ वर्षीय अञ्जनी कुशवाहालाई कर्जन्हा मरेवाबाट पक्राउ गरेको हो। सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार कुशवाहालाई कर्जन्हा नगरपालिका– ७ मरेवास्थित उनकै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेको अवस्थामा फरार भई गाउँघरमै लुकीछिपी बसिरहेको सूचना प्राप्त भए लगत्तै प्रहरी परिचालन गरी पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरीमार्फत सम्बन्धित कारागारमा बुझाउने पहल भइरहेको छ।