गत वर्ष ब्राजिलमा सम्पन्न संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३०) ले अवलम्बन गरेको जलवायु–वित्त र अनुकूलन उपायहरू ‘बेलेम प्याकेज’ को दायरा निकै संकुचित छ । तथापि, अर्थपूर्ण अफ्रिकी सहयोगविना विश्वले अब अफ्रिकाका लागि जलवायु समाधानको योजना बनाउन नसक्ने स्विकार्दै यसले नीति निर्माणमा गहिरो परिवर्तनलाई इंगित गरेको छ । विश्वव्यापी हरितगृह–ग्यास उत्सर्जनको ४ प्रतिशतभन्दा थोरै योगदान गरे पनि अफ्रिकाले जलवायु संकटको भने ठुलो मार खेपिरहेको छ । फलस्वरूप, केही वर्षयता यो महादेश जलवायु–वित्त बहसको किनाराबाट अग्रस्थानमा आएको छ । र, अफ्रिकाको ‘नेट–जिरो’ कार्बन उत्सर्जनतर्फको यात्रालाई बढावा दिनुपर्छ, बाधा पु¥याउनु हुँदैन भन्ने अहिले विश्वले बुझेको छ । अफ्रिकी देशहरूले पनि निर्भरताको पुरानो ढाँचा दोहो¥याउनुको सट्टा न्यून–कार्बन भविष्य उत्सर्जनसहितको औद्योगिकीकरण, व्यापार र आर्थिक वृद्धिलाई जोड दिनुपर्छ ।
‘कोप–३०’मा अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंक (अफ्रिएक्जिमबैंक)द्वारा जारी गरिएको ‘इएसजी प्रतिवेदन’ले यही दिशातर्फको परिवर्तनलाई प्रतिबिम्बित गर्छ । प्रतिवेदनअनुसार बाह्य समाधान पर्खनुको सट्टा, अफ्रिकी संस्थाहरूले पहिल्यै महाद्वीपको आर्थिक विकास र जलवायु महत्वाकांक्षालाई समर्थन गर्न आवश्यक कदम चालिरहेका छन् । तर, ठुलो स्तरमा जलवायु–वित्त निकासा सहज बनाउन अफ्रिकी बहुपक्षीय संस्थाहरूले साझा महाद्वीपीय दृष्टिकोणलाई प्रवद्र्धन गर्ने समन्वित शक्तिका रूपमा काम गर्नु आवश्यक छ । अफ्रिएक्जिम बैंकको प्रतिवेदनले दिगो लगानी परिचालनमा मद्दत गर्नसक्ने कैयौँ व्यावहारिक उपकरण अघि सारेको छ, जसमा ‘जलवायु परिवर्तन अनुकूलन वित्त सुविधा’ एक हो । क्यामरुनमा सौर्य परियोजनालाई सघाउने होस् वा नाइजेरियाली व्यवसायलाई स्थिर लगानी प्रदान गर्ने होस्, यी उपायले कसरी विकेन्द्रीकृत स्वच्छ ऊर्जाले अफ्रिकाको औद्योगिकीकरण र आर्थिक प्रतिस्पर्धात्मकतालाई आधार बनाउन सक्छ भनेर देखाउँछ ।
अफ्रिका अहिले आफूले सिर्जना नै नगरेको संकटबाट आफूलाई परिभाषित हुन नदिने बाटोमा अघि बढिसकेको छ
त्यस्तै गरी, ‘अफ्रिका ट्रेड ट्रान्सफरमेसन फन्ड’जस्ता सुविधाले यस महाद्वीपको भारी ऋण बोझ र जलवायु जोखिमको दोहोरो चुनौतीलाई सम्बोधन गर्न सघाउन सक्छ । विशेष गरी, नवप्रवर्तनकारी ‘अफ्रिका ट्रेड ट्रस्ट फन्ड’ले जलवायु लगानी बढाउन महत्वपूर्ण हुने परियोजनालक्षित कार्यक्रमको एक उदाहरण दिन्छ । अफ्रिकामा प्रभावकारी जलवायु कार्यक्रम आर्थिक सार्वभौमिकता र व्यापारसँग अविभाज्य रूपमा जोडिएको छ । हरित मूल्य शृंखला स्थानीयकरण गर्ने, न्यून कार्बन उत्पादन केन्द्र निर्माण गर्ने र जलवायु–लचिलो पूर्वाधारमा लगानी गर्ने कुराहरू केवल जलवायु पहलकदमी मात्र रहेनन्, अब ती न्यायपूर्ण संक्रमणतर्फको राष्ट्र–निर्माण परियोजना बनेका छन् । अब विश्वव्यापी वित्तीय प्रणाली पनि यो नयाँ वास्तविकतामा समायोजन हुन सक्नुपर्छ ।
विकसित अर्थतन्त्रहरूले अफ्रिकी प्रयासमा भरथेग हुने गरी सहुलियतपूर्ण वित्तमा पहुँच सहज बनाउनुपर्छ । यस क्रममा अफ्रिकालाई सहायता प्राप्तकर्ताका रूपमा नभई बराबारीको व्यापारिक साझेदारका रूपमा सम्मान गर्नुपर्छ । दान दिने दयाको भावनाले नभई अफ्रिकाको हरित संक्रमणलाई सघाउनु विश्वव्यापी जलवायु लचिलोपन र समतामूलक वृद्धिमा योगदान हुनेछ ।
कोप–३० ले स्पष्ट पारेझैँ, अफ्रिकाका वित्तीय संस्थाहरू पहिल्यैदेखि आआफ्नै सर्तअनुरूप स्वच्छ ऊर्जातर्फ अग्रसर भइरहेका छन् । अफ्रिकाको आर्थिक रूपान्तरण प्रविधि हस्तान्तरण र क्षमता निर्माणमा निर्भर हुनेछ, जुन परियोजनामा अफ्रिएक्जिम बैंक र यसका साझेदारले वित्तपोषण गरिरहेका छन् । सौर्य फार्म यसैको एक उदाहरण हो । सुरुमा लगाउँदाको खर्चबाहेक यी सौर्य फार्म भविष्यको बिजुली ग्रिडको हिस्सा बन्छ र यिनले स्थानीय उपकरण उत्पादनलाई प्रेरित गर्छन् र इन्जिनियरहरूको नयाँ पुस्तालाई तालिम दिन मद्दत गर्छन् ।
नाइजेरियाको ‘आबा एकीकृत पावर प्रोजेक्ट’ले यही बृहत्तर दृष्टिकोणलाई चित्रण गर्छ । साना व्यवसायलाई स्थिर, स्वच्छ ग्यास ऊर्जा प्रदान गरेर, यसले एकैसाथ उत्सर्जन कम गर्ने, उत्पादकता बढाउने र स्थानीय मूल्य शृंखलालाई बलियो बनाउने काम गर्छ । यसले कोप–३० मा धेरै सहभागीले उठाएको मुख्य प्रश्नको जवाफ दिन्छ ः अर्थतन्त्रहरू कसरी एकसाथ जलवायु–लचिलो र विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न सक्छन् ? उत्तर वातावरणीय प्रगतिलाई आर्थिक शक्तिसँग जोड्ने एकीकृत परियोजनामा निहित छ । निश्चित रूपमा, प्रणालीगत अवरोध बाँकी छन् । अफ्रिकाले सन् २०३० सम्ममा राष्ट्र संघीय दिगो विकास लक्ष्य प्राप्त गर्न १.६ ट्रिलियन (१६०० अर्ब) डलरको विशाल वित्तपोषण खाडलको सामना गरिरहेको छ । यसले विश्वव्यापी वित्तीय प्रणाली र महादेशको आवश्यकताबिच कायम गलत लक्ष्यमा प्रकाश पार्छ । ‘बेलेम प्याकेज’ले त्यो असन्तुलनलाई स्विकारेको छ, जुन आफैँमा सही दिशातर्फको पाइला हो ।
उत्साहजनक रूपमा, अफ्रिकी संस्थाहरूले निजी पुँजी आकर्षित गर्न न्यून–जोखिमयुक्त उपकरण र मिश्रित वित्त मोडेल विकास गरेर प्रतिक्रिया दिइरहेका छन् । यी सबैले अफ्रिका अब आफूले सिर्जना नगरेको संकटद्वारा आफैँ परिभाषित हुन इच्छुक नरहेको देखाउँछन् । बरु, यो महादेशले औद्योगिकीकरणलाई अगाडि बढाउने, स्थानीय ऊर्जा स्रोतको लाभ उठाउने, व्यापार विस्तार गर्ने र बजारलाई एकीकृत गर्ने न्यायपूर्ण हरित संक्रमणलाई पछ्याउँदै छ । यसले २१औँ शताब्दीलाई नै परिभाषित गर्ने एक अवसर सिर्जना गरी विश्वव्यापी जलवायु लचिलोपनका लागि आधार तयार गर्दै छ ।
(कागुम्या ‘अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंक’मा ‘ग्रुप चिफ रिस्क अफिसर’ हुन्) प्रोजेक्ट सिन्डिकेटबाट