तीव्र बन्दै अफगानिस्तान–पाकिस्तान द्वन्द्व

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण
  • तालिबान र पाकिस्तान दुवै अहिले पूर्ण द्वन्द्व चाहँदैनन्, तर गहिरो अविश्वासले युद्ध रोक्न सक्ने अवस्था पनि देखिँदैन

मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण अफगानिस्तान र पाकिस्तानबिच चलिरहेको द्वन्द्व अहिले धेरै हदसम्म छायामा परेको छ । तथापि, द्वन्द्व दिन–प्रतिदिन तीव्र बन्दै गइरहेको छ र तनाव कम हुने सम्भावना अहिलेका लागि न्यून देखिन्छ । द्वन्द्व चर्किंदै गएका वेला गत मंगलबार पाकिस्तानले काबुलको एक अस्पतालमा बम आक्रमण गरेको तालिबानले आरोप लगायो । आक्रमणमा चार सयभन्दा बढीको ज्यान गएको बताइएको छ, जुन यस द्वन्द्वको अहिलेसम्मको सबैभन्दा घातक घटना हो । 

इस्लामाबादले भने अस्पतालमाथि आक्रमणको आरोप अस्वीकार गर्दै आफूले मुख्यत: तालिबानका ‘सैन्य प्रतिष्ठान र आतंकवादीलाई सघाउने पूर्वाधार’लाई मात्र निसाना बनाइरहेको बताएको छ । अफगानिस्तानले आफ्नो भूमिमा आतंक मच्चाइरहेको आतंकवादी समूह ‘तहरिक–ए–तालिबान पाकिस्तान (टिपिपी)’लाई आश्रय दिइरहेको पाकिस्तानको आरोप छ । उसो त सन् २०२१ मा तालिबान काबुलको सत्तामा फर्किएदेखि पाकिस्तानी भूमिमा टिपिपीको आक्रमण ह्वात्तै बढेको सत्य हो । 

अस्पतालमाथिको आक्रमणपछि घटनास्थल पुगेका मिडिया आउटलेट र स्वतन्त्र सहायता समूहले पनि तालिबानको दाबीलाई पुष्टि गरेका छन् । नर्वेली शरणार्थी परिषद्ले आक्रमणस्थल लागुऔषधका अम्मलीको पुनर्वास सेवा प्रदान गर्ने अस्पताल भएको पुष्टि गर्दै त्यहाँ सयौँ नागरिक मारिएका र घाइते भएको बताएको थियो । तालिबानले पाकिस्तानभरका नागरिक क्षेत्रमा ड्रोन आक्रमण गरेको इस्लामावादले आरोप लगाएको केही दिनमै सो आक्रमण भएको थियो । पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारी आफैँले पाकिस्तानी भूमिमा अफगान आक्रमणलाई ‘सीमा उल्लंघन’को संज्ञा दिएका थिए । लगत्तै पाकिस्तानी सेनाले अफगानिस्तानको ड्रोन भण्डारण क्षेत्रमा आक्रमण गरेको बताएको थियो ।

अफगानिस्तान र पाकिस्तानको सम्बन्ध अहिले वर्षौंयताकै सबैभन्दा खराब बनेको छ । इरानसँग सीमा जोडिएको अफगानिस्तानमाथि निरन्तर बमबारी हुँदा यसले त्यति धेरै चर्चा भने पाएको छैन । पाकिस्तानले मुख्यत: अफगानिस्तान सीमा क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । समय–समयमा उसले अफगानिस्तानको भित्री भागमा पनि हवाई आक्रमण गरिरहेको छ । जवाफमा तालिबानले छिटपुट रूपमा पाकिस्तानी सीमा चौकीमा कारबाही गरेर जवाफ दिइरहेको छ । कहिलेकाहीँ अफगानिस्तानले पनि पाकिस्तानभित्र कारबाही गरेको छ, उल्लिखित ड्रोन आक्रमण त्यसैको उदाहरण हो ।

अक्टोबरमा एक चरणको घातक झडपपछि, कतार, साउदी अरब र टर्कीको मध्यस्थतामा भएको वार्ताले दुई देशबिच युद्धविराम भएको थियो । तर, त्यति वेला पनि तालिबानले टिपिपीलाई नियन्त्रण गर्ने वचन दिएन । द्वन्द्व चाँडै सुरु भयो । र, अहिले गत वर्ष मध्यस्थता गर्ने तीनवटै देश आफैँ मध्यपूर्वको युद्धबाट प्रभावित भएकाले तिनलाई मध्यस्थकर्ताको भूमिका निभाउन गाह्रो छ । उसो त उत्तरी छिमेकी चीन यी दुई देशबिच मध्यस्थता गर्न सक्ने उत्तम स्थितिमा छ । पाकिस्तानको प्रमुख आपूर्तिकर्ता र पुँजीको सम्भावित प्रदायकका रूपमा बेइजिङले इस्लामावादमाथि पर्याप्त दबाब पनि दिन सक्छ । त्यसबाहेक पाकिस्तानभित्र चिनियाँ लगानी र कामदार आफैँ टिपिपीको निसानामा पर्ने गरेका छन् । तर, बेइजिङका विकल्प पनि विभिन्न चुनौतीले सीमित गरिदिएको छ । चीनले गत सोमबार नै दुई पक्षबिच मध्यस्थताको प्रयास गरिरहेको घोषणा गर्दै ‘दुई पक्षलाई मिलाउने प्रयास भइरहेको’ बताएको थियो । तर, त्यस्ता प्रयासले कुनै नतिजा दिन सकेको छैन । कूटनीतिले तालिबानलाई टिपिपीलाई आश्रय दिन रोक्न मनाउन नसकिने पाकिस्तानी सोच यो असफलताको कारण हुन सक्छ ।

पाकिस्तानले हमला तीव्र बनाएसँगै, तालिबानले ड्रोनजस्ता उन्नत हतियार प्रयोग गरेर आक्रमण आफ्नो भौगोलिक सीमाबाहिर विस्तार गरेको छ । तालिबान परम्परागत द्वन्द्वमा पाकिस्तानको शक्तिशाली सेनासँग टिक्न सक्दैन । तथापि, तिनले असमान माध्यममार्फत बलियो प्रतिक्रिया दिन सक्छन् । तिनले विगतमा अफगान सुरक्षा बलले प्रयोग गर्ने गरेको भारी हतियारको प्रयोगदेखि आफूप्रति बफादार लडाकु समूहलाई उपयोगमा ल्याउन सक्छन् । त्यसो भए पाकिस्तानभित्र आक्रमण बढ्नेछ । 

उता इरान युद्धले पाकिस्तानको दक्षिण–पश्चिमी सीमामा सक्रिय बलोच लडाकु प्रोत्साहित भएका छन् । तिनले आक्रमण बढाए तालिबान गतिविधिविरुद्ध कारबाही गर्ने प्रयास जटिल बन्नेछ । चर्को वक्तव्यबाजी र बढ्दो शत्रुताका बाबजुद न त अफगानिस्तान न त पाकिस्तान पूर्ण द्वन्द्व चाहन्छन् । पाकिस्तान मुख्यत: इरान युद्धबाट निम्तिन सक्ने सुरक्षा चुनौती व्यवस्थापन गर्र्ने विषयले चिन्तित देखिन्छ । जबकि, कुनै देशले मान्यता नदिएको अवस्थामा शक्तिशाली छिमेकीसँगको द्वन्द्व चर्किए आफ्नो अस्तित्व नै जोखिममा पर्न सक्ने तालिबानको चिन्ता छ । युद्ध लम्ब्याउन नचाहे पनि अविश्वास व्याप्त हुँदा दुवै पक्ष वार्ताको टेबलमा फर्कने मुडमा छैनन् । यसले गर्दा युद्ध रोकिने सम्भावना पनि छैन । परिणामस्वरूप दशकौँमा पहिलोपटक दक्षिण एसियामा भारत–पाकिस्तान सीमाबाहिर पूर्ण द्वन्द्व देखिन सक्छ । तर, इरान युद्धको छायामा त्यस्तो विकराल युद्ध पनि बेवास्तामा पर्न सक्छ । 

(कुगेलम्यान अफगानिस्तान, पाकिस्तान र भारत तथा अमेरिकासँग तिनको सम्बन्धबारे विशेषज्ञ मानिन्छन्) 
फरेन पोलिसीबाट

सुझावित समाचार