नेपाल एयरलाइन्सको बेथिति र भ्रष्टाचार छानबिन गर्न समिति गठन

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण
  • जहाज खरिद तथा मर्मतमा भएको भ्रष्टाचार र निगममा देखिएको बेथितिलगायतका विषयमा छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न सहसचिवको संयोजकत्वमा गठन गरिएको समितिलाई एक महिनाको समयावधि 

नेपाल वायुसेवा निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचारलगायतका विषयको छानबिन गर्न अध्ययन समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचारलगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन एक महिनाभित्र पेस गर्ने गरी समिति गठन गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमको टिकेटिङदेखि जहाज सञ्चालन, मर्मत–सम्भार, सेवा खरिद, कर्मचारीको खटनपटनलगायत विषयमा बथिति देखिएका कारण त्यसको छानबिन गर्न अध्ययन समिति गठन गरिएको जानकारी दिए । ‘निगमको साख गिर्दो छ, प्रतिस्पर्धी क्षमता गुम्दो अवस्थामा छ, यस विषयमा छानबिन गर्नुपर्ने भन्दै धेरै गुनासा र सुझाव पनि आएका छन्,’ उनले भने, ‘त्यसैले निगमको प्रगतिमा देखिएका बाधक विषयहरू पहिल्याउन तथा निगमको प्रतिस्पर्धी क्षमता बढाउन अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव दिन समिति गठन गरिएको हो ।’

मन्त्रालयले नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकेश डंगोल संयोजक रहेको पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा उपसचिव (लेखा) रमेश पौडेल, कानुन अधिकृत आयाम शर्मा, एटिसी अधिकृत सुवर्णराज भट्टराई र उपसचिव गोकर्णप्रसाद उपाध्याय रहेका छन् । मन्त्रालयले शुक्रबार नेपाल वायुसेवा निगम सुधार कार्ययोजना कार्यदेश (टिओआर)सहित समिति गठनको पत्रसमेत संयोजकलाई पठाइसकेको छ । मन्त्रालयको ५ चैतको सचिवस्तरको निर्णयानुसार निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचारलगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन ३० (तीस) दिनभित्र पेस गर्न अध्ययन समिति गठन गरिएको पत्रमा उल्लेख छ ।

निगम सुधारका लागि ०५८ यता नौवटा सुझाव समिति तथा कार्यदल गठन भइसकेका छन् । पछिल्लोपटक २६ चैत ०७९ मा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन भएको थियो । समितिले ०८० मा प्रतिवेदन बुझाएको थियो ।

वित्तीय अवस्था कमजोर 
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निगमको सुधार गर्न निर्देशन दिएकी थिइन् । त्यसपछि कर्मचारी कटौती गर्ने निर्णयसमेत गरिएको थियो । आव ०८०/८१ मा १७ अर्ब ४६ करोडमा सञ्चित नोक्सान रहेको निगमको आव ०८१/८२ मा २० अर्ब नाघ्ने देखिएको छ । जहाज किन्दा लिएको ३४ अर्बबराबरको ऋण बढेर ५२ अर्ब कायम भएको छ । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८२ अनुसार निगममा पाँच सय ३९ अस्थायी, दुई सय ७३ करार र दुई सय ६६ ज्यालादरीका रूपमा गरी कुल एक हजार ७८ जना कार्यरत छन् ।

सुदनले गरेका थिए छानबिनको माग
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले पर्यटन सचिवलाई २८ फागुनमा पत्राचार गर्दै वायुसेवा निगममा बेथिति र भ्रष्टाचार भएको भन्दै तत्काल छानबिन समिति गठन गर्न अनुरोध गरेका थिए । ‘प्रस्तुत विषयमा नेपाल वायुसेवा निगमको व्याप्त बेथिति, भ्रष्टाचार भएको व्यहोरा यहाँ अवगत गराउँछु । विगत लामो समयदेखि वायुसेवा निगमको जहाजमा भएको भ्रष्टाचारलाई छानबिन गर्न तत्काल छानबिन समिति गठन गरी आवश्यक कारबाहीका लागि सिफारिस गरिदिनुहुन अनुरोध गर्दछु,’ गुरुङले सचिवलाई लेखेको पत्रमा उल्लेख छ । 

ज्ञापनपत्र बुझाएलगत्तै नेपाल वायुसेवा निगमको भ्रष्टाचारमाथि औपचारिक छानबिन समिति गठन भई छानबिन सुरु भएको गुरुङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘नेपाल वायुसेवा निगमभित्र जरो गाडेर बसेको बेथिति र जहाज खरिददेखि मर्मतसम्मका भ्रष्टाचारविरुद्ध प्रमाणसहितको ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले तुरुन्तै एक्सन लिँदै उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । अब वर्षौँदेखिका काला फाइलहरू आधिकारिक रूपमै खोलिनेछन् र प्रतिवेदनका आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ,’ उनले फेसबुकमा लेखेका छन् । उनले अब मन्त्रालयको निर्णयअनुसार ३० दिनभित्र छानबिन भई प्रतिवेदन पेस हुने, प्रतिवेदनका आधारमा भ्रष्टाचारमा संलग्नलाई काडा कानुनी कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन् ।

निगमको प्रगतिमा देखिएका बाधक पहिल्याउन समिति : मुकुन्दप्रसाद निरौला, सचिव, पर्यटन मन्त्रालय
निगमको टिकेटिङदेखि जहाज सञ्चालन, मर्मत–सम्भार, सेवा खरिद, कर्मचारीको खटनपटनलगायत विषयमा बेथिति देखिएको छ । निगमको साख गिर्दो छ, प्रतिस्पर्धी क्षमता गुम्दो अवस्थामा छ, यस विषयमा छानबिन गर्नुपर्ने भन्दै धेरै गुनासा र सुझाव पनि आएका छन् । त्यसैले निगमको प्रगतिमा देखिएका बाधक विषयहरू पहिल्याउन तथा निगमको प्रतिस्पर्धी क्षमता बढाउन अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव दिन समिति गठन गरिएको हो ।

यस्तो छ समितिको टिओआर 

१. निगम सुधारसम्बन्धी विगतका अध्ययन प्रतिवेदन र वर्तमान अवस्थाको यथार्थ अध्ययन गरी तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सकिने सुझावको कार्ययोजना तयार गर्ने ।

२. नेपाल वायुसेवा निगम वा मातहतका कार्यालय र विदेशमा कर्मचारी सरुवा, पदस्थापन, काज, कायममुकायम, निमित्तलगायतको जिम्मेवारी सेवा, समूह, उपसमूह अनुकूल हुने गरी तोकिएको वा नतोकिएको तथा करार वा ज्यालादारीमा नियुक्ति र समग्र कर्मचारी व्यवस्थापनको अवस्था छानबिन गरी सुझावसहित सिफारिस गर्ने ।

३. निगमको वायुयान प्रयोग गर्ने यात्रुको सुविधाका लागि अनलाइन टिकट बुकिङ सेवाको अवस्था अध्ययन गरी सुधार गर्न सिफारिस गर्ने ।

४. गन्तव्य क्षेत्रमा उडान गर्ने अन्य वायुसेवा र नेपाल वायुसेवाका यात्रुको संख्या तथा भाडादरसम्बन्धी पछिल्लो ३ महिनाको तथ्यांकको तुलनात्मक अध्ययन गरी सुधारका लागि सिफारिस गर्ने ।

सुझावित समाचार