इयू टी–२० बेल्जियम लिगमा दीपेन्द्र अनुबन्धित

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण
  • नेपालका लेग स्पिनर सन्दीप लामिछानेपछि टी–२० आई अलराउन्डर वरीयताको चौथो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी पनि इयू टी–२० बेल्जियम लिगमा जेबी ब्रुग्सबाट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी इयू टी–२० बेल्जियम लिगमा आबद्ध भएका छन् । लिगको फ्रेन्चाइज टोली जेबी ब्रुग्सले दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ । लिगमा आबद्ध हुने उनी दोस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई लिएज रेड लायन्सले भित्र्याएको थियो । सन्दीप र दीपेन्द्र इयू टी–२० बेल्जियम लिगको अक्सनअगाडि नै अनुबन्धित भएका हुन् । 

जेबी ब्रुग्सले सामाजिक सञ्जालबाट नेपालका दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ । आइसिसी टी–२० अलराउन्ड वरीयतामा दीपेन्द्र लगातार चौथो साता चौथो स्थानमै छन् ।

जेबी ब्रुग्स नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रिम स्पोर्टस्को स्वामित्वमा रहेको छ । जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कोलिन मुन्रो र दक्षिण अफ्रिकाका राशि भान डेर डुसेनलाई भित्र्याएको छ ।

डेस्टिनो लेजेन्ड्स स्पोर्टस् एलएलसीले बेल्जियम क्रिकेट फेडेरेसनसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको इयू टी–२० बेल्जियम क्रिकेटमा ६ टोली सहभागी हुनेछन् । जसमा १८ नेपाली खेलाडीले ड्राफ्टमार्फत प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको ड्राफ्ट २४ मार्चमा हुँदै छ । अन्तर्राष्ट्रियस्तरका इंग्ल्यान्डका जेम्स भिन्स र एलेक्स हेल्ससहित श्रीलंकाका एन्जेलो म्याथ्युज र वानिन्दु हसरंगाजस्ता खेलाडीले लिग खेल्नेछन् ।

आयोजकले एसोसिएट तथा स्थानीयबाट समान चार खेलाडी अनुबन्ध गर्नेछ । सुरुवाती ११ खेलाडीमा कम्तीमा दुईजना बेल्जियमको हुनुपर्नेछ । प्रत्येक टिममा १८ खेलाडी हुनेछन् । चार खेलाडी पूर्ण सदस्य टोलीका सक्रिय खेलाडी र ६ जना भेट्रान खेलाडी हुनुपर्नेछ ।

छैटौँ फ्रेन्चाइज लिग खेल्दै दीपेन्द्र
टी–२० फम्र्याटमा दीपेन्द्र राम्रा खेलाडी मानिन्छन् । विशेष उनी एसोसिएट राष्ट्रका उत्कृष्ट अलराउन्डरमा पर्छन् । ब्याटिङ, बलिङ र फिल्डिङमा उनको प्रदर्शन असाधारण हुने गर्छ । करिअरमा उनले छैटौँ अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भएका हुन् । बेल्जियम लिग उनको छैटौँ हो ।

फेब्रुअरी र मार्चमा आयोजना भएको १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितापछि दीपेन्द्र पाकिस्तान प्रिमियर लिगमा जोडिएका थिए । इस्लामाबाद युनाइटेडले उनलाई अनुबन्ध गरेको थियो । यसअघि उनी क्यानडाको मोन्टेरियल टाइगर्सबाट खेलेका थिए । यसैगरी, गल्फ जायन्टबाट पनि उनले टी–२० फ्रेन्चाइज लिग खेलेका छन् । नेपालबाट ९४ टी–२० आई खेलेका उनले ८२ इनिङ्समा दुई हजार एक सय २५ रन बनाएका छन् ।

यसक्रममा उनले एक शतक तथा १२ अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले टी–२० आईमा एक सय ५२ चौका र ८९ छक्का प्रहार गरेका छन् । समग्र टी–२० फम्र्याटमा उनले एक सय तीन खेलमा एक शतक र १२ अर्धशतकको सहयोगमा दुई हजार दुई सय ३१ रन बनाएका छन् । बलिङका क्रममा उनले ६८ इनिङ्समा ६० विकेट हात पारेका छन् । टी–२० आईमा नेपालबाट एक हजार र दुई हजार रन कटाउने उनी पहिलो ब्याट्सम्यान हुन् ।

सन्दीप र डु प्लेसिस सँगै खेल्दै 
दक्षिण अफ्रिकाका आक्रामक ब्याट्सम्यान फाप डु प्लेसिस पनि इयू टी–२० बेल्जियम लिगमा आबद्ध भएका छन् । उनी रेड लाइन्समा अनुबन्धित भएका हुन् । डु प्लेसिसले पुन: एकपटक नेपालका लेग स्पिनर सन्दीपसँगै एकै टोलीबाट प्रतिस्पर्धा गर्नेछन् । यी दुवैले यसअघि दोस्रो नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सबाट खेलेका थिए । गत मंसिरमा भएको एनपिएलमा सन्दीपको कप्तानीमा रहेको विराटनगरबाट डु प्लेसिसले खेलेका थिए । 

उनले काठमाडौंविरुद्ध आक्रामक ब्याटिङ गरेका थिए । यसपटक डु प्लेसिसको कप्तानीमा सन्दीपले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको इयू टी–२० लिग आगामी ३० मेदेखि ७ जुनसम्म आयोजना हुनेछ । प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लिएज, गेन्ट र ब्रसेल्सका ६ टोली हुन् । 

सुझावित समाचार