जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ‘जेन–जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको वर्गीकरण कार्यका लागि अन्तिमपटक सूचना जारी गरेको छ।
यसअघि सञ्चालन गरिएका विभिन्न चरणका वर्गीकरण प्रक्रियामा छुट्न गएका घाइतेहरूलाई लक्षित गर्दै प्रशासनले पुनः अवसर प्रदान गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार छुट भएका घाइतेहरूको वर्गीकरण आगामी ०८२ चैत २० गते शुक्रबार दिउँसो १२ बजे कार्यालयको सभाहलमा गरिनेछ।
वर्गीकरण प्रक्रियामा सहभागी हुन इच्छुक घाइतेहरूले आफूले उपचार वा स्वास्थ्य परीक्षण गराएका सक्कल कागजातहरूका साथै घाइते परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
‘जेन–जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२’ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले यसअघि ०८२ मंसिर ५, मंसिर १२ र माघ १८ गते अधिकांश घाइतेहरूको वर्गीकरण गरिसकेको छ।