वन संरक्षण, पर्या–पर्यटनको विकास र आयआर्जनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालन

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा रहेको सिराहाको लहान नगरपालिका– १५, शोभापुरस्थित कोइरालो नमुना सामुदायिक वन उपभोक्ता समूहको पहलमा पाहुना घर ‘हात्तीदह वनस्टे’ सञ्चालन गरिएको छ । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बुधबार अपराह्न वनस्टेको उद्घाटन गर्दै यसको स्तरोन्नति र थप भवन निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष ०८२/८३ को बजेटमा थप २० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । रोजगारी खोज्न बढ्दो विदेश पलायन रोक्दै स्थानीय रोजगारी सिर्जना, थारू कला संस्कृतिको प्रवर्द्धन, पर्या–पर्यटनको विकासका लागि वनस्टे कोसेढुंगा बन्न सक्ने उनले बताए । 

‘नगरको समेत साझेदारीमा स्थानीय चार सय किसानको अवस्था उकास्न करिब १४ करोड रुपैयाँबराबरको विभिन्न किसानमुखी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘स्थानीय युवा महिलालाई आर्थिक उपार्जनका काममा जोड्न महिला समूहलाई दुना–टपरी बनाउने मेसिन उपलब्ध गराएपछि राम्रो आयआर्जन गर्नुका साथै आर्थिक रूपले सबल हुँदै गएका छन् ।’

समूहको पहल तथा सक्रियतामा वनपरिसरमा रहेको हात्तीदह सिमसार, वन क्षेत्रका संरक्षणसहित पर्या–पर्यटनको विकास र स्थानीयको आयआर्जन गर्ने उद्देश्यले वनस्टे सञ्चालन गरिएको समूहका अध्यक्ष रुद्रनारायण चौधरीले जानकारी दिए। ‘सिमसार क्षेत्रको अवलोकनका लागि अन्यत्रबाट आएका पाहुनाहरू वास बस्न चाहेको खण्डमा अत्यन्त सस्तो शुल्कमा स्थानीय परिकार खुवाएर वनस्टेमा बस्न सक्नेछन्,’ उनले भने। 

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पर्ने लहानदेखि करिब पाँच किलोमिटर उत्तरमा रहेको वनस्टेमा वास बस्न चाहनेहरूका लागि चिया, खाजा, स्थानीय परिकारसहितको खाना र एक रात बस्न ८५० रुपैयाँ शुल्क तोकिएको उनले बताए । ‘उक्त मूल्य लहान बजार क्षेत्रमा रहेका होटेल, लजहरूभन्दा झन्डै ७५ प्रतिशत सस्तो हो,’ उनले भने, ‘वनस्टेमा रहँदा स्थानीय कला–संस्कृति प्रदर्शन, स्थानीय थारू परिकारसहितको खाना खुवाइने, वन तथा सिमसार क्षेत्रको अवलोकनसमेत गराइनेछ ।’ वनस्टेका लागि पहिलो चरणमा करिब पौने १२ लाख रुपैयाँको लागतमा एकपल्टमा ६ जना बस्न मिल्ने दुई कोठाको शौचालयसहितको भवन तयार गरिएको समूहका सचिव बद्री सदायले बताए । 

स्थानीय आयआर्जन र रोजगारी बढ्दै  
स्थानीय थारू, दलित तथा अन्य गरी ११९ घरधुरी सदस्य रहेको वन समूहले सिमसार क्षेत्रको अवलोकन गर्न र पिकनिक खान, घुम्न आउनेहरूले बुझाउने शुल्कबाट वार्षिक करिब ४५ लाख रुपैयाँ आम्दानी गरिरहेको उनले बताए । वनस्टे निर्माणका लागि जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ र लहान नगरपालिकाको समन्वयमा सञ्चालित संरक्षण परियोजनाले सहयोग गरेको समूहले जनाएको छ । समूहका अनुसार वनस्टे निर्माण गर्न परियोजनाबाट आठ लाख ६ हजार ८८ र समूहका सदस्यहरूबाट तीन लाख ६७ हजार २९५ गरी ११ लाख ७३ हजार ९८३ रुपैयाँ खर्च गरिएको छ ।

सामुदायिक वन क्षेत्रमा रहेको हात्तीदहमा तालिम हल, पिकनिक स्थल, बोटिङ, बालबालिकाका लागि मनोरञ्जन पार्क, सानो चिडियाखाना र सेल्फी प्वाइन्टहरू तोकिएका छन्। समूहका सचिव सदायका अनुसार सामुदायिक वनभित्र रहेको सिमसार क्षेत्र आन्तरिक पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएपछि स्थानीय समुदाय आयआर्जनमा जोडिएका छन् भने १४ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीले ०७४ सालमा आफू निर्वाचित भएपछि वडाको बजेटबाट सिमसार क्षेत्रको विकासका लागि वन समूहलाई एउटा खानेपानीको कल दिएको स्मरण गर्दै भने, ‘पछिल्लो समय दैनिक औसत दुई हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउनुले हात्तीदहले पर्या–पर्यटनको क्षेत्रमा फड्को मारेको प्रमाण हो ।’ 
 

सुझावित समाचार