सीमामा ३६ लाखबराबरको फर्सीको बिउसहित ट्रक नियन्त्रणमा, दुई भारतीय पक्राउ

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

भारत–नेपाल सीमा क्षेत्रमा सक्रिय तस्करी नियन्त्रण गर्ने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ठुलो परिमाणमा फर्सीको बिउसहित एक ट्रक नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।

एसएसबीको ७१औँ बटालियन, मोतीहारीस्थित इन्टेलिजेन्स शाखालाई प्राप्त गोप्य सूचनाका आधारमा उक्त कारबाही गरिएको हो। सूचनाअनुसार नेपालको बारा जिल्लाका विभिन्न नाकाबाट मोटरसाइकलमार्फत फर्सीको बिउ भारतको बसबरिया गाउँ (घोडासहन थाना क्षेत्र)सम्म पुर्याई संकलन गरिँदै आएको थियो। त्यसपछि उक्त बिउ युपी ४२ इटी ७८६२ नम्बरको ट्रकमा लोड गरी अन्यत्र पठाउने तयारी गरिएको थियो।

यसैक्रममा डिआरआई, मुजफ्फरपुरसँग समन्वय गरी एसएसबी टोलीले लक्ष्मीपुर लौखननजिक पर्ने घोडासहन–ढाका सडकखण्डमा निगरानी बढाएको थियो। भारततर्फ सीमास्तम्भ नं. ३५७/३ बाट करिब आठ किलोमिटरभित्र पर्ने उक्त स्थानमा बुधबार राति करिब १० बजे शंकास्पद ट्रक रोकी जाँच गर्दा चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो।

प्रारम्भिक सोधपुछका क्रममा ट्रकमा लोड गरिएको फर्सीको बिउ दिल्ली लैजान लागिएको खुल्न आएको छ। नियन्त्रणमा लिएको ट्रकलाई रातभर एसएसबी क्याम्पमा राखिएको थियो भने बिहीबार बिहान थप अनुसन्धानका लागि डिआरआई कार्यालय, मुजफ्फरपुर पठाइएको छ।

पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, फैजाबादका ३५ वर्षीय मोहम्मद हसिब र बाराबंकीका ३१ वर्षीय मोहम्मद सलमान रहेका छन्। ट्रकमा करिब तीन सय बोरा फर्सीको बिउ फेला परेको छ, जसको कुल तौल ११ हजार ५५० किलोग्राम रहेको छ। भारतीय बजारमा प्रतिकिलोग्राम ३२० रुपैयाँका दरले यसको अनुमानित मूल्य करिब ३६ लाख ९६ हजार रुपैयाँ रहेको एसएसबीले जनाएको छ।

सुझावित समाचार