सूर्य नेपाल वेस्टर्न ओपन : पाँच गल्फर संयुक्त रूपमा शीर्ष स्थानमा

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

२६औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । प्रोफेसनल गल्फर शुक्रबहादुर राई, भुवन नगरकोटी, भूबहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन पार ६९ स्कोर गरी शीर्ष स्थान बाँडेका हुन् । १ ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौँ, २ ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौँ र ३ ओभर ७२ सहित भुवनकुमार रोका आठौँ स्थानमा छन् । 

पोखराको हिमालयन गल्फ कोर्समा शुक्रले फ्रन्ट नाइन २ ओभर ३६ मा सकाए । पहिलो, तेस्रो, छैटौँ र सातौँ होलमा बोगी खेपेका उनले पाँचौँ र नवौँ होलमा समान एक सट बचाए । उनले ब्याक नाइनमा सम्हालिएर खेल्दै २ अन्डर ३३ स्कोर गरे । शुक्रले १०औँ, १४औँ र १७औँ होलमा बर्डी प्रहार गरेका थिए । पछिल्लो दुई प्रतियोगिता जितेका भुवनले फ्रन्ट नाइन इभन पार ३४ स्कोर गरे । उनले पहिलो नौ होलमा पार जोगाए । त्यसपछि उनले ब्याक नाइन पनि इभन पार खेल्दै ३५ स्कोर गरेका थिए दसौँ र १३औँ होलमा बर्डी प्रहार गर्दा ११औँ र १२औँ होलमा बोगी खेपे । उनले कुल १४ होलमा पार जोगाए ।

घरेलु गल्फरले निकाले तीन बर्डी
पोखराका घरेलु गल्फर भूबहादुरले पनि फ्रन्ट नाइन इभन पार ३४ स्कोर गरे । उनले ब्याक नाइन इभन पार ३५ स्कोर गरी शीर्ष स्थान बाँडे । उनले तेस्रो होलमा बर्डी र सातौँ होलमा बोगी खेपेका थिए । यसपछि १२औँ र १६औँ होलमा बोगी खेप्दा उनले दसौँ र १५औँमा बर्डी प्रहार गरे । समग्रमा उनले तीन बर्डी निकालेका थिए । जयरामले बोगीबाट दिनको सुरुवात गरेका थिए । उनले पाँचौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३३ मा सकाए । यसपछि १६औँ होलमा बोगी खेल्दा बाँकी होलमा पार जोगाउँदै ब्याक नाइन १ ओभर ३६ मा सकाए । एमेच्योर राहुलले फ्रन्ट नाइनमा इभन पार ३४ स्कोर गरे । ब्याक नाइनमा उनले इभन पार ३५ स्कोर गरेका थिए । एमेच्योरतर्फ राहुलले ५ स्ट्रोकको अग्रता बनाए । प्रज्वल गुरुङ ५ ओभर ७४ सहित दोस्रो स्थानमा रहेका छन् । 

विजेताले एक लाख ७० हजार पाउने
सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यसपटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले एक लाख ७० हजार रुपैयाँ हात पार्नेछन् । उपविजेताले एक लाख २५ हजार र तेस्रो हुने गल्फरले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए)द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । 

See More On

सुझावित समाचार