जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– २, पुडेनीमा ढुंगा प्रहारबाट एकजना युवाको हत्या भएकाे छ। सोमबार साँझ पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुंगा प्रहार गरी हत्या भएको खुलेको छ। सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।कुटपिटमा संलग्न धनबहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।