युरोपेली संघको सदस्यता दुरुपयोग गर्दै छन् ओर्बान

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण
  • युरोपेली संघको संरचनात्मक कमजोरीमा टेकेरै ओर्बानले अहिलेसम्म यसमाथि हानि पुर्याइरहेका छन्

हंगेरीमा हुन लागेको आगामी आमनिर्वाचनले हंगेरी र युरोपेली संघ दुवैका लागि दूरगामी प्रभाव पार्नेछ । युरोपेली संघ अहिले रुस र संयुक्त राज्य अमेरिकाको आक्रामकताबाट बचेर अघि बढ्ने चुनौती सामना गरिरहेको छ । तर, हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान भने लामो समयदेखि यही प्रयासलाई कमजोर पार्न उद्यत छन् । आगामी चुनावमा ओर्बान पराजित भए पनि युरोपेली नेताले उनको १५ वर्ष लामो अनुदार शासनबाट केही गम्भीर पाठ सिक्नुपर्छ ।

युरोपेली संघको संरचनामा रहेका कमजोरीमा टेकेरै ओर्बानले अहिलेसम्म यसमाथि हानि पुर्याइरहेका छन् । अब युरोपेली नेताले यी कमजोरीबारे विचारविमर्श गर्नुपर्छ । अर्थपूर्ण सुधारविना संघले नयाँ अन्तर्राष्ट्रिय खतराविरुद्ध सबल प्रतिक्रया जनाउन सक्दैन । युरोपेली संघ सदस्यताको सुविधा दुरुपयोग गरी त्यसबाट युरोपविरोधी शक्तिको फाइदा उठाउन जुन रणनीति ओर्बानले अपनाइरहेका छन्, त्यसलाई भविष्यमा अरूले पनि पछ्याउन सक्छन् ।

पहिलो त, ओर्बानले युरोपेली संघको सदस्य भएपछि प्रयोग गर्न पाउने ‘भिटो’ अधिकारको पनि दुरुपयोग गरेका छन् । रचनात्मक सर्वसम्मति सुनिश्चित गर्न बनाइएको यो संयन्त्रलाई ओर्बानले संघलाई बन्धक बनाउन खर्चिए । यसबाट पाठ सिकेर युरोपेली संघ सर्वसम्मतिको आदर्शवाद त्यागेर सहकार्यको अधिक व्यावहारिक मार्ग अपनाउन प्रेरित हुनुपर्छ । 

युरोपेली संघका सदस्य राष्ट्रका जनताले एक–अर्काको देशमा स्वतन्त्र विचरण गर्न पाउने अधिकारलाई पनि ओर्बानले दुरुपयोग गरिरहेका छन् । उसो त यसले ‘ब्रेन ड्रेन’ गर्ने दीर्घकालीन चुनौती खडा गरेको छ र अहिलेका लागि भने यस बहिर्गमनले ओर्बानलाई चुनौती दिन सक्नेहरूको पलायन गरिरहेको छ । यी र अन्य तरिकाले ओर्बानले युरोपेली एकताको उपहास गरेका छन् । तर, यसमा उनी एक्लै छैनन् । 

युरोपेली संघले पहिलोपटक ‘भिसेग्राड फोर (भी४)’ भनेर चिनिने समूहमा रहेका चार सदस्य, चेक गणराज्य, हंगेरी, पोल्यान्ड, स्लोभाकियालाई एकैपटक सदस्यता दिएको थियो । तर, समूह अहिले युरोपेली मान्यता र मूल्यलाई कमजोर पार्न प्रयोग भइरहेको छ । तीमध्ये युरोपेली देश अहिले युरोपको एकताविरुद्ध जान चाहने शक्तिको खेल मैदान बनेका छन् । तिनले युरोपको एकतालाई गहिरो बनाउनुको सट्टा भी४ समूह अहिले पपुलिस्ट राजनीतिज्ञले एक–अर्काको उद्देश्यलाई सघाउने माध्यम बनेको छ । 

ओर्बानले युरोपेली संघको सदस्यतासँगै प्राप्त हुने प्लाटफर्मको पनि दुरुपयोग गरेका छन् । संघ सदस्य राष्ट्रबिच समानताको भावना विकास गर्न प्रतिबद्ध भएकाले यसले साना तथा मध्यम आकारका देशलाई पनि उच्च प्राथमिकता दिने गर्छ । यसैकारण ओर्बान संघको सदस्य नरहेका सर्बियाली वा उत्तरी म्यासेडोनियन नेताले हासिल गर्न सक्नेभन्दा धेरै हदसम्म चर्चा हासिल गर्न सक्षम छन् । तर, ओर्बानको अनुदारवादी मोडेलले आवश्यकभन्दा बढी चर्चा पाएको छ र विश्वभरका दक्षिणपन्थी समर्थकलाई आकर्षित गर्न सक्षम भएको छ । 

उदाहरणका लागि, ओर्बान र अन्य अनुदारवादी समूहले आप्रवासनको विरोधमा साझा मुद्दा फेला पारेका छन् । ओर्बानले सन् २०१५ मा शरणार्थीको आगमनलाई सम्पूर्ण संघकै लागि पूर्णस्तरको संकटमा परिणत गर्न निर्णायक भूमिका खेलेका थिए । सिरियाको गृहयुद्ध र अन्य द्वन्द्वबाट शरणार्थी बनेकाहरू युरोप आउँदै गर्दा उनले अन्य युरोपेली समकक्षीसँग आवश्यक रणनीति बनाउन सघाउनुको सट्टा मानवद्वेषी भावना फैलाएका थिए । जबकि, त्यो वेला युरोपले अपनाएको डब्लिन प्रणाली (जसले शरण आवेदन विचार गर्ने जिम्मेवारी कसले लिन्छ भन्ने निर्धारण गर्छ) को कमजोरीमा गम्भीर छलफल हुनुपर्थ्यो । 

ओर्बानले जर्मनीमाथि दबाब पार्न आप्रवासीको ट्रान्जिट अवरुद्ध गरी ‘सेन्जेन क्षेत्र’ (युरोपेली संघका सदस्य राष्ट्रभित्र स्वतन्त्र विचरण गर्न सकिने सीमामुक्त क्षेत्र)मा रहेपछि पालना गर्नुपर्ने नियमको समेत उल्लंघन गरे । सर्बिया–हंगेरी सीमामा उनले जडान गरेको काँडेतारको बार अझै पनि छिमेकी देशको कमजोरीमा खेल्ने उनको इच्छाको अपमानजनक प्रतीकको रूपमा खडा छ । 

संघको थप विस्तारको प्रश्नमा ओर्बान पश्चिम बाल्कन क्षेत्रका देशको सदस्यताको समर्थन गरेको नाटक गर्छन् । तर, उही समय उनी त्यस्ता शासन (जस्तै– बोस्नियामा मिलोराड डोडिक)सँग घनिष्ट सम्बन्ध राख्छन्, जसले त्यस भेगलाई थप अस्थिर मात्र बनाएको छैन, सदस्यताको प्रश्नसमेत कमजोर बनाइरहेको छ । युरोपेली संघका नेताले यो निन्दनीय चालबाजीलाई सफल हुन दिनुहुँदैन । 

ओर्बानले जस्तोसुकै जटिलता सिर्जना गरे पनि समग्र महाद्वीपको सुरक्षाका लागि महत्वपूर्ण भएकाले पश्चिमी बाल्कनलाई संघको सदस्यबाट विमुख पार्नुहँुदैन । बरु, संघले सम्भावित आन्तरिक भँडुवासँग भिड्ने क्षमता विकास गर्नुपर्छ । संघको एकता र विस्तारले एक–अर्कालाई प्रतिस्थापन गर्दैन, बरु यसले समूहलाई थप बलियो बनाउँछ भन्ने कुरा सुनिश्चित गर्दै संघको सदस्यताका लागि विधिको अनुसरणलाई केन्द्रबिन्दु बनाउनुपर्छ । 

ओर्बानलाई यो कुरामा भने धन्यवाद दिनुपर्छ कि उनले गर्दा युरोपेली संघसँग आबद्ध संस्थाले अब आफ्ना संरचनात्मक कमजोरीसँग परिचित हुने अवसर पाए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो ओर्बानका रणनीतिसँग संघ अब राम्ररी परिचित भएको छ । हंगेरीको उदाहरणले युरोपेली एकतालाई सबल बनाउन के आवश्यक पर्छ भन्ने कुरा स्पष्ट भएको छ । अर्थात्, युरोपेली सबलता प्रतीकात्मक एकतामा होइन, संस्थागत र सामाजिक कमजोरीलाई दुरुपयोग गर्ने राजनीतिज्ञको सामना गर्ने राजनीतिक क्षमतामा निर्भर रहेछ । यस्तो सीमितताले भूराजनीतिक रूपमा सक्रिय हुन चाहने संघको उद्देश्यमा अवरोध आउन दिनुहुँदैन ।

(बेन्स ‘युनिभर्सिटी अफ पासाउ’का अनुसन्धाता हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार