- सुर्खेत, जुम्ला, लहान, कास्कीलगायत देशभर ग्यासको कृत्रिम अभाव, उपभोक्ताले ‘स्टक’ गर्न थाल्दा व्यापारीले मौका छोपेर मूल्य बढाउन थाले, ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने जिल्ला प्रशासनको चेतावनी
देशभर ग्यासको कृत्रिम अभाव हुन थालेको छ । पछिल्लो समय मध्यपूर्वको तनावले गर्दा ग्यास अभाव हुन थालेपछि स्थानीयले ग्यास ‘स्टक’ गर्न थालेका छन् भने व्यापारीले कृत्रिम अभाव देखाउँदै मौका छोपेर मूल्य बढाउन थालेका छन् । सुर्खेत, जुम्ला, कर्णालीलगायत देशभरका स्थानीय डिलरले ग्यासको अभाव देखाउन उपभोक्ताले गुनासो गरेका छन् ।
इरान र इजरायल–अमेरिका युद्धमा होमिएपछि इन्धनको अभाव हुन सक्ने भन्दै सरकारले आपूर्ति सहज बनाउन आधा भरिएको सिलिन्डर बिक्री गर्न सुरु गरिसकेको छ । जसका कारण सुर्खेतमा ग्यास लिनेको भिड नै लाग्न थालेको छ । ग्यासको अभाव हुने कुरा सुनेपछि दुईवटा खाली सिलिन्डर ग्यास भर्न लागेको वीरेन्द्रगर नगरपालिका– ३ का लक्ष्मी शर्माले बताइन् । ‘सामाजिक सञ्जालमा आएको समाचारका कारणले ग्यास भरेका हौँ,’ उनले भनिन्, ‘अरूको कुरा सुनेर र देखेर ग्यास भरेका हौँ ।’ तर, ग्यासको बजार अभाव नभएको भेरी ग्यासको सुर्खेत विक्रेता विनोद दाहाल बताउँछन् । यसैबिच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरे कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
जुम्लामा पनि उही अवस्था
हिमाली जिल्ला जुम्लामा पहिलो इन्धनका रूपमा दाउरा नै प्रयोग गरिन्थ्यो । कर्णाली राजमार्ग हुँदै ०६३ सालमा जुम्ला पनि सडक सञ्जालमा जोडिएपछि पेट्रोलियम पदार्थ र एलपी ग्यास पुग्यो । सडक सञ्जालसँगै इन्धनका रूपमा प्रयोग हुने दाउरा प्रयोग हुन छाड्यो । अहिले प्राय: सहरदेखि गाउँसम्म एलपी ग्यास नै प्रयोग गर्न थालेका छन् ।
तर, यतिवेला बाहिरबाट एलपी ग्यास कमै आउन थालेपछि जुम्लामा पनि एलपी ग्यास वितरण डिलरमा भिड लाग्ने गरेको छ । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि सहजै रूपमा ग्यास आपूर्ति हुँदै आएको जुम्लामा योपटक पाँच सय सिलिन्डर ग्यास लाइनमा बाँडिएको छ । जुम्ला बसपार्कस्थित सडकमा लाइनमा बसेर उपभोक्ताले ग्यास लिएका हुन् ।
जताततै ग्यास अभाव भइरहेकाले सीधै डिलरबाट लाइनमा वितरण गर्दा उपभोक्ता ठगिने सम्भावना कम हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । ग्यास बोकेर आएको ट्रकबाटै ग्यास वितरण भएको हो । पहिलो दिन पाँच सय सिलिन्डर बाँडिएको लगन स्टोर एन्ड सप्लायर्सका सञ्चालक पृथ्वीबहादुर शाहीले बताए । निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले आइतबार तीन सय ग्यास सिलिन्डर बाँडिने बताए । बुढा जनरल स्टोरले ग्यासको गाडी छुटाइसकेको छ । जुम्ला सदरमुकाम खलंगाका लागि मासिक दुई हजार सिलिन्डर आवश्यक पर्छ । डिलरमा प्रतिसिलिन्डर दुई हजार दुई सय रुपैयाँमा वितरण भइरहेको छ । तर, आधा भरिएको ग्यासको प्रतिसलिन्डर एक हजार दुई सय रुपैयाँ पर्नेछ । बिहानैदेखि ग्यास वितरण स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा शुक्रबार निमित्त प्रमुख जिल्ला अधिकारी रावलको अध्यक्षतामा बसेको बैठकले एलपी ग्यासको अभाव हुन नदिन अभिलेख राखेर मात्र वितरण गर्नुपर्ने निर्णय गरेको थियो ।
ग्यास भण्डारण गरी जोखिम नबढाउन आग्रह
जिल्ला प्रशासन कार्यालय सिराहाले खाना पकाउने ग्यासको अतिरिक्त भण्डारण गरी जोखिम नबढाउन आग्रह गरेको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो केही दिनयता खाना पकाउने ग्यासको अतिरिक्त मूल्य लिई बिक्री–वितरण र अस्वाभाविक ढंगले भण्डार गर्नेजस्ता गुनासोका आधारमा त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् । साथै यसो गरे–गराएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
पोखराको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना
कास्कीमा ग्यास लुकाइछिपाइ भण्डारण गरी कृत्रिम अभाव खडा गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना तिराएको छ । १४.२ केजीका ४८ थान सिलिन्डर लुकाएर एउटाबाट अर्को सिलिन्डरमा ग्यास सार्दै गरेको अवस्थामा तीनवटा उपकरणसहित फेला पारेपछि जरिवाना गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
अनुगनमा क्रममा पाँच डिलरमध्ये तीन डिलरमा ग्यासको मौज्दात एवं अनुचित भण्डारण रहेको नपाइएको र एउटामा डिलरमा ७.१ केजीका तीन सय २४ थान सिलिन्डर झार्दै गरेको अवस्थामा फेला परेको थियो । साथै, अनुगमनका क्रममा ट्रेडर्समा फेला परेको सिलिन्डर पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने, कृत्रिम अभाव सिर्जना नगर्ने र आगामी दिनमा उपभोक्ता हित संरक्षणविपरीतका गतिविधि अब आउने दिनमा नगर्न अनुगमन टोलीले निर्देशन दिएको थियो ।
ग्यास सहजै पाइन्छ, अनावश्यक भण्डार नगर्नू : निगम
नेपाल आयल निगमले एलपी ग्यास सहजै पाइने दाबी गर्दै उपभोक्तालाई अनावश्यक ग्यास भण्डारण नगर्न आग्रह गरेको छ । निगमले शनिबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । साथै, ग्यास उद्योगलाई आफ्नो उद्योगबाट बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित प्रत्येक दिन १० बजेभित्र सार्वजनिक गरी निगमलाई जानकारी गराउन पनि सूचनामा भनिएको छ । ‘निगम ग्यास उद्योगी तथा एलपी ग्यासका विक्रेतालाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ । निगमका अनुसार २९ फागुनदेखि आधा भरिएको सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
सुर्खेतमा रमेश रावल, लहानमा मणिलाल विश्वकर्मा जुम्लामा मानदत्त रावल र कास्कीमा रोहित पराजुली