महँगी ११ महिनायताकै उच्च

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण
  • मध्यपूर्वको तनावसँगै आपूर्ति शृंखला खलबलिएर थप दबाब बढ्ने जोखिम, रेमिट्यान्स र पर्यटन क्षेत्र प्रभावित हुने अर्थशास्त्रीहरूको भनाइ

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिना बित्दै गर्दा महँगीमा निरन्तर चाप बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ महिनामा मुद्रास्फीति (मूल्यवृद्धिदर) ३.२५ प्रतिशत कायम भएको छ । यो पछिल्ला ११ महिनायताकै उच्च मूल्यवृद्धिदर हो । गत वर्षको चैतमा मुद्रास्फीति ३.३९ प्रतिशत थियो । अघिल्लो महिना पुसमा मुद्रास्फीति २.४२ प्रतिशत थियो भने मंसिरमा १.६३ प्रतिशत मात्रै थियो । लामो समयदेखि बजारमा माग सिर्जना नहुँदा मुद्रास्फीति सुस्त दर कायम रहे पनि माग बढ्दै जाँदा मुद्रास्फीतिमा पनि दबाब बढ्न थालेको छ ।

२१ फागुनको निर्वाचनमा सुविधाजनक बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन हुने निश्चित देखिएको छ । सरकार गठन नहुँदै अर्थतन्त्रमा दबाब बढ्ने संकेत देखिएको छ । आयातमा आधारित उपभोग प्रणाली कायम रहेकाले विश्वबजारमा हुने आपूर्ति शृंखलाको अवरोधले नेपाली बजारमा प्रत्यक्ष असर पार्ने देखिन्छ । मुख्य गरी इन्धनको प्रमुख स्रोत इरान (जहाँबाट भारतले कच्चा तेल ल्याएर नेपालमा निर्यात गर्छ) र मध्यपूर्वका देशहरूबिच तनाव बढ्दै जाँदा नेपाली बजारलाई थप दबाबमा राख्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । 

अहिले उपभोक्ताको भान्छामै महसुस हुने गरी महँगी बढिसकेकाले फागुनको तथ्यांकमा मुद्रास्फीति थप बढेर आउने अर्थशास्त्री केशव आचार्यको भनाइ छ । उनले भने, ‘राष्ट्र बैंकले त माघसम्मको मात्रै तथ्यांक अहिले सार्वजनिक गरेको छ । फागुनको तथ्यांक सार्वजनिक हुने समयमा त मुद्रास्फीति अझै बढ्ने अवस्था देखिसकियो । किनभने सर्वसाधारण उपभोक्ताले भान्छामै महँगी भोग्न थालिसके । इरान र मध्यपूर्वको तनाव थप बढ्दै गए स्थिति भयावह बन्न सक्छ ।’

नेपालको कुल आयातको ठुलो हिस्सा इन्धनले नै ओगट्छ । केन्द्रीय बैंकका अनुसार माघसम्ममा नौ खर्ब ३९ अर्ब दुई करोडको कुल वस्तु आयात भएको छ । जसमा पेट्रोलियम उत्पादनको मात्रै १४.१ प्रतिशत हिस्सा छ । भारतीय बजारमा इन्धन आपूर्ति कमजोर भएकाले त्यहाँका नागरिक खाना पकाउने ग्यास खरिदका लागि लामो लाइनमा बस्दै गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतबाट आयात हुने भएकाले नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्ने आचार्यको भनाइ छ । इन्धनबाहेक खाडी मुलुकबाट आयात हुने मुख्य वस्तुमा रासायनिक मल पनि हो । किसानले समयमा मल नपाउने अवस्था बन्ने जोखिमलाई पनि गम्भीरताका साथ लिनुपर्ने उनको भनाइ छ । 

अर्थतन्त्रमा रेमिट्यान्सको सुविधा खोसिने चिन्ता
हालसम्म अर्थतन्त्रलाई सुविधाजनक स्थितिमा कायम राख्न रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । तर, १२ दिन बितिसकेको मध्यपूर्वको तनाव थप लम्बिँदै गएमा रेमिट्यान्स गुम्ने जोखिम देखिएको अर्थशास्त्री आचार्यको विश्लेषण छ । केन्द्रीय बैंकका अनुसार चालू आवको सात महिनासम्ममा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स आइसकेको छ । यो ३९.८ प्रतिशतको वृद्धि हो । तर, नेपाली कामदारको श्रम गन्तव्य मुलुक कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, साउदी अरबजस्ता मुलुकहरूमा लगातार इरानको आक्रमण कायम छ ।

यसले श्रमबजारमा असर पार्ने जोखिम रहेकाले रेमिट्यान्स पनि गुम्न सक्ने आचार्यको भनाइ छ । उनले भने, ‘बैंकिङ प्रणालीमा तरलताप्रवाह, विदेशी मुद्रामा योगदान र नेपालको प्रतिव्यक्ति आम्दानीमा योगदान पुर्याइरहेको रेमिट्यान्स गुम्यो भने सबैभन्दा ठुलो समस्या अर्थतन्त्रमा देखापर्नेछ । माघसम्ममा यो त बढी नै देखिन्छ । तर, एक–दुई महिना मध्यपूर्वको तनाव लम्बिँदै गयो भने रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा दिइरहेको सुविधा सबै खोसिन सक्छ । यसै त हाम्रो देशमा प्रत्यक्ष वैदेशिक लगानी र वैदेशिक सहायता प्रतिबद्धताअनुसार आउन सकेका छैनन् ।

रेमिट्यान्स नै गुम्यो भने स्थिति तनावपूर्ण बन्न सक्छ । यसमा सरकार चनाखो हुनुपर्छे देखिन्छ ।’ कतारको दोहा र संयुक्त अरब इमिरेट्सस्थित दुबईको उडानमा अवरोध कायम रहँदा विदेशी पर्यटकको आवागमनसमेत प्रभावित हुने अर्थशास्त्री आचार्यको विश्लेषण छ ।

सुविधाजनक बहुमतको सरकार बन्दै गर्दा यस्तो छ देशको आर्थिक परिदृश्य
माघमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.२५ प्रतिशत छ । गत पुसमा यो २.४२ प्रतिशत थियो । मंसिरमा १.६३ प्रतिशत मात्रै थियो । यो पछिल्ला ११ महिनायताकै उच्च मूल्यवृद्धिदर हो । गत वर्षको चैतमा मुद्रास्फीति ३.३९ प्रतिशत थियो ।

कुल विदेशी मुद्रा सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २२ अर्ब ७६ करोड पुगेको छ । यस्तो सञ्चिति १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । 

चालू खाता चार खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँ बचत कायम छ । गत आर्थिक वर्षको सोही अवधिमा चालू खाता एक खर्ब ८४ अर्ब १४ करोडले बचतमा थियो । शोधनान्तर पाँच खर्ब ७२ अर्ब ७३ करोड बचतमा छ । गत आवको सोही अवधिमा दुई खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो । रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब एक करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा ३३ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको माघ महिनामा मात्रै एक खर्ब ९८ अर्ब ८ करोडको रेमिट्यान्स आएको छ । 

सात महिनामा ३२.२ प्रतिशतले बढी वस्तु निर्यात र १३.६ प्रतिशत बढी आयात भएको छ । कुल एक खर्ब ६८ अर्ब १५ करोडको निर्यात हुँदा ११ खर्ब २३ अर्ब ४९ करोडको आयात भएको छ । व्यापारघाटा ९ खर्ब ५५ अर्ब ३४ करोडको छ । सात महिनामा सरकारको खर्च ८ खर्ब १ अर्ब ३७ करोड र राजस्व परिचालन ६ खर्ब ६५ अर्ब २ करोड छ । 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । निक्षेप संकलन चार खर्ब ३३ अर्ब ७१ करोडले बढेको छ भने २ खर्ब २१ अर्ब ८४ करोडले कर्जा विस्तार भएको छ । 

खुद सेवा आय ५० अर्ब १६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब १७ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत नेपाल भ्रमणमा आउने पर्यटकले गर्ने खर्च ४७ अर्ब ९९ करोड कायम छ । गत आवको सोही अवधिमा ४९ अर्ब २८ करोड थियो । अर्थात् यस्तो आम्दानी २.६ प्रतिशतले घटेको छ । नेपालीहरूले विदेश भ्रमण र विदेश पढ्न जाँदा गर्ने खर्च भने बढेको छ । 

समीक्षा अवधिमा यस्तो खर्च एक खर्ब २१ अर्ब २७ करोड छ । गत आवको सोही अवधिमा यस्तो खर्च एक खर्ब १५ अर्ब मात्रै थियो । प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । समीक्षा अवधिमा १० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४३ करोड थियो ।

See More On

सुझावित समाचार