पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित ट्याक्टर नियन्त्रणमा लिएपछि त्यसबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले २१३ केजी गाँजासहित मे.१त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएपछि फरार भएका ट्याक्टर धनीबारे यातायात कार्यालयबाट जानकारी लिएर थप अनुसन्धान सुरु गरेको हो ।
ट्याक्टरधनी र गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको प्रहरीले बताए पनि उनीहरूको पहिचान भने अहिलेसम्म नखुलाएको अवस्था छ। बरामद गाँजासहितको ट्याक्टर प्रहरी कार्यालयमा राखिएको भन्दै फरार रहेका ट्याक्टरका चालक, धनी र तस्करहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले बताए ।
प्रहरी निरीक्षक अधिकारीले गाँजासहितको ट्याक्टर नियन्त्रणमा लिएपछि ट्याक्टरधनीको बारेमा यातायात कार्यालयबाट जानकारी लिने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
‘यो क्षेत्रमा ठुला–ठुला गाँजाको अप्रेसन पाँचवटा भएको अवस्था छ,’ उनले भने, ‘अहिले यसलाई पूर्ण रूपमा निस्तेज पार्नका लागि प्रहरीको टोली अगाडि बढेको छ ।’ सोमबार राति जगरनाथपुर गाउँपालिका– ४ बाट पटेर्वा सुगौलीको प्रहरी टोलीले पटेर्वा सुगौली– १ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई सोनवर्षाबाटै पछ्याउँदै पक्राउ गरेको थियो । पछ्याउँदै जाँदा जगरनाथपुरमा तस्करहरू गाँजासहितको ट्याक्टर छाडेर फरार भएको पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले बताए ।