पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका– ४ बाट प्रहरीले २१३ केजी गाँजासहित मे.१त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले पटेर्वा सुगौली– १ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई सोनवर्षाबाटै पछ्याउँदै पक्राउ गरेको हो ।
पछ्याउँदै जाँदा जगरनाथपुरमा तस्करहरू गाँजासहितको ट्याक्टर छाडेर फरार भएको पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले बताए । ट्याक्टरधनी र गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको प्रहरीले बताए पनि उनीहरूको पहिचान भने अहिलेसम्म नखुलाएको अवस्था छ । बरामद गाँजासहितको ट्याक्टर इलाका प्रहरी कार्यालयमा राखिएको भन्दै प्रहरी निरीक्षक अधिकारीले फरार रहेका ट्याक्टरका चालक, धनी र तस्करहरूको खोजी भइरहेको बताए ।