नेपाली बजारमा सुनको मूल्यमा मंगलबार उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला तीन हजार आठ सय रुपैयाँले बढेर तीन लाख १७ हजार रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको मूल्य तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनको अन्तरालमै अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै सुनको मूल्य पुनः उकालो लागेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। चाँदीको भाउ तोलामा ३१० रुपैयाँले वृद्धि भई पाँच हजार ७२० रुपैयाँ पुगेको छ। सोमबार भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य बढ्दो क्रममा देखिएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५१६८.८५ अमेरिकी डलर पुगेको छ, जुन सोमबार प्रतिऔंस ५०५९.५२ डलर थियो। त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतिऔंस ८८.५९ डलर पुगेको छ, जबकि सोमबार प्रतिऔंस ८३.२६ डलर रहेको थियो।