सप्तरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिनस्विप’ गरेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको हो।
सप्तरी १ मा रास्वपाकी पुष्पाकुमारी चौधरी विजयी भएकी छिन्। उनले ३० हजार ३४८ मतान्तरले जित निकालेकी हुन्। रास्वपाकी चौधरीले ३८ हजार १९५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वाभिमान पार्टीका सुमित कुमारले सात हजार ८४७ मत मात्र पाए।
तेस्रो नम्बरमा नेकपा (एमाले)का सुमनराज प्याकुरेलले सात हजार ६५२ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका रामदेव साह (तेली)ले ६ हजार ९९४, जनमतका जयकान्त राउतले चार हजार ८३३, जसपा नेपालका श्यामसुन्दर सरदारले दुई हजार ५५८ र नेपाली कम्युनिस्ट पार्टीका रवीन्द्र चौधरीले एक हजार ६२६ मत ल्याए।
सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव निर्वाचित भएका छन्। यादवले २८ हजार ४०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरेका छन्। यस्तै, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले नाै हजार ८८० मत ल्याए। मधेश प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले तीन हजार ५५७ मत पाए। उनी स्वाभिमान पार्टीबाट उम्मेदवार थिए।
यस्तै, नेपाली कांग्रेसका रामकुमार यादवले दुई हजार ४९८, राष्ट्र निर्माण दल नेपालका अफरोज आलमले एक हजार १२०, नेकपा एमालेका मोहम्मद जियाउल रहमानले ८८३ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका सूर्यनाथप्रसाद यादवले ४२६ मत पाएका छन्।
सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी निर्वाचित भएका छन्। चौधरी ३२ हजार ८७५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत ल्याए।
नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५, जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले दुई हजार ८६९, नेपाली कम्युनिस्ट पार्टीका अरुणकुमार साहले एक हजार ६३५ प्राप्त गरेका छन्।
सप्तरी ४ मा रास्वपाका सीताराम साह २३ हजार तीन सयभन्दा बढी मतान्तरले विजयी भएका छन्। लगातार तीनवटा निर्वाचन जितेका नेपाली कांग्रेसका तेजुलाल चौधरीलाई हराउँदै साहले बाजी मारेका हुन्। पहिलोपटक संसदीय निर्वाचन लडेका साहले ३६ हजार ४१२ मत प्राप्त गर्दा कांग्रेसका चौधरीले १३ हजार १०३ मत मात्र ल्याए। यसैगरी, जसपा नेपालकी बाबी सिंहले १० हजार २८० मत ल्याइन्।