कञ्चनपुरमा प्रत्यक्षतर्फको मतगणना ४० घण्टाभित्रै सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तैबाट मत गणना सुरु गरेर ४८ घण्टाभित्रै परिमाण सार्वजनिक गर्ने घोषणा गरेको थियो । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा औसत ४० घण्टामा मतगणना सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले मतदान सम्पन्न भएकै दिन २१ फागुनको रातिबाटै तीनै निर्वाचन क्षेत्रमा मतगणना सुरु गरिएको बताए । ‘हामीले मतदान भएकै दिन राति १ बजेदेखि तीनै क्षेत्रमा मतगणना सुरु गरेका थियौँ,’ मुख्य निर्वाचन अधिकृत भण्डारीले भने, ‘दोस्रो दिनमै मतपरिणाण घोषणा गर्न सफल भएका छौँ, तीनै निर्वाचन क्षेत्रमा निर्वाचित प्रतिनिधिसभा सदस्यलाई प्रमाणपत्र वितरण गरिसकेका छौँ ।’
२१ फागुन मध्यरातदेखि सुरु भएको मतगणना २३ मध्यरातमा सम्पन्न भएको थियो । क्षेत्र २ को दिउँसै, १ र ३ को मध्यरातमा सम्पन्न भएको थियो । एक लाख ८० हजार १११ मत गणना गर्न औसध ४० घण्टा लगाइएको छ । क्षेत्र १ मा एक लाख एक हजार ७२४ मतदातामध्ये ६० हजार ७८५, क्षेत्र २ मा एक लाख नाै हजार ५७४ मध्ये ६१ हजार ११७ र क्षेत्र ३ मा एक लाख तीन हजार ८७ मा ५८ हजार ५४६ मत खसेका थिए ।
समानुपातिकतर्फ पनि दुई दिनभित्रै परिणाम घोषणा गर्ने जनाएका छन् । तीनै निर्वाचन क्षेत्रमा मतदान, मतगणनादेखि घोषणा कार्यक्रम शान्तिपूर्ण तरिकाले सम्पन्न भएको भन्दै सरोकारवालाहरूमा आभार प्रकट गरेका छन् ।