निर्वाचन आयोगले मतपेटिका साटिने भनी फैलाइएको हल्ला पूर्णतः निराधार र भ्रामक रहेको स्पष्ट पारेको छ।
बुधबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिकाको सुरक्षामा कुनै पनि किसिमको सम्झौता नहुने बताएका हुन्।
उनले परम्परागत रूपमा त्रिस्तरीय सुरक्षा घेराभित्र मतपेटिका सुरक्षित राखिने व्यवस्था यथावत् रहेको जानकारी दिए। मतदान सम्पन्न भएपछि राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतपेटिका सिल गरिने र प्रतिनिधिहरूको आफ्नै चिह्न अंकित लाहाछाप लगाइने उनले बताए।
मतपेटिका सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना, बिचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालन हुने पुरानै व्यवस्था कायम रहेको आयोगले जनाएको छ।
दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न नेपाली सेनाका सुरक्षित र भरपर्दा हेलिकोप्टर प्रयोग गरिने उल्लेख गर्दै भण्डारीले सेनाले छुट्टै मतपेटिका ल्याउने भन्ने हल्लामा विश्वास नगर्न आग्रह गरेका छन्।
आयोगले आमनागरिक, राजनीतिक दल तथा सरोकारवालालाई आधिकारिक सूचना मात्र विश्वास गर्न र अफवाह नफैलाउन अपिल गरेको छ।