सुजन डंगोल राष्ट्रिय लिगमा ह्याट्रिक गर्ने पाँचौँ खेलाडी बनेका छन् । शनिबार दशरथ रंगशालामा श्री भगवती क्लबका सुजन डंगोलले काँक्रेविहार क्लबविरुद्ध ह्याट्रिक गरेका हुन् । उनले तीनै गोल अन्तिम समयमा गरेका थिए । सुजनले ८७औँ, ८९औँ र इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै चौथो ह्याट्रिककर्ता बने यो लिगमा बनेको सबैभन्दा चाडो समयको ह्याट्रिक हो ।
जुन खेलमा श्री भगवती ६–० को जित निकाल्न सफल भएको थियो । सुजनसँगै चर्च ब्वाइज युनाइटेडका मिलन राई, प्लानिङ ब्वाइज युनाइटेडका पापा इबोउ केबे, लालीगुँरास एसोसिएसनका अब्दुल युसुफ हाउले र संकटा क्लबका रिचर्डले शतक बनाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबलमा कुल १७ टिम सहभागी छन् । जसमा १३ सहिद स्माकर ए डिभिजनका क्लब तथा एन्फा प्रेसिडेन्ट लिगबाट चार टिम छनोट भएका छन् । हिमालयन शेर्पा क्लब भने लिगमा सहभागी भएन । एन्फाले डिभिजन लिग आयोजना गर्न नसकेपछि राष्ट्रिय लिग आयोजना गरेको हो । लिगमा आधाभन्दा बढी खेल सम्पन्न हुँदा विभागीय टोली एपिएफ एफसी, लालीगुराँस एसोसिएसन र मच्छिन्द्र एफसी अपराजित छन् ।
ककसले गरे ह्याट्रिक
चर्च ब्वाइजका मिलन राई राष्ट्रिय लिगको पहिलो ह्याट्रिक गर्ने खेलाडी हुन् । उनले नव जनजागृति युवा क्लबविरुद्ध तीन गोल गरेका थिए । १६ माघमा एन्फा कम्प्लेक्समा भएको लिगको ३५औँ खेलमा उनले २०औँ, ४१औँ र ६१औँ मिनेटमा गोल गरेका थिए । जुन खेलमा चर्च ब्वाइजले ६–१ ले विजयी भएको थियो ।
दोस्रो ह्याट्रिक प्लानिङ ब्वाइज युनाइटेडका पापा इबोउ केबेले गरे । फ्रेन्च फरवार्डले संकटाविरुद्ध ११ फागुनमा भएको खेलमा तीन गोल गरेका हुन् । केबेले १९औँ, ८२औँ र ९०औँ मिनेटमा गरी तीन गोल गरेका हुन् । केबे नेपालमा खेल्न आएकामध्ये सबैभन्दा सफल स्ट्राइकर मानिन्छन् ।
लालीगुराँस एसोसिएसनका अब्दुल युसुफ हाउले ह्याट्रिक गर्ने तेस्रो खेलाडी हुन् । अब्दुल युसुफ हाउलेले काँक्रेबिहारविरुद्ध ३७औँ ५५औँ र ५६औँ मिनेटमा गोल गरेका थिए । जुन खेलमा लालीगुराँस ४–१ ले विजयी भएको थियो । लिगको चौथो ह्याट्रिक संकटा क्लबका रिचर्ड ओन्यमाले गरे । उनले १५ फागुनमा एन्फा कम्प्लेक्समा चित्लाङ एफसीविरुद्ध एक मिनेट, पहिलो हाफको इन्जुरी समय र ७५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।