सर्वोच्च अदालतले चुनाव र होलीको सार्वजनिक बिदामा समेत बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको निर्णयअनुसार बिदाका दिनमा पनि रिट दर्ता र सुनुवाइका लागि न्यायाधीश तोकिएका छन्।
निर्णयअनुसार, चुनावको समयमा गैरकानुनी रूपमा पक्राउ वा थुनामा राखिएको दाबी गर्दै कुनै पनि व्यक्तिले रिहाइका लागि बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्न सक्नेछन्। सेवाग्राहीको संवैधानिक हक सुनिश्चित गर्न अदालतले विशेष व्यवस्था मिलाएको जनाएको छ।
अदालतका प्रवक्ता अर्जुन कोइरालाले बिदाका दिनमा सुनुवाइका लागि तीन जना न्यायाधीश तोकिएको जानकारी दिए। बन्दी प्रत्यक्षीकरण रिट दर्ता र सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।