भारतबाट थप सय मेगावाट बिजुली किन्ने दोस्रो टेन्डरमा पनि परेन आवेदन

प्राधिकरणले अहिले इन्डियन इनर्जी एक्सचेन्जबाट ६६४ मेगावाटसम्म र पिटिसी इन्डियाबाट १८० मेगावाट विद्युत् २४ घण्टा नै खरिद गरिरहेको छ

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

भारतबाट थप सय मेगावाट विद्युत् खरिद गर्न दोस्रोपटक आह्वान गरिएको टेन्डरमा पनि भारतका कुनै कम्पनीले चासो देखाएन । नेपाल विद्युत् प्राधिकरणले आगामी अप्रिल र मे (१८ चैतदेखि १७ जेठसम्म)मा भारतबाट थप १००–१०० मेगावाट विद्युत् खरिद गर्न दोस्रोपटक १ फागुनदेखि १० फागुनसम्मको म्याद राखेर टेन्डर आह्वान गरेको थियो । तर, दोस्रोपटक आह्वान गरिएको टेन्डरमा पनि एउटै आवेदन नपरेपछि प्राधिकरणले पाँच दिन म्याद थप गरेको छ । अब भारतीय कम्पनीले १५ फागुन (१७ फेब्रुअरी)सम्म प्रस्ताव पेस गर्न सक्छन् । 

प्राधिरकणले अहिले इन्डियन इनर्जी एक्सचेन्जबाट ६ सय ६४ मेगावाटसम्म र पिटिसी इन्डियाबाट एक सय ८० मेगावाट विद्युत् २४ घण्टा नै खरिद गरिरहेको छ । पिटिसीसँगको सम्झौताको म्याद मेसम्म भए पनि इन्डियन इनर्जी एक्सचेन्जबाट विद्युत् खरिद गर्न पाउने अनुमतिको अवधि भने १७ चैत (३१ मार्च)सम्म छ । त्यसपछि २४ घण्टा नै बिजुली पाउनेमा चुनौती छ । 

सोही कारण प्राधिकरणले भारतबाट फेब्रुअरी, मार्च, अप्रिल र मेमा २४ घण्टा नै थप १००–१०० मेगावाट विद्युत् खरिद गर्न जनवरी १९ देखि २८ तारिख (४ माघदेखि १४ माघ)सम्मको म्याद राखेर टेन्डर आह्वान गरेको थियो । त्यसमा विद्युत्को खरिद दर अधिकतम ६.९० भारु तोकिएको थियो । तर, त्यसमा कुनै पनि प्रस्ताव परेन । 
त्यसपछि प्राधिकरणले सोही मूल्यमै अप्रिल र मे (१८ चैतदेखि १७ जेठसम्म)मा १००–१०० मेगावाट विद्युत् खरिद गर्न १३ फेबु्रअरीदेखि २२ फेब्रुअरीसम्म (१ फागुनदेखि १० फागुनसम्म)को म्याद राखेर टेन्डर आह्वान गरेको थियो । दोस्रोपटक पनि प्रतियुनिट मूल्य ६.९० भारु नकट्ने गरी प्रस्ताव माग गरिएको छ । तर, दोस्रो टेन्डरमा पनि प्रस्ताव नपरेपछि आवेदन पेस गर्ने समय पाँच दिन थप गरिएको हो । यसमा भारतका विद्युत् व्यापार कम्पनी सहभागी हुन सक्नेछन् । प्रस्ताव पेस गर्ने कम्पनीले १०० मेगावाट नबढ्ने गरी न्यूनतम २५ मेगावाट र त्यसले भाग जाने परिमाणमा प्रस्ताव पेस गर्नुपर्नेछ । अर्थात्, २५ मेगावाट, ५० मेगावाट, ७५ मेगावाट वा १०० मेगावाट विद्युत् उपलब्ध गराउने गरी प्रस्ताव पेस गर्नुपर्नेछ । प्रस्ताव पेस गर्ने कम्पनीले ५० लाख भारु धरौटी पनि राख्नुपर्नेछ । 

प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रस्ताव पेस गर्ने म्याद पाँच दिन थप गरेको बताए । ‘आवेदन नपरेपछि म्याद थप गरिएको हो । यद्यपि, यसपालि भारतीय कम्पनी विद्युत् बिक्री गर्न इच्छुकजस्तो देखिएका छन् । १० दिनको म्याद पर्याप्त नभएको भन्दै उनीहरूले म्याद थप गरिदिन आग्रह पनि गरेका छन् । सोहीअनुसार पनि म्याद थप गरिएको हो । १० दिन आफैँमा पर्याप्त समय पनि थिएन,’ उनले भने, ‘सायद, अबको पाँच दिनमा भारतीय विद्युत् व्यापार कम्पनीले आफ्ना उत्पादकसँग समन्वय गरेर प्रस्ताव पेस गर्छन् होला ।’

उक्त समयमा भारतमा पनि विद्युत् माग बढी हुने भएकाले चुनौती भएको उनको भनाइ छ । ‘त्यसवेला गर्मी सिजन सुरु भइसकेको हुन्छ । भारतमा पनि विद्युत् माग उच्च हुन्छ,’ उनले भने, ‘त्यसले गर्दा यो समयमा विद्युत् पाउन मुस्किल नै हुन्छ । तर, यसपालि भारतीय कम्पनी सम्पर्कमा आउँदा आशा भने छ ।’

म्याद थपको विषयमा बोर्डसँग लिइएन सहमति 
यसअघि प्राधिकरण सञ्चालक समितिले १० दिनको म्याद राखेर टेन्डर आह्वान गर्न व्यवस्थापनलाई सहमति दिएको थियो । तर, व्यवस्थापन समूहले बोर्डसँग समन्वयन नगरी टेन्डरको म्याद अर्को पाँच दिन थप गरेको स्रोतको भनाइ छ । ‘बोर्डले दिएको समय १० दिनको हो । त्यो अवस्थामा कि टेन्डर रद्द गरेर पुनः टेन्डर आह्वान गर्नुपर्ने थियो कि बोर्डको सहमति लिनुपर्ने थियो,’ स्रोतले भन्यो, ‘तर, पाँच दिन थप गर्न बोर्डको सहमति लिइएको छैन ।’सञ्चालक समितिका एक सदस्यले यसमा व्यवस्थापन समूह नै बढी जिम्मेवार हुने बताए । ‘हामीले दिएको समय १० दिनकै हो । तर, अहिले विद्युत् पाउन सकेको अवस्था देखिएन । यो वेला कसरी हुन्छ विद्युत् ल्याउनु भनेका छौँ,’ उक्त सञ्चालकले भने, ‘बोर्डले आवश्यक सहजीकरण गर्छ ।’

बर्खामा विद्युत् निर्यात गर्न सक्ने नेपाल सुक्खा याममा भने आयातमै निर्भर हुनुपर्छ । सुक्खा याममा भारतबाट विद्युत् ल्याएर आन्तरिक माग व्यवस्था गरिन्छ । अहिले पनि प्राधिकरणले भारतको पिटिसी इन्डियाबाट स्थिर मूल्यमा एक सय ८० मेगावाट विद्युत् आयात भइरहेको छ । दैनिक २४ घण्टा नै विद्युत् खरिद गर्ने यो सम्झौताको म्याद मेसम्म छ । यसैगरी, इन्डियन इनर्जी एक्सचेन्जबाट प्रतिस्पर्धी मूल्यमा ६ सय ५४ मेगावाटसम्म विद्युत् खरिद गर्न पाइन्छ । २४ घण्टा नै विद्युत् खरिद गर्न पाउने गरी भारतले दिएको यसको अनुमतिको अवधि भने १७ चैत (३१ मार्च)सम्म छ । 

त्यसपछि भारतले कुन मोडेलमा विद्युत् खरिद गर्न दिन्छ भन्नेमा अन्योल छ । भारतले यसअघि रातिको समय वा पिक आवरमा विद्युत् खरिद गर्न दिने गरेको थिएन । १७ चैतसम्म २४ घण्टा नै विद्युत् खरिद गर्न पाउने भए पनि त्यसपछि कुन मोडेलमा स्वीकृति पाइन्छ भन्नेमा अन्योल छ । भारतले २४ घण्टा नै विद्युत् नदिएको अवस्थामा पिटिसी इन्डियाबाट आउने एक सय ८० मेगावाट विद्युत् पर्याप्त हुँदैन ।

नेपालमा अभाव हुने समयमा नै भारतमा गर्मी उच्च हुन्छ । त्यसले गर्दा भारतमा विद्युत्को माग पनि उच्च हुन्छ । त्यहाँ उपलब्ध हुने विद्युत् अहिले नै बुकिङ भइसकेका छन् । त्यो वेलामा विद्युत् महँगो पनि हुन सक्छ । त्यही कारण अघिल्लो टेन्डरमा आवेदन नपरेको प्राधिकरणको विश्लेषण छ । यद्यपि, छुटपुट, मौज्दात वा रद्द भएका विद्युत् पाउने आशामा प्राधिकरणले पुरानै दरमा नयाँ टेन्डर आह्वान गरेको थियो । तर, सुरुको म्यादमा आवेदन नपर्दा विद्युत् पाउने सम्भावना अझै पनि न्यून रहेको देखिन्छ । यद्यपि, भारतीय कम्पनी सम्पर्कमा आएका कारण केही आशा पनि रहेको प्रवक्ता ढकालले बताए ।

विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकाल भन्छन्– भारतबाट विद्युत् आयात गर्ने टेन्डरमा आवेदन नपरेपछि म्याद थप गरिएको हो । यद्यपि, यसपालि भारतीय कम्पनीहरू विद्युत् बिक्री गर्न इच्छुकजस्तो देखिएका छन् । १० दिनको म्याद पर्याप्त नभएको भन्दै उनीहरूले म्याद थप गरिदिन आग्रह पनि गरेका छन् । सोहीअनुसार पनि म्याद थप गरिएको हो । १० दिन आफैँमा पर्याप्त समय पनि थिएन । सायद, अबको पाँच दिनमा भारतीय विद्युत् व्यापार कम्पनीले आफ्ना उत्पादकसँग समन्वय गरेर प्रस्ताव पेस गर्छन् होला ।

See More On

सुझावित समाचार