जाडोमा कोटाअनुसार आयात गरेन निगमले ग्यास, बजारमा अभाव कायमै

जाडोका लागि तोकिएको मासिक कोटा ४९,५०० टन भए पनि पुसमा ४७,४६०, माघमा ४६,२८३ र मंसिरमा ४५,२२८ टन मात्रै आयात, ग्यास आयात बढाएको निगमको दाबी झुटो प्रमाणित

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

बजारमा ग्यास अभाव कायमै रहे पनि पर्याप्त ग्यास आयात गरेको भन्दै आयाल निगमले भ्रामक प्रचार गरेको तथ्य सार्वजनिक भएको छ । निगमको दाबीविपरीत माघमा अघिल्लो महिनाभन्दा कम ग्यास आयात भएको भन्सार विभागको तथ्यांकले पुष्टि गरेको छ । माघमा ४६ हजार दुई सय ८३ टन ग्यास आयात भएको विभागको तथ्यांक छ । जुन अघिल्लो महिना पुसको आयातभन्दा ११ सय ७७ टन कम हो । ग्यास बिक्री गर्दा नोक्सान व्यहोरिरहेको निगमले आफ्नो घाटा कम गर्न पनि ग्यास आयात बढाउन बेवास्ता गरेको निगम स्रोतको भनाइ छ । निगमले अहिले ग्यास बिक्री गर्दा प्रतिसिलिन्डर औसतमा दुई सय ५० रुपैयाँ नोक्सान व्यहोर्नुपरेको छ । सोही कारण ग्यास आयात जति बढी भयो, त्यति नै निगमको नोक्सान पनि बढ्छ । 

विभागको तथ्यांकअनुसार जाडो लागेयता निगमले तोकेको कोटाबराबर पनि आयात भएको छैन । निगमले जाडो मौसमका लागि मासिक ४९ हजार पाँच सय टन कोटा निर्धारण गरेको छ । तर, पछिल्लो तीन महिनायता कोटाअनुसार आयात नै नभएको भन्सार विभागको तथ्यांक छ । मंसिरमा ४५ हजार दुई सय २८ टन र पुसमा ४७ हजार चार सय ६० टन ग्यास आयात भएको विभागले जनाएको छ । खपत बढ्ने वेलामा कोटाअनुसार ग्यास लोड नहुँदासमेत निगम व्यवस्थापनले चासो नदिएपछि माघ लाग्नासाथ अभाव सुरु भएको थियो । 

भन्सारको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा अहिले ग्यासको समग्र आयात नै ९.२४ प्रतिशत घटेको छ । जबकि, वार्षिक करिब १० प्रतिशतले ग्यास खपत बढ्ने प्रवृत्ति छ । बर्सेनि आयात परिमाण बढाउनुपर्ने दायित्वविपरीत आयात घटेको तथ्यांकलाई समेत निगम व्यवस्थापनले ‘अनदेखा’ गरेकाले अहिले बजारमा आपूर्ति असहजताको स्थिति आएको हो ।

निगम प्रवक्ता मनोज ठाकुरले भने फेब्रुअरी महिनाका लागि नियमितभन्दा दुई हजार टन बढी कोटा तोकिएको र सबै परिमाण लोड हुने अवस्थामा रहेको बताए । ‘फेब्रुअरीलाई कोटा बढाइएको हो, सबै परिमाण उठ्ने अवस्था छ,’ उनले भने, ‘केही ठुला उद्योगले कोटाअनुसार ग्यास लोड गर्न नसक्दा माघ महिनाको आयात कम हुन गएको हो ।’ त्यस्तै नेपालमा सबैभन्दा बढी ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरी मर्मतका कारण माघको पहिलो सातादेखि कोटाअनुसार ग्यास आयात हुन नसकेको निगमको भनाइ छ ।

नेपालमा ग्यास ढुवानी गर्ने धेरै भारतीय बुलेटहरूले पनि नेपालमा ढुवानी गर्न प्राथमिकता नदिएका कारण ग्यास आयातमा समस्या देखापरेको व्यवसायीहरू बताउँछन् । ग्यास ढुवानीमा प्रयोग हुने भारतीय बुलेटको भाडा भुक्तानीमा भएको विलम्बका कारण उनीहरूले नेपालमा छाडेर भारततर्फ नै काम गर्न थालेका कारण कोटाअनुसार आयात हुन नसकेको स्रोतको भनाइ छ । 

कोटाअनुसार ग्यास उठाउन उद्योगीलाई दबाब दिनुको सट्टा आयात बढाइरहेको भ्रामक जानकारी दिए पनि बजारमा आपूर्ति सहज नभएपछि निगमले टेकुस्थित पुरानो कार्यालयबाट नेपाल, एभरेस्ट र सुगम ग्यासको अस्थायी बिक्री डिपो सञ्चालन गरेको छ ।

 नेपाल ग्यासलाई सचेत नगराउँदाको परिणाम
पछिल्लो तीन महिनायता ‘नेपाल ग्यास’ले तोकिएको कोटाअनुसार ग्यास आयात गरेको छैन । नेपाल ग्यासका लागि मासिक २३ सय टन कोटा निर्धारण गरिएको छ । तर, प्रत्येक महिना ८० प्रतिशत हाराहारी मात्रै नेपाल ग्यासले आयात गरिरहेको छ । सो उद्योगले कात्तिक, मंसिर र पुसमा लगातार कम ग्यास ल्याएकाले माघ लाग्नासाथ काठमाडौं उपत्यकामा अभाव देखियो । ‘निगम व्यवस्थापनलाई यसबारे जानकारी थियो, तैपनि नेपाल ग्यासलाई तोकिएको कोटाअनुसार ग्यास ल्याउन कसैले सचेत गराएनन्,’ एक कर्मचारीले भने ।

See More On

सुझावित समाचार