निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई आफू बहाल रहेको पालिकाभित्र दलीय चुनावी प्रचार–प्रसारमा संलग्न नहुन आग्रह गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केही जनप्रतिनिधि आचारसंहिताविपरीत प्रचारमा सहभागी भएको उजुरी आएको जनाउँदै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आचारसंहिताअनुसार पदाधिकारीले आफ्नै पालिकामा कुनै दल वा उम्मेदवारको प्रचार गर्न पाउँदैनन्, तर अन्य स्थानीय तहमा भने संलग्न हुन सक्नेछन्। आयोगले सबै जनप्रतिनिधिलाई पदको मर्यादा र तटस्थता कायम राख्न निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।
‘निर्वाचन आधारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन सचेत गराउँदछ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।