साढे दुई लाख घुस मुद्दामा पोखराका वडासचिवसमेत दुईलाई सफाइ

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

विशेष अदालतले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा वडासचिवसहित दुईजनालाई सफाइ दिएको छ । एक वर्षअघि दायर मुद्दामा विशेषले यस्तो फैसला गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का सचिव प्रभात लामिछानेले सेवाग्राहीसँग घ'स लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। यस मुद्दामा घुस रकम दिएको भनिएका दिनेश लामिछानेसमेत प्रतिवादी थिए। 

अख्तियारले गत वर्ष १४ चैतमा घुस लिने र दिने दुवैलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो। यसमाथि विशेषका सदस्यहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले सुनुवाइ गर्दै सफाइ दिएको हो। 

वडासचिव लामिछानेले सेवाग्राही दिनेश दयालु लामिछानेको नाममा जन्मदर्ता बनाएको, तर नयाँमा दिनेश लामिछाने भनी नाम सच्याएको भेटिएको थियो। यसरी नाम फरक बनाएबापत २ लाख ५० हजार रुपैयाँ वडासचिवले आफ्नो बैंक खातामा राख्न लगाएको अभियोग अख्तियारले लगाएको थियो। यसरी घुस लिई एकै व्यक्तिको फरक फरक दोहोरो जन्मदर्ता जारी गरेको मुद्दामा विशेषले सफाइको फैसला गरेको हो।
 

सुझावित समाचार