सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई फागुन ११ गते सोमबारदेखि देशभर खटाउने भएको छ ।
उपत्यकाबाट खटिन लागेका अधिकृतहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट फागुन १० गते आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले विशेष निर्देशन दिएका छन्।
निर्वाचनको समयअगावै, निर्वाचको समय र निर्वाचनपश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन उनले निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र ब्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिए।
निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामन्डरहरूसँग समन्वय, सबै उम्मेदवारहरूसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउनको साथै निर्वाचन प्रहरीहरूलाई सभ्य र नम्र व्यवहार गर्न तथा उनीहरूको सेवा–सुविधमा कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्य गर्न आइजिपी अर्यालले निर्देशन दिएका छन्।
सीमा क्षेत्रको अनुगमन, निर्वाचनको समयममा बल प्रयोग गर्नुपरेमा मानव अधिकारको संरक्षण र पूर्ण पालना गर्दै बल प्रयोगको समयमा आवश्यक प्रमाण राख्न उनको निर्देशन छ । निर्वाचन बिथोल्न खोज्नेहरूको पहिचान गरी सोहीअनुसारको रणनीति बनाउन र कानुनअनुसारको बल प्रयोग गर्न मातहत सबै तहका कमान्डरहरूलाई स्पष्ट हुन भनिएको छ।
सोमबारबाट देशका ७७ वटै जिल्लामा अनुगमनमा जाने वरिष्ठ अधिकृतहरूले फिल्ड र मुख्यालयबिच समन्वयात्मक भूमिकासमेत निर्वाह गर्ने प्रवक्ता भट्टले बताए।