एडिबीको दुई अर्ब अनुदानमा कर्णालीमा ९५० किलोवाटको सोलार प्लान्ट बन्दै

सौर्य ऊर्जा उत्पादनका लागि एक हजार ७७२ वटा सोलार प्यानल जडान, जिल्लाका आठै पालिका विद्युतीकरण हुने

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

जुम्लासहित कर्णाली प्रदेशका चार जिल्लामा बृहत् सौर्य ऊर्जा आयोजना निर्माण थालिएको छ । एडिबीको करिब दुई अर्ब अनुदानमा माथिल्लो कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पामा सौर्य आयोजना निर्माण थालिएको हो । आयोजनाअन्तर्गत ९५० किलोवाट सौर्य ऊर्जा उत्पादन गरिने सोलार परियोजना म्यानेजर अभिशेक अधिकारीले जानकारी दिए । जिल्लागत लागत कति भन्ने यकिन नभएको उनको भनाइ छ। घुघुत्ती साना जलविद्युत् आयोजनानजिक सौर्य ऊर्जा जडानको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ । 

आयोजना निर्माणपछि उत्पादित ९५० किलोवाट बत्ती पनि राष्ट्रिय प्रसारणलाइनमै जोडेर एकीकृत रूपमा विद्युत्प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।विद्युत् प्राधिकरण जुम्लाका प्रमुख ललितकुमार मण्डलले ९५० किलोवाट सौर्य ऊर्जा उत्पादनको ५० प्रतिशत काम पूरा भएको बताए । ‘अहिले सिभिल कन्स्ट्रक्सनको काम धमाधम भइरहेको छ । ट्रान्सफर्मर जडानको फाउन्डेसन निर्माण, सोलार प्यानल जडान पनि गरिरहेका छौँ,’ उनले भने ।

उनका अनुसार आयोजना सम्पन्न हुन अझै एक वर्ष लाग्नेछ । प्यानलको चार्जर कन्ट्रोल र सोलारबाट आउने पावर कन्ट्रोल गर्ने मेसिन आउन बाँकी रहेको उनले जानकारी दिए । चुकेनी विद्युत् सञ्चालनपछि सहज बनेको जुम्लाको जनजीवन ९५० किलोवाटको सौर्य ऊर्जा सञ्चालन भएपछि जिल्लाका आठै पालिका विद्युतीकरण हुने उनको भनाइ छ । आयोजनाका साइट इन्जिनियर साजन डाँगीले जुम्लामा मात्रै ९५० किलोवाट सौर्य ऊर्जा उत्पादनका लागि एक हजार सात सय ७२ वटा सोलार प्यानल जडान गरिने जानकारी गराए । ‘पावर कन्ट्रोलका लागि तीन सयवटा ब्याट्री जडान गरिन्छ । अहिले सोलार प्यानलको फाउन्डेसन तथा रिटेनिङ वाल निर्माण भइरहेको छ,’ उनले भने । आयोजना निर्माणमा १६ जना जनशक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । 

चारै जिल्लामा चिनियाँ निर्माण कम्पनीले नै काम गरिरहेको छ । आयोजनाको डिजाइन इस्टिमेट, निर्माण पनि चिनियाँ कम्पनीले नै गरिरहेको छ । सौर्य योजना निर्माण भइसकेपछि हिउँद लागेपछि चिसोमा लोड नधान्ने, गर्मीले तराईमा बढी खपत हुने र पहाडमा मोबाइलसम्म चार्ज नहुनेजस्ता कर्णालीका नागरिकले एक वर्षभित्र मुक्ति पाउने बताइएको छ ।

सुझावित समाचार