७० कारागार र ३१ विमानस्थलको सुरक्षामा खटियो सेना

निर्वाचनमा ७९ हजार ७२७ सैनिक खटिनेछन् फिल्डमा

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

नर्वाचन मिति नजिकिएसँगै देशैभरि सुरक्षाकर्मीको सक्रिय उपस्थिति बढेको छ । आगामी आइतबारदेखि हरेक क्षेत्रमा पूर्ण क्षमतामा सुरक्षाकर्मीको परिचालन हुने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा प्रहरीको सहयोगीको रूपमा खटिने नेपाली सेनाले प्रहरीले सम्हाल्दै आएका विभिन्न निकायको सुरक्षा जिम्मेवारी लिएको छ । हालसम्म ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षामा सेना खटिएको सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिए । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् । 

‘एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना सबै निर्वाचन क्षेत्रमा परिचालन भइसकेको छ,’ सैनिक प्रवक्ता बस्नेतले भने, ‘कारागार, विमानस्थललगायत महत्वपूर्ण संरचनाको सुरक्षामा पनि सेना खटिएको छ ।’ हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गरी सेनाले नियमित गस्ती गर्नेछ । कुनै मतदानस्थलमा प्रहरीले स्थिति नियन्त्रणमा लिन नसक्ने गरी समस्या आएमा तत्कालै परिचालन हुने गरी सेना र सशस्त्र प्रहरीको तैनाथी मिलाइएको गृह मन्त्रालयले जनाएको छ । सामान्यतः मतदानस्थलमा नेपाल प्रहरी र निर्वाचन प्रहरी मात्र खटिनेछन् । 

मतदानसँग सम्बन्धित सामग्री ढुवानीको जिम्मेवारीमा पनि सेना खटिएको सैनिक प्रवक्ता बस्नेतले बताए । कतिपय दुर्गम स्थानमा हेलिकोप्टरमार्फत मतपेटिका, मतपत्रलगायत निर्वाचन सामग्री लैजानुपर्ने अवस्था छ । कतै आकस्मिक रूपमा खटिनुपरेमा नेपाली सेनाले काठमाडौंसहित इटहरी, पोखरा र सुर्खेतमा तयारी अस्थामा हेलिकोप्टर राखिएको नेपाली सेनाले जनाएको छ । निर्वाचनमा ७९ हजार ७२७ सैनिक फिल्डमा खटिनेछन् । 

त्यस्तै, नेपाल प्रहरीका ७५ हजार ४९७, सशस्त्र प्रहरी ३४ हजार ५७६, निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना खटाइने निर्णय भएको छ । सशस्त्र प्रहरी पनि बुधबारदेखि पूर्ण रूपमा सबै निर्वाचन क्षेत्रमा खटिइसकेको छ । सशस्त्र प्रहरीले ५४१ स्ट्राइकिङ तथा एक हजार २५२ मोबाइल टोली खटाएको प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । 

 निर्वाचनमा के–के गर्छ सेनाले ?

  • सेनाले कारागार, विमानस्थल, आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षा दिन्छ । हालसम्म ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षामा खटिएको छ । 
  • हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गरी सेनाले नियमित गस्ती गर्छ । 
  • कुनै मतदानस्थलमा प्रहरीले स्थिति नियन्त्रण लिन नसक्ने गरी समस्या आए तत्कालै सेना परिचालित हुन्छ ।
  • मतदानसँग सम्बन्धित सामग्री ढुवानीको जिम्मेवारीमा पनि सेना खटिएको छ ।

 हेडक्वार्टरबाट थप एक सय डिएसपी र साढे तीन सय इन्स्पेक्टर खटिए 
निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले थप अधिकृतलाई विभिन्न जिल्लामा खटाएको छ । एक सय डिएसपी र साढे तीन सय इन्स्पेक्टरलाई बिहीबारदेखि परिचालन गरिएको छ । 
यसअघि ४४ डिएसपी र ११० इन्स्पेक्टरलाई तराईका जिल्लामा खटाइएको थियो । बिहीबारदेखि खटिन लागेकाहरू धेरैजसोलाई पहाडी र हिमाली जिल्लामा जिम्मेवारी तोकिएको छ । 
प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार यही साताबाट देशैभरि थप मद्दतमा जाने प्रहरी खटिनेछन् । प्रहरी प्रधान कार्यालयसहित उपत्यकामा कार्यरत करिब १३ हजार प्रहरी विभिन्न जिल्लामा खटिनेछन् । 

सहायकरथी राजाराम बस्नेत, प्रवक्ता, नेपाली सेना
एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना सबै निर्वाचन क्षेत्रमा परिचालन भइसकेको छ ।  कारागार, विमानस्थललगायत महŒवपूर्ण संरचनाको सुरक्षामा पनि सेना खटिएको छ ।

सुझावित समाचार