नेपालमा मलेसियाबाट समेत गाँजा तस्करी हुन थालेको छ । मलेसियाबाट ल्याइएको १३ केजी ३३० ग्राम गाँजा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको हो । गाँजा लिन आएका चार भारतीय पनि पक्राउ परेका छन् । सायद सदिक अली, महेश अशोक मोर्जे, मिर्जा नाजिर बैग र मो अजिम पक्राउ परेका हुन् । उनीहरूको साथबाट गाँजा रहेको चारवटा झोला बरामद गरिएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।
पक्राउ परेका भारतीयहरू मंगलबार बेलुका ८ बजे एयर इन्डियाको उडानमा दिल्लीबाट काठमाडौं आएका थिए । मलेसियन एयरलाइन्सको जहाज भने पौने १० बजे अवतरण भएको थियो । लामो समय विमानस्थलको शौचालयमा बसेका उनीहरूले मलेसियन एयरलाइन्सबाट आएको लगेज लिएर निस्किएका थिए । ती लगेज कसले ल्याएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी सिलवालले बताए ।
उनीहरू लामो समय शौचालयमा बसेपछि शंका
लागेर निगरानी गरी प्रहरीले पक्राउ गर्दा झोलामा गाँजा भेटिएको हो । हवाई टिकट र १५ हजार भारतीय रुपैयाँ दिने सर्तमा आफूहरूलाई सो झोला लिन पठाइएको पक्राउ परेकाहरूले बताएका छन् । भन्सारको स्क्रिनिङमा भने झोलाभित्र गाँजा रहेको पत्ता लागेको थिएन । नेपालको विमानस्थलमा थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीयहरू बारम्बार पक्राउ पर्दै आएका छन् । मलेसियाबाट पनि गाँजा आउन थालेको प्रहरीले जनाएको छ । यस्तो गाँजा धेरैजसो भारत पुर्याउने गरिएको छ । उच्च नाफा हुने भएकाले भारतीय गिरोहले थाइल्यान्ड र मलेसियाबाट नेपाल हुँदै गाँजा तस्करी गर्दै आएका छन् ।