सात क्षेत्रका १०२ व्यवसायमा आउने विदेशी लगानीमा अब ‘अटोमेटिक रुट’

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

सरकारले विभिन्न सात व्यावसायिक क्षेत्रमा आउने विदेशी लगानीको स्वीकृतलगायतका प्रक्रियालाई स्वचालित मार्ग (अटोमेटिक रुट)बाट अघि बढाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को अधिकार प्रयोग गरेर विभिन्न सात क्षेत्रका एक सय दुई प्रकार व्यावसायिक गतिविधिमा आउने लगानीको प्रक्रियालाई अटोमेटिक रुटबाट अघि बढाउने निर्णय गरेको हो । 

यससम्बन्धी सूचना बुधबार राजपत्रमा प्रकाशन गरिएको छ । सूचनाअनुसार ऊर्जामूलक उद्योगका चार, कृषि तथा वन पैदावारमा आधारित १३, पूर्वाधार उद्योगका आठ र पर्यटन उद्योगका चार प्रकारका व्यावसायिक गतिविधिमा आउने लगानीलाई स्वचालित मार्गबाट अघि बढाइनेछ । यस्तै, सूचना प्रविधिमा आधारित उद्योगका नौ, सेवामूलक उद्योगका २३ र उत्पादनमूलक उद्योगका ४१ प्रकार व्यावसायिक गतिविधिमा आउने लगानीलाई विदेशीको प्रक्रियालाई पनि स्वचालित मार्गबाट अघि बढाइनेछ ।

यसअघि ५० करोड रुपैयाँसम्मको विदेशी लगानीको स्वीकृति प्रक्रिया स्वचालित मार्गबाट अघि बढाउने गरिएको थियो । त्यसका लािग क्षेत्र तोकिएको थिएन । यसपालि क्षेत्र तोकेर स्वचालित मार्गबाट सेवा दिने व्यवस्था गरिएको हो । स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको अधिकतम सीमा नहुने सूचनामा उल्लेख छ । सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट लगानी स्वीकृति गर्दा न्यूनतम सीमा पनि लागू नहुने बताइएको छ । यसले ऊर्जा उत्पादन, कृषि प्रशोधन, आइटी सेवा, पर्यटन र उत्पादन उद्योगमा लगानी आकर्षित गर्ने मन्त्रालयको भनाइ छ । 

सुझावित समाचार