स्कटल्यान्डलाई पराजित गरेको खेलमा यस्ता छन् नेपालका खेलाडीले बनाएका पाँच रेकर्ड

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालले जित निकाल्यो। मंगलबारको खेलमा नेपालले स्कटल्यान्डलाई सात विकेटले पराजित गर्याे। 

यो जितसँगै नेपाली खेलाडीहरूले विश्वकपमा पाँच नयाँ राष्ट्रिय रेकर्ड बनाएका छन्। 

यो खेलबाट विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी सोमपाल कामी बनेका छन्। नेपालले खेलेका तीनैवटा टी–२० वर्ल्डकप खेलेका उनले विश्वकपमा १० विकेट लिएका छन्। मंगलबारको स्कटल्यान्डविरुद्ध उनले तीन विकेट लिए। उनकै उत्कृष्ट बलिङको मद्दतमा नेपालले स्कटल्यान्डलाई १७० रनमा रोक्न सफल भएको थियो। 

त्यस्तै, पहिलो विकेटका लागि मंगलबारको खेलमा सर्वाधिक साझेदारी बन्यो । कुशल भुर्तेल र आसिफ शेखबिचको ७४ रनको साझेदारी अहिलेसम्मकै उच्च हो। 

त्यस्तै, एउटै इनिङमा धेरै छक्का हान्ने खेलाडीको रेकर्ड कुशल भुर्तेलको नाममा बनेको छ। उनले स्कटल्यान्डविरुद्ध चार छक्का हाने। यसअघि दीपेन्द्रसिंह ऐरीले एकै इनिङमा तीन छक्का हानेका थिए। 
नेपालको चौथो रेकर्ड दीपेन्द्रसिंह ऐरीको नाममा बन्यो। एक इनिङमा बाउन्ड्रीबाट धेरै रन उनले बनाएका छन्। २३ बलमा ५० रन हानेका उनले ३४ रन बाउन्ड्रीबाट बटुलेका हुन्। यसअघि सुवास खकुरेलले ३० रन बनाएका थिए। 

पाँचौँ रेकर्ड पनि ऐरीकै नाममा छ। विश्वकपमा दुईवटा अर्धशतक उनको नाममा छ। यसअघिको विश्वकपमा सुवास खकुरेलले मात्र अर्धशतक बनाएका थिए। 
 

सुझावित समाचार