जेन–जी आन्दोलनमा फरार कैदी तामाको तार चोरी आरोपमा बाराबाट पक्राउ

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते भीमफेदी कारागारबाट फरार बनेका एकजना कैदीलाई बारा प्रहरीले तामाको तार चोरीको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी गाउँपालिका– १ बस्ने २६ वर्षीय विशाल मुखिया रहेका छन्। इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले फरार कैदीको खोजतलास गर्ने क्रममा उनलाई प्रसौनी गाउँपालिका– १ स्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरेको आरोपमा घरबाटै पक्राउ गरेको हो।

प्रहरीका अनुसार मुखिया यसअघि किर्ते तथा डाँका मुद्दामा दोषी ठहर भएका थिए। मकवानपुर जिल्ला अदालतले उनलाई पाँच वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय भुक्तानका लागि उनी भीमफेदी कारागारमा रहेका वेला भदौ २४ गते कारागार तोडी फरार भएका थिए।

पक्राउ परेका मुखियाविरुद्ध चोरी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए। यसअघि नक्खु कारागारबाट फरार भएका बुढानीलकण्ठ हत्या प्रकरणका मुख्य योजनाकार बाबु लामा भनिने हीरालाल मोक्तानलाई बारा प्रहरीले पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार मोक्तानलाई निजगढ नगरपालिका– ३, सिगौलस्थित पिपलटार क्षेत्रबाट पक्राउ गर्न बारा प्रहरी सफल भएको थियो। लामो समयदेखि फरार मोक्तान निजगढ फर्किएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर उनलाई नियन्त्रणमा लिएको थियो।

बारामा फरार कैदीहरू पुनः पक्राउ परेसँगै सुरक्षाका विषयमा पनि थप सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितको भनाइ छ।
 

सुझावित समाचार