नेपालको तार, केबल तथा कन्डक्टर उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेडले भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया (पिजिसिआइएल)बाट उच्च क्षमताको विद्युत् प्रसारणलाइन आपूर्ति गर्न अनुमति प्राप्त गरेको छ । पिजिसिआइएल भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय हो, जसले देशको अन्तरराज्य तथा सीमापार विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्छ । यस स्वीकृतिसँगै लिट्मस इन्डस्ट्रिज सीमापार विद्युत् प्रसारण परियोजनाका लागि चयन हुने एक मात्र नेपाली उत्पादक बनेको छ ।
सम्झौताअनुसार कम्पनीले चार सय केभी एसिएसआर मुस कन्डक्टर दुई हजार सात सय ९९ किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ । यी कन्डक्टर नेपालको डिडिङ–ढल्केबर र भारतको बथनाहा सीमापार प्रसारणलाइन परियोजनामा प्रयोग गरिनेछ । उक्त प्रसारणलाइन नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ । नेपालमै पहिलोपटक चार सय केभी एसिएसआर मुस कन्डक्टर उत्पादन हुन लागेको हो । यसले देशको प्रविधिक तथा औद्योगिक क्षमतामा महत्वपूर्ण उपलब्धि हासिल गर्ने कम्पनीको भनाइ छ । पिजिसिआइएलले लिट्मस इन्डस्ट्रिजको कारखाना मूल्यांकन गरेको थियो । मूल्यांकनपछि कम्पनीलाई परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्न योग्य एक मात्र नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सामेल भएर छनोट हुनु नेपालका लागि गौरवको विषय भएको कम्पनीले जनाएको छ ।
यो स्वीकृतिले कम्पनीलाई विश्वसनीय अन्तर्राष्ट्रिय आपूर्तिकर्ताका रूपमा स्थापित गरेको लिट्मसले जनाएको छ । यसले नेपाली उद्योगको विस्तारका साथै सीमापार ऊर्जा पूर्वाधार विकासमा नेपालको सहभागिता सशक्त बन्दै गएको संकेत दिनेछ । लिट्मस इन्डस्ट्रिज रमेश कर्प समूहअन्तर्गतको उद्योग हो । यसले नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको छ ।