आइसिसी टी–२० विश्वकपमा नेपालले बिहीबार इटलीको सामना गर्दै छ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले स्तब्ध भएको नेपाल दोस्रो खेलमा जित निकाल्ने दाउमा छ। तर, वरीयतामा पछि रहे पनि इटलीलाई पराजित गर्न सहज हुनेछैन। अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिकी मूलका अनुभवी खेलाडीका कारण इटलीले सशक्त प्रदर्शन गर्दै आएको छ।
इटलीको टिममा पाँचजना मात्र त्यहाँ जन्मिएका खेलाडी छन्। अरू १० जना खेलाडी विभिन्न देशमा जन्मिएर ती देशमा क्रिकेट खेलिसकेका खेलाडी टिममा छन्।
त्यसमध्ये एक हुन् जेजे स्मुट्स । जो दक्षिण अफ्रिकाका पूर्वराष्ट्रिय खेलाडी हुन्। ३७ वर्षीय अलराउन्डर स्मुट्सले श्रीमतीका कारण इटलीको पासपोर्ट पाएका हुन्। उनकै कारण इटली स्कटल्यान्डलाई हराएर युरोपबाट विश्वकपमा छनोट भएको हो। उनले यसअघि दक्षिण अफ्रिकाबाट एकदिवसीय र टी–२० इन्टरनेसनलसमेत खेलिसकेका छन्।
टिममा रहेका ह्यारी र बेन मेनेन्टी अस्ट्रेलियाका पूर्वखेलाडी हुन्। यी दाजुभाइले पहिला अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) खेलिसकेका छन्। त्यस्तै, अस्ट्रेलियामै हुर्किएर क्रिकेट खेलेका जस्टिन र एन्थोनी मोस्का दाजुभाइ पनि टिममा छन्।

अस्ट्रेलियामा जन्मिएर इंग्ल्यान्डमा क्रिकेट खेलेका वाइनी म्याडसन टिमको कप्तान छन्। उनले २५३ वटा फर्स्ट क्लास खेल खेलिसकेका छन्।
अलराउन्डर जैन अली पाकिस्तानी मूलका खेलाडी हुन्। त्यस्तै, पाकिस्तानी मूलका हसन अली र सैयद नक्भी पनि टिममा छन्।
लेग स्पिनर क्रिसान कुलुगामेज श्रीलंकन मूलका हुन्। उनी १५ वर्षको उमेरमा इटली पुगेका थिए।
त्यस्तै, विगतमा इंग्ल्यान्डमा खेलेका मार्क्स क्याम्पोपियानो, दक्षिण अफ्रिकामा जन्मिएका जियान पियरो मिडे तथा अस्ट्रेलियामा जन्मिएर इंग्ल्यान्डमा क्रिकेट खेल्दै आएका थोमस डाक्रा इटलीको टिममा छन्।
पहिलोपटक विश्वकप खेलेको इटलीले वार्मअप खेलमा युएईलाई ११२ रनले पराजित गर्दै आफ्नो क्षमता देखाइसकेको छ। यद्यपि, विश्वकपको पहिलो खेलमा भने स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।