नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

आइतबार, २६ माघ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई शुभकामना दिएकी छिन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले मुम्बईको वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय धुन गुञ्जिने र त्यसलाई विश्वले सुन्ने विश्वास व्यक्त गरेकी छन् । ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुञ्जिनेछ र त्यो विश्वले सुन्नेछ,’ उनले लेखेकी छिन्, ‘कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति देखाउनेछ ।’

तेस्रोपटक विश्वकप खेलिरहेको नेपालसँग संसारभर फैलिएका समर्थकहरूको साथ, साथै विगतमा हासिल गरेका चामत्कारिक सफलता नै ठुलो शक्ति भएको प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन् ।

‘इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना । विजयी भवः, अनि धेरै माया पनि,’ उनले सन्देशमा लेखेकी छिन् ।

टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल दिउँसो ३ः१५ बजे मुम्बईको वानखेडे क्रिकेट रंगशालामा इंग्ल्यान्डविरुद्ध खेल्नेछ ।

सुझावित समाचार