कुर्दमाथि अमेरिकी धोकाले बढायो क्षेत्रीय अस्थिरताको जोखिम

आइतबार, १८ माघ, २०८२
डिजिटल संस्करण
  • वासिंटनले सिरियाको संक्रमणकालीन सरकार लोकतान्त्रिक र अल्पसंख्यक अधिकारप्रति प्रतिबद्ध रहेको सुनिश्चित गर्नुपर्छ

सिरियाली सेनाले जनवरीको सुरुमा कुर्द नेतृत्वको सैन्य समूह ‘सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ)’ विरुद्ध सैन्य कारबाही सुरु गर्यो । दमास्कसलाई अमेरिकाको समर्थन र टर्कीको हतियारको साथ थियो । यस सैन्य अभियानमा सुन्नीबहुल सिरियाली फौजलाई साथ दिएर अमेरिकाले आफूहरूलाई धोका दिएको कुर्द समुदायले महसुस गरेको छ । एसडिएफ लामो समय सिरियामा ‘इस्लामिक स्टेट (आइएस)’विरुद्ध अमेरिका तथा पश्चिमको सबैभन्दा प्रभावकारी साझेदार रहेको भए पनि अहिले आएर अमेरिकाले उसको साथ छाडेको छ । 

भीषण लडाइँपछि अहिले सिरियाली सेना र एसडिएफबिच अमेरिकाको मध्यस्थतामा १५ दिनको कमजोर युद्धविराम लागू भएको छ । तर, संयुक्त राष्ट्र संघका अनुसार सिरियाली सेनाको सैन्य कारबाहीका कारण कम्तीमा एक लाख ३४ हजार कुर्दहरू विस्थापित भइसकेका छन् । सिरियाली कुर्दहरू आफूमाथि गत वर्ष देशका अलावाइट र ड्रुज समुदायविरुद्ध भएजस्तै व्यापक दुव्र्यवहार हुने हो कि भन्ने त्रासमा छन् । 

सिरियामा अमेरिकाले भूराजनीतिक आधारमा आफ्नो मित्र फेरबदल गरेको हो । ट्रम्प सरकारले सन् २०२५ मा सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिअनुरूप वासिंटनले मध्यपूर्वमा इरानी प्रभावलाई रोक्ने लक्ष्य लिएको छ । साथमा यस भेगको सुरक्षामा आफ्नो भूमिका घटाउने अमेरिकी योजना छ । डिसेम्बर २०२४ मा टर्की–समर्थित इस्लामिक समूहको गठबन्धनले बसर अल–असदलाई अपदस्थ गरेदेखि नै अमेरिकाले सिरियामा तैनाथ आफ्ना फौज फिर्ता गर्ने तयारी गरिरहेको छ । फौज फिर्तीका लागि अमेरिकाले राष्ट्रपति अहमद अल–सारा नेतृत्वको सरकारलाई उत्कृष्ट विकल्प ठानेको देखिन्छ । 

टर्कीको संरक्षण पाएको र खाडी राज्यको समर्थन पाएको अल–सारा सरकारले यस भेगमा इरानको प्रभाव कम गर्न सक्ने अमेरिकाको विश्वास छ । तर, वर्तमान सिरियाली सरकारप्रति अमेरिकाका दुई मित्रशक्ति इजरायली र टर्कीका प्राथमिकता फरक पर्नाले अमेरिकी रणनीति कार्यान्वयनमा जटिलता आएको छ । इजरायलले राष्ट्रपति अल–साराको अल–कायदा समूहसँगको विगतको आबद्धता र सारा सत्तामा आएसँगै सिरियाली सेनामा विदेशी जिहादी लडाकुलाई समेत समाहित गरिएपछि गम्भीर सुरक्षा खतरा महसुस गरेको छ । यसैले, असदको पतनलगत्तै इजरायलले सिरियाका अधिकांश रणनीतिक सैन्य पूर्वाधार इस्लामवादीका हातमा पर्न नदिन भन्दै आक्रमण गरेर नष्ट गरिदियो ।  

उता टर्कीले लामो समयदेखि सिरियाली कुर्दहरूको स्वायत्तता (सन् २०१२ देखि विशेष प्रभावकारी रूपमा) खतरा मान्दै आएको छ । राजनीतिक र सांस्कृतिक अधिकारका लागि बृहत्तर कुर्द समुदायको दशकौँ लामो संघर्षलाई ध्यानमा राख्दै टर्कीले छिमेकी सिरियाबाट आफ्नो देशभित्रको ठुलो कुर्द समुदायमा प्रभाव पर्ने मान्छ । वासिंटनले दुईथरी दृष्टिकोणमार्फत यो प्रतिद्वन्द्वी स्वार्थलाई सम्बोधन गर्न खोजेको देखिन्छ ।  

पहिलो, अमेरिकाले सिरिया र इजरायललाई सुरक्षा–आर्थिक सम्झौताको वार्तामा बस्न दबाब दियो । यसअनुरूप सिरियाले इजरायली चिन्तालाई सम्बोधन गरे, बदलामा असदको पालामा सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउने र पुनर्निर्माणमा सहायता गर्ने वाचा गरियो । विभिन्न समूहको नियन्त्रणमा विभाजित देशमाथि एकल नियन्त्रण कायम गर्न राष्ट्रपति अल–सारा इजरायलसँग जोडिएको देशको दक्षिणी भेगलाई नि:शस्त्रीकरण गर्न तयार भए । 

दोस्रो, अमेरिकाले टर्कीको चिन्तालाई सम्बोधन गर्न कुर्दहरूलाई नयाँ सिरियाली राज्यमा आफ्नो सैन्य र प्रशासनिक संस्था समाहित गर्न दबाब दियो । यसै दबाबपछि एसडिएफ र दमास्कसले मार्च २०२५ मा एक सम्झौतामा हस्ताक्षर गरे । सम्झौतापछि कुर्दले स्थानीय स्वायत्तता र एसडिएफ फौजलाई समूहगत रूपमा राष्ट्रिय सेनामा समायोजन गर्नुपर्ने माग राख्यो । अंकाराको दबाबमा दमास्कसले कुर्दिस मागलाई अस्वीकार गर्यो, जसले गर्दा गतिरोध उत्पन्न भयो । 

गतिरोध लम्बिरहँदा अमेरिकाको मध्यस्थतामा जनवरी २०२६ को सुरुमा पेरिसमा इजरायल र सिरियाबिचको सुरक्षा–आर्थिक सहमतिको खाका कोर्न एक बैठक भएको थियो । बैठकमा सुरक्षा–आर्थिक सहमतिको एक खाकामा सहमति भएको छ र त्यसलाई छिट्टै अन्तिम रूप दिने भनिएको छ । त्यहाँ सिरियाली सेनाले कुर्द क्षेत्रमा सीमित अप्रेसनको प्रस्ताव राखेको थियो । अमेरिकाले त्यसमा कुनै आपत्ति नभएको जवाफ दियो । त्यसको लगभग तुरुन्तै सिरियाली सेनाले एसडिएफले नियन्त्रणमा लिएको क्षेत्रमा आफ्नो आक्रमण सुरु गरेको थियो । 

अमेरिकाले सिरियामा इरानविरोधी सरकारका लागि कुर्दको साथ परित्याग गर्दा घरेलु र क्षेत्रीय जोखिम बढेको छ । घरेलु रूपमा यसले राष्ट्रपति अल–सारालाई थप बलियो बनाएको छ । यसले उनलाई आगामी दिनमा देशका अन्य अल्पसंख्यक ड्रुज, अलाविट, असिरियनलगायतमाथि थप कठोर हुन प्रोत्साहित गर्न सक्छ । यसले सद्दाम हुसेनको नेतृत्वमा छिमेकी इराकमा बनेजस्तै केन्द्रीकृत राज्य पुनरुत्पादन हुन सक्छ । यसले सिरियामा भविष्यमा गृहयुद्धको जोखिम बढाउनेछ । 

क्षेत्रीय रूपमा यस कदमले छिमेकी इराकलाई अस्थिर बनाउँछ । अक्टोबर २०२५ मा सम्पन्न आम निर्वाचनपछि बनेको इराकी संसद्ले भर्खरै पूर्वप्रधानमन्त्री नुरी अल–मलिकीलाई प्रधानमन्त्री उम्मेद्वार प्रस्ताव गरेको छ । अल–मलिकीले अल–सारा नेतृत्वको सरकारलाई आतंककारीको संज्ञा दिएका छन् । एसडिएफको कब्जामा रहेका क्षेत्रमाथि सिरियाली सेनाले कब्जा गर्ने स्थिति बनेपछि सो भागमा कैदमा रहेका हजारौँ पूर्वआइएस लडाकुलाई इराक सार्न थालिएको छ । यो अभियान खासमा इराकी सरकारको आग्रहपछि अमेरिकी सेनाको निगरानीमा सुरु भएको हो । वासिंटनले सिरियाको संक्रमणकालीन सरकार लोकतान्त्रिक र अल्पसंख्यक अधिकारप्रति प्रतिबद्ध रहेको सुनिश्चित नगर्ने हो भने सिरियामा अल्पसंख्यकमाथि ठुलो दमन हुन सक्छ । 

(मातिन ससेक्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका सहप्राध्यापक हुन्)
द कन्भर्सेसनबाट

सुझावित समाचार