- अन्य देश र त्यहाँका स्रोतमाथि र्याल काढ्ने साम्राज्यवादी महत्वाकांक्षा भएका प्रभावशाली शक्तिहरूले मात्र विधिविनाको विश्व व्यवस्थाबाट लाभ उठाउन सक्छन्
एक वर्षभन्दा बढी समयसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठुलो टापु ग्रिनल्यान्डलाई ‘कब्जा गर्ने’ धम्की दिई रहे । म डेनिस सांसद् र वामपन्थी गठबन्धन एनहेड्सलिस्टेनको विदेश मामिलाकी प्रवक्ता हुँ । डेनमार्कको स्वायत्त क्षेत्र भएपछि ग्रिनल्यान्डमाथि निरन्तर निरन्तर ‘डेनिस शासन’ रहनुपर्ने हाम्रो चिन्ता होइन । ५७ हजार ग्रिनल्यान्डवासीलाई आत्मनिर्णयको स्पष्ट अधिकार छ । हामी आफ्नो भविष्य आफैँ बनाउने र आफ्नो गठबन्धन निर्णय गर्ने उनीहरूको अधिकारलाई अवश्य समर्थन गर्छौं ।
पूर्व–औपनिवेशिक शक्तिको रूपमा डेनमार्कले ग्रिनल्यान्डवासीलाई आफ्नै लोकतन्त्र, दिगो अर्थतन्त्र र राज्यको दृष्टिकोण विकासका लागि सहयोग गर्ने ऐतिहासिक जिम्मेवारीको भार छ । तर, बाह्य आक्रमण र प्रभुत्वविरुद्धमा डेनमार्कले ग्रिनल्यान्डको साथ उभिनुपर्छ । डेनमार्क राज्यको सार्वभौमिकता अन्तरगत पर्ने यो क्षेत्र अहिले जोखिममा छ र ग्रिनल्यान्डका नागरिकको आत्मनिर्णयको अधिकारलाई कमजोर पारिएको छ । ट्रम्प प्यालेस्टिनी, भेनेजुएला वा ग्रिनल्यान्डवासीलाई मुक्त गर्ने बाटोमा छैनन् । बरु उनी स्वार्थ र नियन्त्रणको मार्गमा छन् ।
भेनेजुएलामा ट्रम्पको हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन र राज्य सार्वभौमिकताप्रति उनको पूर्ण अनादरलाई खुलासा गर्यो । यस्ता उल्लंघनप्रतिको मौनताले ट्रम्प वा उनीजस्तै अन्य निरंकुश नेताको अन्य देश जित्ने आकांक्षालाई हौसला प्रदान गर्नेछ । वर्तमान विश्वका धम्की दिनेहरूले चाप्लुसी र तुष्टीकरणको सम्मान गर्दैनन् । ट्रम्प धम्की दिने व्यक्ति हुन् । विधिमा आधारित विश्व व्यवस्था जोगाउन प्रतिबद्ध कुनै पनि राजनीतिक नेताले उनको कदमको विरोध गर्न सक्नुपर्छ ।
काराकसमा जे भयो, त्यो कुनै पनि महाशक्तिको स्व–घोषितको प्रभाव क्षेत्रमा रहेका कुनै पनि राज्यका लागि शुभ संकेत होइन । ट्रम्प, स्पष्ट रूपमा भेनेजुएला र ग्रिनल्यान्ड दुवैलाई आफ्नो ‘करेसाबारी’को अंशको रूपमा हेर्छन् । त्यहाँ उनी हाबी हुन चाहन्छन्, शासन गर्न खोज्दै छन्, किनकि उनी त्यसो गर्न सक्छन् ।
अमेरिकासँग अन्य देश कब्जा गर्ने कुनै वैधता वा अधिकार छैन । भेनेजुएलामा तत्कालीन राष्ट्रपति निकोलस मदुरोको सरकारले गम्भीर आर्थिक संकटको सामाना गरिरहेको र मदुरोले चुनावमा व्यापक धाँधली गरेकै आधारमा ट्रम्पको कारबाहीलाई कुनै पनि रूपमा वैधता दिन सकिँदैन । मदुरोको अपहरणको प्रशंसा र स्वागत गर्नेले अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थालाई अझ कमजोर बनाउन योगदान पुर्याउँछन् । ट्रम्प र अन्य शक्तिशाली व्यक्ति झन् उत्साहित हुन्छन् ।
ट्रम्पको आगमनअघि विधिमा आधारित विश्व व्यवस्थामा कानुनी माध्यमबाट शक्ति नियन्त्रण गर्ने, राज्यहरूको सार्वभौमिकता सुनिश्चित गर्ने र राज्यको दुरुपयोग र उत्पीडनबाट मानिसलाई जोगाउने कुरालाई महत्व दिईन्थ्यो । यदि अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्वका लागि स्थापित यी नियमको रक्षा र सम्मान गरिएन भने शान्ति र स्थिरताका लागि अकल्पनीय परिणामसहित तिनीहरू अप्रासंगिक हुन्छन् । भलै पश्चिमा देशले यो कुरालाई आफ्नो स्वार्थ अनुरुप लागू गरेको नदेखिएको होइन । प्यालेस्टाइनमा इजरायलको उपनिवेशीकरण र नरसंहार यसको स्पष्ट उदाहरण हो ।
वासिंटनको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिमा स्पष्ट रूपमा भनिएको छ कि संयुक्त राज्य अमेरिकालाई विश्वमा र विशेषगरी पश्चिमी गोलार्धमा आफ्नो अत्यधिक राजनीतिक, आर्थिक र सैन्य शक्ति स्थापित गर्ने अधिकार छ । जनवरी ३ मा आफ्नो निवास मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले गर्वका साथ ‘डोनरो सिद्धान्त’ उल्लेख गरे । त्यहाँ उनले अमेरिकी प्रभुत्वलाई जोगाउने उद्देश्यले विदेश नीति कार्यन्वयन गरिने रूपरेखा प्रस्तुत गरे । यसबाट हामी र ग्रिनल्यान्डवासीमा त्रास बढेको छ ।
अन्य देश र त्यहाँका स्रोतमाथि र्याल काट्ने साम्राज्यवादी महत्वाकांक्षा भएका प्रभावशाली र निरंकुश शक्तिहरूले मात्र नयाँ विश्व व्यवस्थाबाट लाभ उठाउन सक्छन् । ती शक्तिलाई आफू कति शक्तिशाली छु भनेर देखाउन पनि थप भूमि अतिक्रमण गर्न आवश्यक पर्छ । तिनीहरूले अन्य देश र तिनीहरूका प्राकृतिक स्रोत बलपूर्वक लिन्छन्, किनभने तिनीहरूले त्यो गर्न सक्छन् र हामीले तिनीहरूलाई अनुमति पनि दिन्छौँ ।
जंगलराजमा ‘शक्ति सही हुन्छ’ र परिणाम अराजकता मात्र हुन्छ । त्यस्तो अवस्थामा साना र मध्यम आकारका देशका सबै मानिसले बढ्दो असुरक्षाको सामना गर्छन् । पूर्वडेनिस उपनिवेश ग्रिनल्यान्ड आज एक लोकतान्त्रिक निकाय हो । त्यहाँ सरकार र संसद् (इनात्सिसारटुट)को रूपमा पूर्ण रूपमा वैध राजनीतिक नेतृत्व छ । ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले बारम्बार उनको सरकार र बहुमत ग्रिनल्यान्डवासी अमेरिकाको भाग बन्न नचाहने जोड दिन्छन् ।
जनवरी १३ मा कोपेनहेगनमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘यदि हामीले अहिले र यहाँ संयुक्त राज्य अमेरिका र डेनमार्कमध्ये एक छनोट गर्नुपर्यो भने हामी डेनमार्क रोज्छौँ ।’ यो बुझ्न सकिने कुरा हो, किनकि अमेरिकामा डेनमार्कमा जस्तो विश्वव्यापी स्वास्थ्य सेवा प्रणाली छैन । न त नि:शुल्क उच्च शिक्षाको व्यवस्था नै छ । नि:सन्देह, ग्रिनल्यान्डवासीले आदिवासी अमेरिकीको अधिकार र मर्यादाको सन्दर्भमा निराशाजनक रेकर्डलाई पनि ध्यान दिएका हुन सक्छन् । तथापि यस जनमतका बावजुद भविष्यमा ट्रम्पलाई सैन्य, राजनीतिक र आर्थिक धम्की र क्रूर जबर्जस्तीको संयोजनमार्फत ग्रिनल्यान्ड ‘प्राप्त’ गर्नबाट रोक्न सक्दैन । युरोप र ग्रिनल्यान्डको सुरक्षा अवस्था त्यो बिन्दुभन्दा धेरै टाढा पुगिसकेको छ, जहाँ सावधानीपूर्वक हिँड्नु वा ट्रम्पलाई चाप्लुसी गर्ने प्रयास गर्नु अर्थपूर्ण हुन्छ । त्यसैले डेनमार्कलगायत अन्य नोर्डिक देशहरू, युरोप र विधिमा आधारित विश्व व्यवस्था मान्ने कुनै पनि देशहरूले आफ्नो दृष्टिकोण बदल्दै अमेरिकाबाट रणनीतिक स्वायत्तता वा स्वतन्त्रताको आवश्यकतामा चिन्तन मनन गर्न थाल्नुपर्छ ।
हाम्रो पार्टीले युरोप र विश्वभरका सबै प्रगतिशील शक्तिलाई आत्मनिर्णयको अधिकारका लागि र अमेरिका र अन्य प्रमुख शक्तिको संसारलाई पुनर्गठन गर्ने साम्राज्यवादी र नवऔपनिवेशिक महत्वाकांक्षाको विरुद्धको संयुक्त संघर्षमा एकताबद्ध र परिचालन हुन आह्वान गरेको छ । हामीले विश्वभरका राजनीतिज्ञलाई संयुक्त राज्य अमेरिकाप्रति तुष्टीकरण र सहमतिबाट टाढा जान र अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र र आत्मनिर्णयको अधिकारमा निरन्तर जोड दिन दबाब दिनु आवश्यक छ । यो हाम्रो समयको संघर्ष हो ।
माच डेनिस संसद्का सदस्य हुन्
अलजजिराबाट