रामेछापको उच्च लेकाली भूभागमा यस वर्ष पहिलोपटक बुधबार हिमपात भएको छ । हिमपात भएसँगै स्थानीयहरू हर्षित भएका छन् । उच्च लेकाली भूभागमा पर्ने जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्र र उमाकुण्ड गाउँपालिकाको लाहाछेवरलगायतका क्षेत्रमा हिमपात भएको छ । विगत वर्षहरूमा मंसिर, पुसमा हुने हिमपात यस वर्ष माघ महिनाको दोस्राे हप्तामा पहिलोपटक भएको हो । ‘यस वर्ष हिउँदको हिउँ नै नपरी जान्छ कि जस्तो भएको थियो, तर ढिलै भए पनि हिमपात भयो,’ दोरम्बा शैलुङ गाउँपालिका– १ का जनक लामाले बताए ।
हिउँ परेसँगै लेकाली भूभागका किसानहरू हर्षित भएका छन् । हिउँले खाएको माटो बढी मलिलो हुने र जमिनमा ओस प्रशस्त पुग्ने भएकाले किसानहरूले लगाएको अन्नबाली तथा हिउँदे तरकारीहरू उत्पादनमा वृद्धि हुने उमाकुण्ड गाउँपालिका– ४ की लक्ष्मी तामाङले बताइन् । उनले भनिन्, ‘लेकाली भूभागमा परेको हिउँले तलका स्थानमा पानीको मूलसमेत फुट्ने गर्दछ । जसले गर्दा माथिल्लो क्षेत्र र तल्लो भूभागमा समेत फाइदा पुग्ने गर्छ।’
जिल्लाको माथिल्लो भेगमा बढी मात्रामा आलु, गहुँ, उवा तथा गेडागुडी, अन्य तरकारी बालीहरू प्रस्तस्त मात्रामा हुने गर्दछ । हिउँदको समयमा लेकाली भूभागमा हिउँ नपर्दा आलु तथा अन्य तरकारी बालीहरू उत्पादनमा गिरावट आउने भएकाले किसान हिउँ पर्ने आशामा बस्ने गरेका छन् । हिउँ परेसँगै किसानको मुहारमा खुसी छाउने गरेको छ ।