- लगातार तीन खेल गुमाएको मनाङ मर्स्याङ्दी क्लबले चौथो खेलमा तीन अंक बटुल्ने क्रममा सोमबार काँक्रेविहार युवालाई ५–१ ले हरायो
मनाङ मर्स्याङदी क्लबले राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मनाङले सुर्खेतको काँक्रेविहार युवा क्लबलाई ५–१ को फराकिलोअन्तरले हराउँदै चार खेलमा स्पष्ट तीन अंक जोडेको हो । आठपटकको सहिद स्माकर ‘ए’ लिग विजेता मनाङ यसअघि लगातार तीन खेलमा पराजित भएको थियो । मनाङले २०७९ को ‘ए’ डिभिजन लिगपछि घरेलु फुटबलमा फर्किएको हो ।
व्यवस्थापन कमजोरी हुँदा मनाङले पछिल्लो दुई वर्ष मोसफलमा आयोजना हुने गोल्डकपमा सहभागिता जनाएन । यसपटक राष्ट्रिय लिगमा फर्किँदा मनाङले उत्कृष्ट सुरुवात गर्न सकेन । लगातार तीन खेल अंकविहीन भएको मनाङले आफ्नो चौथो खेलमा भने काँक्रेविहारमाथि उत्कृष्ट प्रदर्शन गर्यो । मनाङका लागि गिडेओन नाहले दुई गोल गरेका थिए । सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङका नाममा समान एक गोल रहे । काँक्रेविहारका लागि सन्दीप देउवाले एक गोल फर्काएका थिए । उसको योे लगातार चौथो हार हो ।
फराकिलो जितसँगै मनाङ १३औँ स्थानमा उक्लिएको छ । चार हार सामना गरेको काँक्रेविहार अंकविहीन अवस्थामा पुछारमा छ । राष्ट्रिय लिगमा १७ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतिस्पर्धामा मनाङले खेलको १६औँ मिनेटमा १–० को अग्रता लियो । सुरेशले मनाङलाई अग्रता दिलाएका हुन् । खेलको २१औँ मिनेटमा सन्दीप देउवाले काँक्रेविहारका लागि १–१ को बराबरी गोल फर्काए । देउवाको गोलसँगै खेल प्रतिस्पर्धात्मक बन्ने देखिएको थियो ।
बराबरीको अवस्थाबाट मनाङले खेलमा सुधार गर्यो । काँक्रेविहारलाई थप गोल अवसर मनाङले प्रदान गरेन । लगभग एकपक्षीय रूपमै मनाङले लगातार गोल गर्यो । अनिल कुमालले खेलको २५औँ मिनेटमा मनाङलाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा मनाङ २–१ ले नै अघि रह्यो । दोस्रो हाफमा विदेशी खेलाडी गिडेओनले दुई गोल र नवराजले एक गोल गर्दा मनाङको सहज जित भयो । खेलको ५४औँ र ८५औँ मिनेटमा गिडेओनले गोल गरे ।
पुलिसले तीन अंक बटुल्यो
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा पुलिसले श्री भगवती क्लबमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा एक मात्र निर्णायक गोल आत्मघातीका रूपमा रह्यो । खेलको ३७औँ मिनेटमा श्री भगवतीका सेन्टरब्याक पेटर सेगुनको आत्मघाती गोल पुलिसले खेलमा तीन अंक बटुलेको हो । पुलिसले चौथो खेलमा आएर जित निकालेको हो । यसअघि पुलिसले दुई हार र एक बराबरी खेलेको थियो । श्री भगवतीको यो दोस्रो हार हो ।
अदालतको आदेश र खेलकुद परिषद्को निर्देशनविपरीत एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारहरूको मनोनयनसमेत दर्ता भएको थियो । हालका अध्यक्ष पंकजविक्रम नेम्बाङ र उपाध्यक्ष दीर्घबहादुर केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रने तयारी छ ।