रवि लामिछाने र बालेनलाई प्रकाश सपूतको आग्रह–अब जनतालाई निराश बनाउने छुट तपाईंहरूलाई छैन

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

गायक प्रकाश सपूतले नेता र निर्वाचनप्रति जनताको विश्वास उडिसकेकाले अब उनीहरूलाई निरास नबनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई आग्रह गरेका छन्। रास्वपाको समानुपातिक उम्मेदवार रहेका सपूतले विचारको भारी नभई सुधार, विकास र समृद्धिको जिम्मेवारी बोक्नु आग्रह गरेका छन्। 

उनले फेसबुकमा लेखेका छन्–  

प्रिय  शुभेच्छुक, 
आदरणीय मतदाता, 
आजको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनैतिक व्यवस्था र नयाँ संविधान ल्याउन योगदान दिने सम्पुर्ण शहिद, सबै सबै  राजनैतिक दल र अग्रज नेताहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्दता सहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने÷सहयोग गर्ने निधो गरेको छु । 
सभापति रवि लामिछाने ज्यू, 
प्रिय बालेन, 
मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर तपाईहरुसंग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ । कुनै एउटा दलमा लागेको भनेर  अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ । 

म भर्खरै मेला महोत्सव मार्फत् नेपालभरिका लाखौ नेपालीजनहरु माझ प्रत्यक्ष पुगेर फÞर्किएको छु । हामीले सामाजिक सञ्जालमा देखे जस्तो उनीहरु उग्र र उत्तेजित छैनन्, बरु शान्त छन तर, निरास छन् । नेता र निर्वाचन प्रति उनीहरुको विश्वास उडिसकेको छ  । यद्यपि तपाईहरुको उदय संगै मैले जस्तै अब ‘अन्तिम पटक’ कसैलाई विश्वास गर्दैछन् । मैले देखे उत्साहित छन् तर  ढुक्क  छैनन्  !  थुप्रै प्रश्न र डर सहित केबल आशावादी छन्  । “ जो आए पनि सबै उस्तै हुन “ भन्ने मनोविज्ञान छ । तपाईहरु किन ’सबै उस्तै’ मध्य होईन ? किन फरक हो ? किन आउनुभयो ? बुझाउनु पर्ने छ । राजनीतिको आडमा केहि व्यक्ति र शक्तिले बन्धक बनाएको यति सुन्दर व्यवस्थालाई फुकुवा गरेर यो देश, यो व्यवस्था हामी सबैको हो भन्ने अनुभुती गराउनु पर्ने छ । अब विचारको भारी होईन सुधार, विकास र समृद्धिको जिम्मेवारी बोक्नु पर्ने छ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको  शुरुवात मात्रै भए पनि हुनेछ । र, म त्यो सुधार र समृद्धिको यात्रामा तपाईहरुलाई खबरदारी गर्दै साथी र साक्षी हुन आएको छु । 

फेरी दोहोर्याउछु, 
अब ‘अन्तिम पटक’ म र म जस्तै आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई  विश्वास गर्दैछन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु । अब तपाईहरुलाई  निराश बनाउने छुट छैन । 
 

सुझावित समाचार