- बाँकी विश्वले युरोपलाई शक्तिका रूपमा हेर्दा पनि युरोपेली नेता भने समूहको सबलतालाई नै कमजोरी ठान्ने गल्ती गरिरहेका छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उनका उपराष्ट्रपति जेडी भान्स र ट्रम्प नेतृत्वको ‘मागा’ अभियन्ताले युरोपेली संघ पतनोन्मुख भएको भ्रम फैलाइरहेका छन् । तर, यो मात्र भ्रम हो, यथार्थ होइन । यथार्थमा युरोपेली आयोग (इयू) परियोजना यसका संस्थापकले गरेका सबैभन्दा आशावादी अपेक्षाभन्दा पनि धेरै हिसाबमा अझ सफल साबित भएको छ ।
आधुनिक इतिहासमा पहिलोपटक युरोपले एकल राजनीतिक शक्तिको पहिचान बनाएको छ । अब यो सार्वभौम राज्यहरूको खुकुलो समूह वा साझा बजार मात्र रहेन । जबकि सन् १९८९ मा बर्लिन पर्खाल ढलेपछि वा सन् २००० को दशकको सुरुमा इयूको पूर्वी विस्तार हुँदासम्म पनि त्यस्तो लाग्दैनथ्यो । विगत तीन दशकको अवधिमा युरोपले एउटा बलियो राजनीतिक र नियामक व्यवस्थालाई आकार दिएको छ ।
अहिले कुनै बाह्य शक्तिले इयूमा रहेका २७ सदस्य राष्ट्रका राष्ट्रिय सरकारसँग व्यवहार गरे पनि इयूसँग फेरि अलग सम्बन्ध बनाउनैपर्ने भएको छ । अर्थात्, विदेशी शक्तिका लागि इयू एउटा अलग एकल शक्ति बनेको छ । अहिले विश्व शक्तिले युरोपप्रति अपनाउने नीति र व्यवहारले पनि यसैलाई इंगित गर्छ । उदाहरणका लागि ट्रम्प सरकारले अंगिकार गरेको नयाँ ‘राष्ट्रिय सुरक्षा रणनीति (एनएसएस)’ले इयूका सदस्य राष्ट्रमाथि ध्यान केन्द्रित नगरी समग्र ‘युरोप’लाई गिर्दो शक्ति भनेको छ । त्यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथिको युद्धलाई जायज ठहर्याउन इयू (अझ विशेषगरी नेटो) को विस्तारलाई औँल्याउँछन् । त्यस्तै, चीनले युरोपलाई एउटा प्रतिद्वन्द्वी नियामक शक्तिका रूपमा हेर्छ ।
इयूले आफूलाई अझ भूराजनीतिक अभिनेताभन्दा अगाडि बढेर आर्थिक र राजनीतिक जीवन व्यवस्थित गर्ने प्रतिस्पर्धी मोडलका रूपमा विकास गरेको छ । यसै कारण स्वयं युरोपेली नीति–निर्मातासमेत विगतमा ओझेल परेको एक आधारभूत प्रश्नको सामना गर्न बाध्य छन्– के इयू केवल एक समन्वय संयन्त्र मात्र हो या साझा नियति भएको राजनीतिक समुदाय ? यसको जवाफ युरोपले भन्दा पहिल्यै विश्वले दिइसकेको छ । युरोपेलीले आफैँ स्विकारून् वा नस्विकारून्, युरोप एक राजनीतिक समुदायमा बदलिइसकेको छ । भलै यो पहिचान स्वत: निर्माण भएको होइन र यो स्वत: टिक्ने ग्यारेन्टी पनि छैन । अर्थात्, इयूको भविष्य युरोपेली आयोगले आफ्नो विशिष्ट आर्थिक मोडेल जोगाउन सक्छ कि सक्दैन भन्नेमा निर्भर छ ।
अमेरिकी पुँजीवादले गति, आकार र सञ्चयमा जोड दिन्छ भने चिनियाँ अधिनायकवादले बजार र राजनीतिक अधिकारलाई केन्द्रीकृत राज्य नियन्त्रणको अधीनमा राख्ने कुरामा विश्वास गर्छ । ती दुईभन्दा भिन्न युरोपको ‘सामाजिक–बजार अर्थतन्त्र’ले लोकतन्त्र, सामाजिक सुरक्षा र कानुनको शासनलाई आर्थिक जीवनको केन्द्रमा राखेको छ । यस दृष्टिकोणबाट हेर्दा इयूप्रति ट्रम्प प्रशासनको शत्रुता कुनै निश्चित नियमप्रति मात्र होइन, भन्ने स्पष्ट हुन्छ । खासमा ट्रम्पको विरोध इयूले बोकेको प्रणालीप्रति हो, जहाँ श्रमिकले सामूहिक निर्णय प्रक्रियामार्फत आफ्नो आवाज उठाउन सक्छन् । जहाँ सबैलाई स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गरिएको छ । जहाँ एकाधिकारविरोधी कानुनले राजनीतिक पहुँच प्रयोग गरी प्रतिस्पर्धालाई कमजोर बनाउने फर्ममाथि डन्डा चलाउँछ ।
र, यस आर्थिक मोडेललाई इयूको विशाल आकारले पनि सम्भव बनाएको हो । इयूको एकीकृत नियामक ढाँचाभित्र अहिले ४५ करोड उपभोक्ता जोडिएका छन्, जुन विश्वको सबैभन्दा ठुलो एकल बजारमध्ये एक हो । यस बजारमाथि पहुँच हासिल गर्न चाहने बहुराष्ट्रिय फर्मले युरोपेली नियम पालना नगरी धरै छैन । यसले इयूलाई विश्वव्यापी प्रतिस्पर्धाको सर्तलाई आकार दिने शक्ति प्रदान गरेको छ ।
दशकौँदेखि आलोचकले युरोपको सामाजिक मोडल दिगो नभएको बताउँदै आएका छन् । यसको नियामक शासन आर्थिक रूपमा आत्मघाती र बजारमाथिको लोकतान्त्रिक अवरोध मूर्खतापूर्ण रहेको तिनको दाबी छ । तर, आलोचकको दाबीविपरीत यस मोडेलले स्थिरता, समृद्धि र विश्वव्यापी प्रभाव प्रदान गरेको छ । तथ्यांकले इयू आर्थिक उत्पादकत्वमा अमेरिकाको हाराहारी र जीवनको गुणस्तरमा अझ अगाडि रहेको देखाउँछ । यस्तोमा समूहमा संस्थागत क्षमताको अभाव छैन, बरु यसको मोडेलको रक्षा गर्ने र युरोपेली एकीकरण प्रक्रिया पूरा गर्ने राजनीतिक इच्छाशक्तिको अभाव छ ।
निश्चित रूपमा युरोपले गम्भीर चुनौती सामना नगरेको होइन । तर, जे–जति कमजोरी छन्, ती इयूको सामाजिक र नियामक मोडलका उपज होइनन् । यदि यो एकता भत्कियो भने ती अझ खराब बन्नेछन् । दुर्भाग्यवश, युरोपेली नेताले इयूको आर्थिक र नियामक मोडेलको अन्तर्राष्ट्रिय प्रतिरोधलाई यसको असफलता मान्ने गल्ती गरेका छन् । ती नेता पनि इयूको तुलनात्मक ह्रास र घट्दो औद्योगीकरण यही अति–नियमनको उपज बताउँदै नियमन घटाए सबै समस्या अन्त्य हुने सुझाव दिन थालेका छन् ।
युरोपले सीधा अमेरिका वा चीनको नक्कल गर्न सक्दैन । किनकि, योसँग न त अमेरिकाको जस्तो वित्तीय र सैन्य प्रभुत्व छ, न त यहाँ चीनमा जस्तो श्रम र पुँजीमाथि केन्द्रीकृत नियन्त्रण नै कायम छ । र, इयूलाई अमेरिकी अति पुँजीवाद वा चिनियाँ राज्य नियन्त्रणको सानो संस्करण बन्नु नै किन परेको छ र ? प्रतिद्वन्द्वी साम्राज्यको विकास भइरहेको आजको विश्वमा युरोपले बोकेको मोडेल नै यसको सबैभन्दा ठुलो शक्ति हो ।
(अलेमानो ‘एइसी पेरिस’मा युरोपेली संघ कानुनका प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट