अमेरिकी जनसंख्या संकटलाई कसरी सम्बोधन गर्ने ?

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको घट्दो जन्मदर र देशको वृद्ध जनसंख्याबारे आफू चिन्तित रहेको बताउँदै आएका छन् । उनको प्रशासनले २०२५ को सुरुमा जन्मदर बढाउने उद्देश्यले धेरै नीति पारित गरेको थियो, जसमा ‘इन भिट्रो फर्टिलाइजेसन’ (आइभिएफ) को पहुँच विस्तार गर्ने कार्यकारी आदेश र राष्ट्रिय औसतभन्दा बढी विवाह र जन्मदर भएका समुदाय’लाई प्राथमिकता दिन यातायात विभागको निर्देशनलगायत समावेश छन् ।यद्यपि, हालैको एक रिपोर्टले अमेरिकी जन्मदरमा वित्तीय र अन्य प्रकारका अनिश्चितताले बाधा पुर्याइरहेको कुरा प्रकाश पारेपछि विज्ञहरूले जनसंख्या संकटबारे प्रशासनले थप के गर्नुपर्छ भन्नेबारे विचार गरेका छन् ।

 किन यो महत्वपूर्ण छ ?
घट्दो जन्मदर, जसले गर्दा वृद्ध जनसंख्या बढ्दै जान्छ । यसले धेरै आर्थिक चुनौती खडा गर्न सक्छ, जस्तै– सामाजिक सुरक्षा र चिकित्सा सेवामा बढी दबाब ल्याउँछ । यद्यपि, यसले राष्ट्रव्यापी शिक्षास्तरमा वृद्धि र गरिबी दरमा गिरावट पनि ल्याउन सक्छ । घट्दो जन्मदर र वृद्ध जनसंख्याले स्वास्थ्य सेवा प्रणालीमा पनि दबाब दिन सक्छ । त्यही भएर केहीले घट्दो जन्मदरलाई अमेरिकामा गम्भीर चिन्ताका रूपमा हेर्छन् ।

घट्दो जन्मदरले वृद्ध जनसंख्या बढ्दै जाँदा सामाजिक सुरक्षा तथा चिकित्सा सेवामा बढी दबाब ल्याउँछ

तथापि, यो केवल अमेरिकाका लागि मात्र चिन्ताको विषय होइन, किनकि राष्ट्रिय आर्थिक अनुसन्धान ब्युरोअनुसार जन्मदर १९७० को दशकदेखि विश्वव्यापी रूपमै घट्दै गएको छ । साथै, कतिपयले घट्दो जन्मदरले आर्थिक दृष्टिकोणबाट देशका लागि समस्या खडा गर्छ भन्छन् भने केहीले घट्दो जन्मदरलाई ‘समस्या’ भन्नु आफैँमा समस्याग्रस्त भएको चेतावनी दिन्छन्, किनकि विश्वव्यापी रूपमा जन्मदरमा गिरावट आउनुको पछाडि एउटा महत्वपूर्ण कारक ‘महिला स्वायत्तता’मा वृद्धि हो । धेरैभन्दा धेरै महिलाले आफ्नो करियरमा ध्यान केन्द्रित गर्न खोजिरहेका छन्, यसको अर्थ उनीहरूले बच्चा जन्माइरहेका छैनन्, किनभने कतिपयले ‘पुरुष र महिलाको इच्छाबिचको बेमेल’लाई वर्णन गर्छन् । महिलाले आफ्नो काम गर्ने समयमा बच्चा जन्माउन सम्झौता गर्छन् भन्ने विचार सर्वव्यापी पाइन्छ ।

 वित्तीय अनिश्चितताको प्रभाव
डिसेम्बर १८, २०२५ मा प्रकाशित जनसंख्या तथ्यांक संकलन र विश्लेषण गर्ने गैरनाफामुखी संस्था, जनसंख्या सन्दर्भ ब्युरो (पिआरबी) को एक प्रतिवेदनले ‘बच्चा जन्माउने निर्णय अनिश्चितता, तनाव र भविष्यको धारणाले ठुलो मात्रामा आकार लिने’ कुरालाई प्रकाश पारेको छ ।यस तस्बिरको एउटा ठुलो हिस्सा आर्थिक अनिश्चितता हो । ‘मानिसले घर किन्न सक्लान् वा नसक्लान्, उनीहरूले लाभसहितको राम्रो जागिर पाउलान् कि नपाउलान्, उनीहरूले स्वास्थ्य सेवामा पहुँच पाउन सक्लान् कि नसक्लान्, किराना सामान र अन्य आवश्यकताको मूल्य बढ्ला कि घट्ला’लगायत चिन्ता अमेरिकीलाई छ, समाजशास्त्रकी प्राध्यापक र च्यापल हिलस्थित उत्तरी क्यारोलिना विश्वविद्यालयको क्यारोलिना जनसंख्या केन्द्रकी निर्देशक करेन गुज्जो भन्छिन् । यो अप्रत्याशितता विशेषगरी युवाले महसुस गर्छन् । उनी भन्छिन्, ‘वयस्कहरूले आमाबाबु र हजुरबा, हजुरआमाको मार्ग पछ्याउने जीवनको योजना बनाउने प्रयास गरिरहेका छन् ।’यसका साथै विवाह र बच्चा जन्माउने काम ‘कम अनिवार्य’ हुँदै जाँदा ‘मानिसले राम्रो जागिर र स्थिर आम्दानी नभएसम्म र त्यस्तै जीवनसाथी नभेटेसम्म विवाह गर्नुहुँदैन’ भन्ने धारणा सामान्य बन्दै गएको छ ।

यी सामाजिक दबाबसँगै, ‘अमेरिकी पुरुषको ज्याला स्थिर भएको छ, जबकि कार्यबलमा महिलाका लागि अवसर विस्तार भएका छन् । यी दुवै माध्यमले प्रजनन क्षमता घटाउँछन् ।’ नर्थइस्टर्न विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक मिन्डी माक्र्सले न्युजविकलाई बताइन् । ‘मेडिकेड’ र ‘सप्लिमेन्टल न्युट्रिसन असिस्टन्स प्रोग्राम’ (एसएनएपी) जस्ता महतवपूर्ण कार्यक्रममा हालै गरिएका कटौती र परिवर्तनले पनि अभिभावक बन्ने निर्णयमा जोखिम थप्छन् ।

अर्को हालैको कारक कोभिड–१९ महामारी पनि थियो, किनकि यसले केही मानिसलाई बच्चा जन्माउन पछि सारेको थियो । ‘ती मानिस अझै पनि महामारीको समयमा नभएका जन्मको अनुसरण गरिरहेका हुन सक्छन्,’ ओहायो स्टेट युनिभर्सिटीको जनसंख्या अनुसन्धान संस्थानकी निर्देशक सारा हेफोर्ड भन्छिन् । तर, धेरैजसो भागमा महामारीको समयमा सुरुमा तीव्र गिरावट आएपछि जन्मदर महामारीअघिको प्रवृत्तिमा फर्किएको छ ।

 विश्वव्यापी जन्मदरमा गिरावट
विगत एक वर्षमा अमेरिकाको जन्मदर विशेष रूपमा केन्द्रित भए पनि १९७० को दशकदेखि विश्वभर जन्मदर घट्दै गएको छ । ‘विश्वभरका दुईतिहाइ मानिस अहिले दुई वर्षभन्दा कम जन्मदर भएको देशमा बस्छन्, जसमा भारत र ल्याटिन अमेरिकाजस्ता धेरै कम आय भएका देश पनि समावेश छन्,’ टेक्सास विश्वविद्यालयको अर्थशास्त्र र जनसंख्या अनुसन्धान केन्द्र विभागका प्राध्यापक डिन स्पियर्स भन्छन् ।
न्युजविकबाट
 

सुझावित समाचार