आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ। निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी ढंगले सम्पन्न गराउने उद्देश्यका साथ निर्वाचन आयोगले सम्बन्धित कार्यालयहरू स्थापना गरेको हो।
बारा निर्वाचन क्षेत्र नम्बर ३ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कलैयामा रहेको जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ। सो कार्यालयको उद्घाटन बारा जिल्ला अदालतका जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीले गरेका हुन्। निर्वाचन आयोगका अनुसार अधिकारीलाई बारा जिल्लाको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय कोल्हवी नगरपालिकाको भवनमा, क्षेत्र नम्बर २ को कार्यालय महागढीमाई नगरपालिकाको भवनमा तथा क्षेत्र नम्बर ४ को कार्यालय राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम कार्यालय, जितपुरमा सञ्चालनमा ल्याइएको छ।
जिल्ला निर्वाचन कार्यालय बाराका जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवार मनोनयन, मतदान व्यवस्थापन र मतगणनालगायत सम्पूर्ण निर्वाचन प्रक्रिया सञ्चालन गरिने जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन समारोहमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
चार निर्वाचन क्षेत्र रहेको बारा जिल्लामा चार लाख ६५ हजार ७८४ मतदाता रहेका छन्। निर्वाचन आयोगको तालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लामा प्रशासनिक तयारीसँगै राजनीतिक चहलपहलसमेत बढ्दै गएको छ।