विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले पूर्वउपसभापति पूर्णबहादुर खड्काको आन्दोलनको चेतावनीप्रति दुःख व्यक्त गरेका छन्। निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका शर्माले कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचन आयोगप्रति भरोसा रहेको प्रस्ट पारेका हुन्।
‘केहीबेर अघि पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने देशभर आन्दोलन गर्छौँ भन्ने प्रकृतिको अभिव्यक्तिमा दुःख लागेको छ। किनभने निर्वाचन आयोगले विधिसम्मत ढंगले नै निर्णय गर्छ। विधिमा विश्वास गर्ने नेपाली कांग्रेस पार्टीले त्यसप्रति भरोसा गर्दछ,’ उनले भने।
सानेपामा शेरबहादुर देउवा पक्षको पत्रकार सम्मेलनमा खड्काले आयोगले अन्यथा निर्णय गरे गाउँगाउँबाट आन्दोलन गर्ने चेतावनी दिएका थिए।
विशेष महाधिवेशनलाई भुइँतहका प्रतिनिधिहरूको सार्थक, वैधानिक र लोकतान्त्रिक प्रक्रिया भन्दै शर्माले थपे, ‘अहिले भएको प्रक्रियालाई नै लोकतन्त्रमाथिको षड्यन्त्रको संज्ञा दिएको सुन्दा यसमा दुःख व्यक्त गर्नैपर्छ।’
दल विभाजन नभएको प्रस्ट पार्दै उनले यो विवादमा दल विभाजनसँग सम्बन्धित कुनै पनि दफा आकर्षित नहुने दाबी गरे।