सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभाबाट गत आवको लाभांश पारित गरिएको छ । कम्पनीको १८औँ वार्षिक साधारणसभाले १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ ।
साथै, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक वर्ष ०८१/८२ मा भएको खर्चलाई अनुमोदन गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईको सभापतित्वमा भएको सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उपप्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, सेयरधनीलगायतधको उपस्थिति थियो ।
सभाले कम्पनीको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीबारे छलफल गरी सर्वसम्मतिले पारित पनि गरेको छ । अध्यक्ष भट्टराईले कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवालगायत डिजिटल रूपान्तरणमा ध्यानकेन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।