फुटका कारक बने देउवा

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

राजनीतिक र व्यक्तिगत जीवनको उत्तरार्द्धमा रहेका शेरबहादुर देउवा दोस्रोपटक पार्टी विभाजनको पनि मुख्य केन्द्र बने, प्रधानमन्त्री बन्ने लालसाले लाग्यो अर्को ‘कलंकको टीका’

आठ दशकको इतिहास बोकेको कांग्रेस तेस्रोपटक विभाजन भएको छ । दुईपटक विभाजन हुँदा शेरबहादुर देउवा नै प्रमुख कारक देखिएका छन् । पहिलोपटक कांग्रेस मातृकाप्रसाद कोइरालाका कारण विभाजित भएको थियो ।

सधैँ सत्ता र शक्तिको महत्वाकांक्षामा रमाउने देउवा प्रवृत्तिकै कारण कांग्रेस पटकपटक विभाजन हुने गरेको छ । पाँचपटकसम्म प्रधानमन्त्री बनेका देउवा सधैँ विवादमा परे । लोकतन्त्र दरबारमा बुझाउने, सुरासुन्दरी काण्डदेखि सांसद किनबेच र पजेरो सुविधा दिलाएर उनी विवादमा परेका थिए । लोकतन्त्रका साथै कांग्रेसलाई विभाजन गर्नसमेत उनको ठुलो हात रहेको विश्लेषकहरू बताउँछन् । आफ्ना कोटरीका सीमित नेताहरूकै कारण जीवनको उत्तरार्द्धमा देउवाले पदप्रति आशक्ति देखाएका छन् । 

०५९ मा देउवाले कांग्रेस विभाजन गरेर कांग्रेस (प्रजातान्त्रिक) बनाएका थिए । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको विवादका कारण बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भेला गरेर आफ्नै नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक बनाएका थिए । ०६४ मा उनी पुन: कांग्रेसमा फर्किए । तत्कालीन सभापति गिरिजाप्रसादलाई उनले टक्कर दिइरहे । गिरिजाको निधन भएपछि नेतृत्वमा आएका सुशील कोइरालालाई पनि देउवाले चुनौती दिइरहे । तर, दुवै कोइरालासँग देउवा महाधिवेशनमा पराजित भए । १३औँ महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भए । १४औँमा दोहोरिए । कांग्रेस विधानअनुसार उनी तेस्रोपटक सभापतिको उम्मेदवार बन्न पाउँदैनन् । 

गत भदौको जेन–जी आन्दोलनपछि देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए । तर, देउवा कार्यकारी अधिकार छोड्न तयार नहुँदा कांग्रेस विभाजनको इतिहास दोहोरियो । ०५९ मा संस्थापन पक्षले अन्याय गरेको भन्दै पार्टी विभाजन गरेका देउवाकै कारण पुन: कांग्रेस विभाजित भएको छ । त्यतिवेलाको संस्थापन पक्षले तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवालाई दरबारसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै तीन वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो । 

माओवादीविरुद्ध लगाइएको संकटकाल अवधि थप्ने कि नथप्ने भन्ने विषयमा मुख्य विवाद थियो । देउवा संकटकाल थप्न खोज्दै थिए । त्यसका लागि संसद् अधिवेशनसमेत बोलाएका थिए । तर, गिरिजाप्रसादले भने माओवादीसँग सम्पर्क बढाएका थिए । गिरिजा संकटकालको विपक्षमा थिए । कांग्रेसले संकटकाललाई निरन्तरता दिन आवश्यक नभएको ठहर गर्दै संकटकाल लम्ब्याउने प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । तर, देउवाले प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणाको बाटो लिए । त्यसपछि गिरिजाले पार्टी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी देउवालाई तीन वर्षका लागि निष्कासन गर्ने निर्णय गरे । उनी पार्टीविहीन प्रधानमन्त्री बनेपछि कारबाही फिर्ताका लागि दबाब दिने भन्दै महाधिवेशन प्रतिनिधिको भेला बोलाए । त्यसपछि कांग्रेस प्रजातान्त्रिक बनाउँदै सभापति भएका थिए ।

०५१ मा गिरिजाप्रसादले पनि महाधिवेशन प्रतिनिधिको भेला बोलाएका थिए, जतिवेला सन्तनेता कृष्णप्रसाद भट्टराई सभापति थिए । भट्टराई आफैँ भेलामा गएर कांग्रेसको विभाजन रोकेका थिए । तर, भट्टराईको जस्तो त्याग र साहस कोइराला र देउवाले देखाएनन् । देउवाले नियमित महाधिवेशन हुन दिएनन् । त्यसपछि थापा र शर्माले विशेष महाधिवेशनको बाटो अपनाए । पार्टी विभाजनको अवस्थामा पुग्दा पनि दुवै पक्षले अडान छाडेनन् । 

पहिलोपटक ००९ मा नेपाली कांग्रेस विभाजन हुँदा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए । तर, विदेशी हस्तक्षेपलाई हेर्ने दृष्टिकोणलाई लिएर मातृका र बिपी कोइरालाबिच मतभेद बढ्यो । मातृकासँग विवाद बढेपछि बिपीले एउटै व्यक्ति प्रधानमन्त्री र सभापति बन्न सक्दैन् भन्ने अभिव्यक्ति दिँदै राजीनामा मागे । विवादकै बिच जनकपुरमा १०–१३ जेठ ००९ सम्म भएको पाँचौँ महाधिवेशनले बिपीलाई सभापति निर्वाचित गर्‍यो । १० साउनमा पार्टीले मातृकालाई राजीनामा दिन निर्देशन दियो । ४८ घण्टाभित्र राजीनामा नदिए केन्द्रीय सदस्यबाट निलम्बन गर्ने चेतावनी दिएपछि पनि मातृकाले राजीनामा नदिएपछि कांग्रेस विभाजन भयो । ०१० मा मातृकाले कांग्रेस विभाजन गरेर राष्ट्रिय प्रजा पार्टी गठन गरेका थिए । मातृकालाई पार्टी नीतिविपरीत राजासँग घाँटी जोडेको आरोप लगाएर बिपी कोइरालाले तीन वर्षका लागि पार्टीबाट निष्कासन गरेपछि मातृकाले भेला बोलाएर नयाँ पार्टी गठन गरेका थिए । ०१२ मा मातृका पनि कांग्रेसकै मिसिएका थिए ।

०६२/६३ को दोस्रो जनआन्दोलनपछि महन्थ ठाकुर, विजयकुमार गच्छदार, जेपी गुप्ता, शरत्सिंह भण्डारीलगायत नेताले कांग्रेस परित्याग गरी मधेशकेन्द्रित दल गठन गरेका थिए । कांग्रेसको पछिल्लो विभाजनका रूपमा ०७२ मा कांग्रेस बिपी गठन भएको थियो । कांग्रेस बिपी गठन गर्ने हरिबोल भट्टराई कांग्रेसमै फर्किएका छन् । कांग्रेस बिपीको सभापति सुशीलमान शेरचन छन् ।

‘कार्यकारी अधिकारमा फर्केर देउवाले गरे महाभूल’ 
 

पुरञ्जन आचार्य

कांग्रेसलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य देउवाले देश र कांग्रेस दुवै चलाउन नसकेको बताउँछन् । ‘देउवाले देश पनि चलाउन सक्नुभएन, कांग्रेस पनि चलाउन सक्नुभएन । तर, कार्यकर्ताले विश्वास गरेर सभापतिमा दोहोर्‍याइदिए । संसदीय दलले पनि विश्वास गर्‍यो,’ उनले भने, ‘पीडा र इतिहासले सिकाउनुपर्ने हो । जिम्मेवार पनि बनाउनुपर्ने हो । तर, कार्यवाहक दिएर हिँडेपछि फेरि कार्यकारी अधिकारमा फर्केर देउवाले महाभूल गरे । देउवाको अनुपस्थितिमा केन्द्रीय कार्यसमितिले पनि केही गर्न सकेन । वेलैमा महाधिवेशन मिति तोकेको भए देउवा फेरि फर्किने स्थिति हुँदैन थियो । कार्यसमिति पनि त्यसमा दोषी छ ।’

दुवै पक्षको हठका कारण विभाजनको स्थिति आएको उनको दाबी छ । ‘यो विभाजन र फुटमा एक पक्षको मात्र दोष छैन । दुवैको हठका कारण र स्वार्थका कारण यो अवस्था आएको छ । पद, व्यक्तिगत महत्वाकांक्षाले पनि भूमिका खेलेको देखिन्छ । अति आत्मविश्वास, तर सैद्धान्तिक शून्यको स्थिति भयो ।’ विशेष महाधिवेशनले कांग्रेसमा ऊर्जा थपे पनि त्यसको सही व्यवस्थापन हुन नसक्दा अप्ठेरो स्थितिमा कांग्रेसको पुगेको उनको तर्क छ । अर्का विश्लेषक लोकेश ढकाल देउवाका कारण अहिलेको स्थिति आएको दाबी गर्छन् । ‘०५९ र ०८२ को दुवै विभाजनको कारक देउवा हुन् । देउवाकै हात छ, यो दिन आउनुमा । देउवाको नेतृत्व असफल साबित भयो । निकम्मा सभापतिका रूपमा नाम दर्ज भयो,’ उनले भने ।

See More On

सुझावित समाचार