- नयाँ आहार निर्देशिकाले अमेरिकी घरपरिवारलाई सम्पूर्ण पोषक तत्वले भरिपूर्ण खानामा निर्मित आहारलाई प्राथमिकता दिन प्रोत्साहित गरेको छ
अमेरिका हाम्रो इतिहासको सबैभन्दा खराब दीर्घकालीन स्वास्थ्य संकटबिच छ, तर ट्रम्प प्रशासनले पुनरुत्थानका लागि जग बसालिरहेको छ । जुन हाम्रा किसान र पशुपालकले उब्जाएको वास्तविक पौष्टिक खानामा आधारित छ ।
हरेक पाँच वर्षमा अमेरिकी कृषि विभाग (युएसडिए) र स्वास्थ्य तथा मानव सेवा (एचएचएस) ले कानुनी रूपमा आमजनताका लागि पोषण र आहारसम्बन्धी जानकारी र दिशानिर्देश समावेश गर्ने प्रतिवेदन प्रकाशित गर्न आवश्यक छ । अमेरिकीका लागि आहार निर्देशिका भनेर चिनिने यो प्रतिवेदनले स्वास्थ्य प्रवर्द्धन गर्न, दीर्घकालीन रोगको जोखिम कम गर्न र पोषक तत्वहरूको आवश्यकता पूरा गर्न के खाने र के पिउने भन्नेबारे विज्ञानमा आधारित सल्लाह प्रदान गर्ने उद्देश्य राखेको छ । यद्यपि, १९८० मा पहिलो प्रतिवेदन प्रकाशित भएदेखि नै हाम्रो राष्ट्रको आहारसँग सम्बन्धित दीर्घकालीन रोगको दर व्यापक स्तरमा बढेको छ । सिडिसीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकामा लगभग सात करोड ३० लाख बालबालिकामध्ये ४० प्रतिशतभन्दा बढीमा कम्तीमा एउटा दीर्घकालीन स्वास्थ्य समस्या छ र तीनचौथाइ आफ्नो स्वास्थ्यका कारण सैन्य सेवाका लागि योग्य छैनन् ।
यी तथ्यांक किमार्थ अस्वीकार्य छन् । कमजोर स्वास्थ्यले हाम्रा नागरिकको स्वस्थ र खुसीसाथ जीवन बिताउने क्षमतामा बाधा पुर्याउँछ भने हानिकारक बानी बाल्यकालदेखि नै विकास हुन्छ । अमेरिकीका लागि आहार निर्देशिका २०२५–२०३० मा संशोधन गरेर राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीको कल्याणलाई पहिलो स्थानमा राखेका छन्, जुन यसअघि नै हुनुपथ्र्यो । दशकौँको गलत पोषण सल्लाहपछि उनले वैज्ञानिक नीतिमा आधारित आफ्नो वाचा पनि पूरा गर्दै छन् ।
अमेरिकालाई फेरि स्वस्थ बनाउन हामी पोषणको आधारभूत कुरामा फर्कनुपर्छ । हामीले के खान्छौँ भन्ने कुराले हामी त्यसबाट के प्राप्त गर्न सक्छौँ भन्ने पक्षलाई असर गर्छ ! हामीले के खान्छौँ भन्ने कुराले हामी कसरी हुर्किन्छौँ, कसरी काम गर्छौं र फस्टाउँछौँ भन्ने विषयलाई निश्चित रूपमा असर गर्छ । यद्यपि, अमेरिकी आहार नाटकीय रूपमा कृत्रिम ‘एडिक्सन’सहितको उच्च प्रशोधित खानातिर सरेको छ, जसले अमेरिकाका किसान र पशुपालकले उब्जाएका पोषक तत्वयुक्त सम्पूर्ण खानालाई विस्थापित गरेको छ । फलस्वरूप, अमेरिकीले जैविक कार्यका लागि आवश्यक पर्ने भिटामिन, खनिज, फाइबर र फाइटोन्युट्रिएन्टहरू कम उपभोग गरिरहेका छन् । ट्रम्प प्रशासन यस खतराबारे राम्ररी सचेत छ, र हामी यसबारे केही गरिरहेका छौँ । हाम्रो राष्ट्रिय इतिहासको यो निर्णायक क्षणमा नयाँ आहार निर्देशिकाले अमेरिकी घरपरिवारलाई सम्पूर्ण पोषक तत्वले भरिपूर्ण खानामा निर्मित आहारलाई प्राथमिकता दिन प्रोत्साहित गरेको छ । सबैभन्दा स्वस्थकर खाना जमिनबाट उत्पादन हुँदा स्वच्छ हुन्छन् र हामी प्रशस्त कृषि भूमि भएको देशमा बस्न पाउँदा भाग्यशाली छौँ ।
अनुसन्धानले निरन्तर देखाउँछ कि फलफूल र तरकारीमा पाइने क्याल्सियम, आइरन, पोटासियम र भिटामिन डीजस्ता प्रमुख सूक्ष्म पोषक तत्व बालबालिकाको शारीरिक विकासका लागि आवश्यक छन् । स्वस्थकर खानामा केन्द्रित आहारले दीर्घकालीन रोगको दर न्यून हुने विभिन्न प्रमाणले देखाएका छन् ।
त्यसैले हामी अन्तत: अमेरिकी आहारको केन्द्रमा वास्तविक खानालाई पुन: राख्दै छौँ । वास्तविक खानाले शरीरलाई पोषण दिन्छ, स्वास्थ्य पुनर्स्थापित गर्छ, ऊर्जा प्रदान गर्छ र शक्ति निर्माण गर्छ । यो प्रवृत्तिले अमेरिकाका किसान र पशुपालकद्वारा प्रचुर मात्रामा आपूर्ति भइरहेको स्वस्थ खानालाई पनि समर्थन गर्छ । दूध उत्पादन गरेर, गाईवस्तु पालन गरेर र स्वस्थ फलफूल, तरकारी र अन्न उब्जाएर किसानले हाम्रो राष्ट्रिय स्वास्थ्य संकट समाधान गर्ने कुञ्जी प्रधान गर्छन् । विगत एक वर्षदेखि ट्रम्प प्रशासनले ग्रामीण अमेरिकासँगै मिलेर देशभरका साना, स्थानीय र क्षेत्रीय सञ्चालन पुनर्स्थापित गर्न र कृषिलाई सुदृढ पार्न सक्रिय रूपमा काम गरिरहेको छ । अमेरिकी पशुपालक र उपभोक्ताका लागि युएसडिए योजनाले पशुपालकले सामना गर्ने दीर्घकालीन लागत घटाएर अमेरिकी गाईवस्तु उत्पादनलाई सुदृढ पार्ने लक्ष्य राखेको छ र नयाँ कृषि पाइलट परियोजनाले स्थिर माटो संरचना र पानी अवधारणलाई समर्थन गर्न ७०० मिलियन डलर लगानी गर्नेछ ।
संशोधित आहार निर्देशिका जारी भएसँगै हामी स्कुलको खाना र बाल पोषण कार्यक्रमलाई नियन्त्रण गर्ने नियम अद्यावधिक गरेर किसानलाई खाजाघरमा जोड्ने प्रयास गर्न सक्छौँ । यो लगानीले हाम्रो स्वास्थ्य सेवा खर्च घटाएर ठुलो लाभांश दिनेछ र हाम्रो राष्ट्रको उत्पादकता बढ्नेछ, जसले वार्षिक रूपमा ट्रिलियन डलरको मूल्य सिर्जना गर्न सक्छ । राष्ट्रपति ट्रम्पको नेतृत्वमा हामी संघीय खाद्य तथा स्वास्थ्य नीतिको बेजोड सराहना गर्दै वैज्ञानिक अखण्डता र जवाफदेहिता पुनर्स्थापित गर्दै छौँ ।
(पोषण, स्वास्थ्य र आवासका लागि युएसडिएका राष्ट्रिय सल्लाहकार डा. बेन कार्सनको आलेख)
न्युजविकबाट