जेन–जी आन्दोलनको म्यान्डेट र बदलिँदो राजनीतिक विकल्प

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण
  • आन्दोलनबाट आएको शक्तिले संगठन, आन्तरिक लोकतन्त्र र नीति–अनुशासनलाई प्राथमिकता दियो भने दीर्घकालीन सफलता सम्भव हुन्छ

नेपालको समकालीन राजनीति फेरि एकपटक निर्णायक मोडमा उभिएको छ । यो मोड कुनै एक व्यक्तिको उदय, कुनै एक दलको रणनीति वा कुनै एक घटनाको परिणाम मात्र होइन । लामो समयदेखि सुल्झिन नसकेका संरचनागत समस्या, पुराना दलहरूको असफल शासन अभ्यास र त्यसबाट उत्पन्न जनआक्रोशको परिपक्व अभिव्यक्ति नै आजको यो मोड हो । यही पृष्ठभूमिमा जन्मिएको हो– जेन–जी आन्दोलन । यो आन्दोलन आक्रोशको क्षणिक विस्फोट होइन, पुस्तागत चेतनाको उद्घोष हो, जहाँ युवापुस्ताले स्पष्ट शब्दमा भनेको छ– अब आश्वासन होइन, परिणाम चाहिन्छ ।

यही म्यान्डेटको राजनीतिक अवतारका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विकल्पसहितको ठुलो दल बन्ने गतिमा अघि बढ्यो– संख्यामा मात्र होइन, अपेक्षामा पनि । रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको सम्भावित मिलनलाई जेन–जी आन्दोलनको नैसर्गिक राजनीतिक परिणतिका रूपमा हेरिएको थियो । देशभर आशा फैलिएको थियो– अब पुरानो शैलीको राजनीति तोडिन्छ, परिणाममुखी नयाँ अभ्यास सुरु हुन्छ । तर, आज त्यो आशा गम्भीर प्रश्नको घेरामा उभिएको छ । कुलमान घिसिङ र रास्वपाबिचको एकता अन्तत: असफल भयो । यो असफलता कुनै एक व्यक्तिको हार होइन, यो सामूहिक राजनीतिक अपरिपक्वताको परिणाम हो । यही बिन्दुबाट गम्भीर आत्मसमीक्षा अनिवार्य हुन्छ ।

व्यक्तित्वहरूको संगम र विश्व राजनीतिक सन्दर्भ : रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको उपस्थिति रास्वपाभित्र मात्र सीमित छैन । थरुहट आन्दोलनका अभियन्ता, अन्य दलका असन्तुष्ट नेता, पेसागत क्षेत्रमा स्थापित व्यक्ति र नागरिक समाजका प्रतिनिधिको प्रवेशले रास्वपाको स्वरूपलाई ‘एक दल’ भन्दा पनि ‘एक ठुलो राजनीतिक प्लेटफर्म’जस्तो बनाइदिएको छ । अर्कातर्फ कुलमानको बहिर्गमनसँगै यी तीनजनाको अपरिपक्वता देखेर रास्वपा एक प्रकारको ‘बाल क्लब’ त होइन भन्ने आशंका पनि बढेको छ ।

विश्व राजनीतिक इतिहासमा यस्ता उदाहरण दुर्लभ छैनन् । विश्व राजनीतिमा व्यक्तिगत आकर्षण र सामाजिक आक्रोशबाट जन्मिएका दलका उदाहरण धेरै छन् । फ्रान्समा इमानुएल म्याक्रोँको आन्दोलनले पुराना दलको विकल्प दिएर सत्ता प्राप्त गर्यो, तर संगठन संस्थागत नहुँदा आज त्यो आन्दोलन व्यक्तिमा सीमित हुँदै गयो ।

इटलीको ‘फाइभ स्टार मुभमेन्ट’ जनआक्रोशको बलमा उदायो, तर आन्तरिक मतभेद, नेतृत्वको द्विविधा र नीति अस्पष्टताका कारण केही वर्षमै आफ्नो नैतिक उचाइ गुमायो । यी उदाहरणले देखाउँछन्– आन्दोलन जित्नु जति सजिलो छ, आन्दोलनलाई राज्य सञ्चालनको क्षमतामा बदल्नु त्यति नै कठिन छ । तर, यस्ता दलको सबैभन्दा ठुलो परीक्षा उत्साहलाई संस्थागत अनुशासनमा रूपान्तरण गर्नु हो ।

विश्व राजनीतिले बारम्बार एउटा सत्य दोहोर्याएर देखाएको छ– जनआक्रोश र आशाबाट जन्मिएका दलले सत्ता त पाउँछन्, तर संस्थागत नहुँदा टिक्न सक्दैनन् । यही दृष्टिले आजको नेपाली राजनीतिक मिलनलाई अन्तर्राष्ट्रिय अनुभवसँग तुलना गर्नु आवश्यक छ । छिमेकी भारतमा उदाएको आम आदमी पार्टी (आप) यसको नजिकको उदाहरण हो ।

भ्रष्टाचारविरुद्धको जनआन्दोलनबाट जन्मिएको यो दलले दिल्लीमा सत्तासमेत प्राप्त गर्यो । सुरुवाती चरणमा साधारण जीवनशैली, सार्वजनिक सेवा र शिक्षा–स्वास्थ्यमा दिएको ध्यानले पार्टीलाई आशाको प्रतीक बनायो । तर, समयसँगै नेतृत्वकेन्द्रित निर्णय, आन्तरिक लोकतन्त्र कमजोर हुनु र केन्द्र–राज्यबिचको द्वन्द्वले पार्टीको राजनीतिक उचाइ सीमित बनाउँदै लग्यो । आपले देखायो– आन्दोलनबाट सत्ता सम्भव छ, तर संगठन र दीर्घकालीन रणनीतिविना त्यो अस्थिर रहन्छ ।

युक्रेनको अनुभवले अझ गहिरो पाठ दिन्छ । अभिनेता भ्लोदिमिर जेलेन्स्की जनताप्रतिको निराशा र पुराना नेताप्रतिको वितृष्णाबाट राष्ट्रपति बने । उनले युद्धकालीन नेतृत्वमा साहस र अन्तर्राष्ट्रिय समर्थन जुटाएर असाधारण भूमिका निर्वाह गरे । तर, युद्धअघि र युद्धबाहेकको शासनमा संस्थागत सुधार, भ्रष्टाचार नियन्त्रण र दल निर्माणका सवाल अझै चुनौतीकै रूपमा रहेका छन् । युक्रेनले सिकाएको पाठ स्पष्ट छ– व्यक्तिगत लोकप्रियता संकटमा काम लाग्छ, तर शान्तिकालीन राज्य सञ्चालन संस्थागत क्षमताले मात्र सम्भव हुन्छ । दक्षिण एसियामा श्रीलंकाको उदाहरण झनै चेतावनीपूर्ण छ ।

जनआन्दोलनको बलमा नयाँ अनुहार उदाए पनि नीति अस्पष्टता, आन्तरिक एकता अभाव र आर्थिक निर्णयमा अपरिपक्वताले देश गम्भीर संकटमा फस्यो । आन्दोलन सफल भयो, तर शासन असफल । यसले देखायो– पुरानो हटाउनु मात्र समाधान होइन, नयाँले के गर्छ, त्यो नै निर्णायक हुन्छ । तर, सबै उदाहरण नकारात्मक मात्र छैनन् । जर्मनीको ‘ग्रिन पार्टी’ वा न्युजिल्यान्डको ‘लेबर पार्टी’ले देखाएझैँ यदि आन्दोलनबाट आएको शक्तिले संगठन, आन्तरिक लोकतन्त्र र नीति–अनुशासनलाई प्राथमिकता दियो भने दीर्घकालीन सफलता सम्भव हुन्छ । उनीहरूले लोकप्रियतालाई संस्थागत नियममा बाँधे, व्यक्तिलाई प्रक्रियाभित्र राखे । यी सबै उदाहरणको सार एउटै छ– आन्दोलन जित्नु सजिलो हुन्छ, इतिहास जित्न कठिन ।

नेपालको सन्दर्भमा आजको मिलन पनि यही दोधारमा उभिएको छ । यदि यसले विश्वका असफल उदाहरणबाट पाठ सिक्यो भने सफल बन्न सक्छ । नत्र, यो पनि असफलताकै सूचीमा थपिनेछ– ठुलो आशा, सानो परिणामका रूपमा । रास्वपाको अवस्था पनि यहीँ उभिएको छ । विविध पृष्ठभूमिबाट आएका व्यक्तिहरूको मिलन आफैँमा अवसर हो, तर यही विविधता व्यवस्थापन गर्न नसकिए संकट पनि बन्न सक्छ । आन्दोलन जित्नु सजिलो हुन्छ, आन्दोलनलाई राज्य सञ्चालनको क्षमतामा बदल्नु अत्यन्त कठिन । नेपालको सन्दर्भमा रवि–बालेन–कुलमानको सम्भावित संगम पनि यही दोधारमा थियो । दुर्भाग्यवश, यसले सफल उदाहरणभन्दा असफल उदाहरणतर्फ झुक्ने संकेत दियो ।

०६४ को माओवादी अनुभव, दोहोरिन नहुने

इतिहास : नेपालले यसअघि पनि ‘ठुलो आशा बोकेको शक्ति’को अनुभव गरिसकेको छ । ०६४ सालमा माओवादीको उदय त्यसको ज्वलन्त उदाहरण हो । विभिन्न क्षेत्रका स्थापित व्यक्तिको प्रवेशले पार्टी क्षणमै विशाल बन्यो । तर, पद, शक्ति र भूमिकाको अव्यवस्थित वितरणले त्यो सम्भावना आन्तरिक द्वन्द्वमै खेर गयो । समस्या विचारको थिएन, समस्या व्यवस्थापनको थियो । आज रास्वपा त्यही इतिहास दोहोरिने मोडमा उभिएको देखिन्छ ।

एकताको असफलता तिनै नेतृत्वको साझा 

चुक : कुलमान–रास्वपा एकता असफल हुनु कुनै एक पक्षको गल्ती भनेर टार्न मिल्दैन । कुलमान घिसिङले राजनीतिक संक्रमणको संवेदनशील क्षणमा अपेक्षित परिपक्वता देखाउन सकेनन् । मन्त्री पदबाट समयमै राजीनामा नदिनु र भूमिकामा स्पष्टता नदिनुले जनविश्वास कमजोर बनायो । रवि लामिछाने मिलनलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने ठाउँमा व्यक्तिगत व्यवस्थापनमा चुके । बालेन शाहले पनि अपेक्षित मध्यस्थको भूमिका समयमै निर्वाह गर्न सकेनन् । यसरी हेर्दा, यो असफलता तीनैजनाको पदीय व्यवस्थापन र शक्ति सन्तुलनमा देखिएको अपरिपक्वताको साझा परिणाम हो ।

पद र शक्तिको राजनीति : नेपालको राजनीतिक इतिहास हेर्दा एकता टुट्नुको मूल कारण सैद्धान्तिक मतभेद होइन– पद, शक्ति र अहंकार नै हो । नयाँ शक्ति–मधेशी दल, विवेकशील–साझा, एमाले–माओवादी, राप्रपा—सबै यही रोगले ग्रसित भए । दुर्भाग्यवश, रास्वपाको मिलन प्रयास पनि यसबाट अछुतो रहन सकेन । ‘फलानाको कोटा’ भन्ने भाष्यले पार्टी संस्थागत होइन, शक्ति केन्द्रहरूको जमघटजस्तो देखिन थाल्यो । समानुपातिक उम्मेदवार घोषणाका क्रममा बालेन समूहको अपरिपक्वता, रवि समूहको विश्वसनीयतामाथि उठेका प्रश्न र कुलमानको ढुलमुलेपनले धेरै समर्थकलाई निराश बनाएको छ । अझ सामानुपातिक र प्रत्यक्ष निर्वाचनका लागि पैसा तिरेर उम्मेदवारका लागि दर्खास्त आह्वान गर्नु नौलो अभ्यास भए पनि यो कुनै राजनीतिक संस्कारभित्र पर्दैन ।

कस्मेटिक आकर्षण र सांगठनिक संकट : रास्वपाप्रति आकर्षणसँगै कस्मेटिक राजनीतिक जमात पनि बढेको छ– सामाजिक सञ्जाल चलाउन जान्ने, पद पाए बसि पनि हाल्ने, नपाए छोड्ने । यस्तो जमात चुनाव जित्न सहयोगी देखिए पनि पार्टीलाई दीर्घकालीन रूपमा जीवित राख्न घातक हुन्छ । पार्टी चुनावी मेसिन होइन, विचार र अनुशासनको संरचना हो ।

विकल्पको रिक्तता र कांग्रेसभित्र देखिएको पुनर्जागरण : देशको राजनीतिक अवस्थाले फेरि एउटा अप्रत्याशित मोड लिएको छ । कुलमान घिसिङ र रास्वपाबिचको एकता असफल भएसँगै जेन–जी आन्दोलनले खोजिरहेको ‘भरपर्दो विकल्प’को प्रश्न झनै गहिरिएको छ । यही रिक्तताबिच नेपाली कांग्रेसको विशेष महाधिवेशनले दिएको सन्देशले भने नयाँ राजनीतिक सम्भावनाको ढोका खोलेको छ । विशेषत: गगन थापा र विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनको भावनालाई आत्मसात् गर्दै कांग्रेसलाई रूपान्तरण गर्ने स्पष्ट संकेत दिएपछि, लामो समयपछि कांग्रेस पनि फेरि एउटा विश्वसनीय विकल्पका रूपमा देखिन थालेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।

गगन–विश्वप्रकाश–प्रदीप पौडेलबिच देखिएको आपसी समर्पण, सार्वजनिक असहमतिको मर्यादित अभ्यास र ‘सत्ता होइन, संस्कार’ भन्ने भाष्यले धेरै समयपछि देशमा फेरि एकपटक राजनीतिक रक्तसञ्चार भएको अनुभूति गराएको छ । रोचक के छ भने यही अनुभूति केही समयअघि रवि–बालेन–कुलमान सम्भावित मिलनले दिएको थियो । फरक यत्ति हो– कांग्रेसभित्र देखिएको यो संकेत दुई सातामै भत्किनेछैन, बरु संगठनभित्रै बहस र प्रक्रियामार्फत अघि बढ्ने प्रयास देखिएको छ । यसको ठिक विपरीत, रवि–बालेन–कुलमानको एकता दुई सातासमेत टिक्न नसक्नु, ‘त्याग’ शब्दको असावधानीपूर्ण प्रयोग र ‘मिडिया ट्रायल’मार्फत एक–अर्कामाथि दोष थोपर्ने शैलीले आमजनता र शुभचिन्तकलाई गम्भीर रूपमा भ्रमित र निराश बनाएको छ । यो केवल रणनीतिक असफलता होइन, राजनीतिक अपरिपक्वताको सार्वजनिक प्रदर्शनी हो । अझ दु:खद के छ भने यी तीनैले सत्ता र शक्तिमै नपुगी यति छिटो अहंकार, संख्या र ‘हाम्रो विकल्प छैन’ भन्ने भ्रम पाल्न थाले । यही प्रवृत्ति नै पुरानो राजनीतिक संस्कारको सबैभन्दा खतरनाक निरन्तरता हो ।

यदि नयाँ भनिएका शक्तिले आत्मसमीक्षा नगरी यही बाटो पछ्याउने हो भने गगन नेतृत्वको रूपान्तरणसहितको कांग्रेस क्रमश: एउटा दह्रिलो, संगठित र तुलनात्मक रूपमा विश्वसनीय विकल्प बन्दै जाने सम्भावना प्रस्ट देखिन्छ । राजनीतिमा भावनाले होइन, व्यवहार र निरन्तरताले विश्वास जित्छ ।

त्यसैले, रास्वपाका नेताले अब निर्मम आत्मसमीक्षा गर्नु अनिवार्य भइसकेको छ । वरिपरिका चाकरीबाज नेता, उग्र र गैरजिम्मेवार कार्यकर्ताको कुरा सुनेर भ्रममा बाँचिरहनु राजनीतिक आत्महत्यासरह हुनेछ । जनताले अझै ढोका बन्द गरेका छैनन्, तर त्यो ढोका सधैँ खुला पनि रहँदैन । विकल्प बन्ने अवसर अझै छ, तर त्यो अवसर अहंकारले होइन, विनम्रता, अनुशासन र साझा दृष्टिले मात्र जोगाउन सकिन्छ ।

अन्तत: प्रश्न रास्वपा ठुलो छ कि छैन भन्ने होइन, प्रश्न यो हो– यो परिपक्व छ कि छैन ? जेन–जी आन्दोलनले दिएको म्यान्डेट सत्ता कब्जाका लागि होइन, राजनीतिक संस्कार परिवर्तनका लागि हो । यदि नयाँ शक्ति पनि पुरानै रोग पद, शक्ति र अहंकारको चक्रमा फसे भने यो केवल एउटा असफल मिलन मात्र हुनेछैन, यो नयाँ पुस्ताको भरोसामाथि गरिएको गम्भीर धोकासमेत हुनेछ । इतिहासले फेरि मौका दिएको छ । तर, इतिहास धैर्यवान् हुँदैन । अब समय कुराको होइन, परिणामको हो र परिणाम भनेको व्यक्तिगत जित होइन, देशले अनुभूति गर्ने परिवर्तन हो ।

सुझावित समाचार