- सुपर कपको फाइनलमा बार्सिलोनासँग ३–२ ले पराजित भएपछि स्पेनिस क्लब म्याड्रिडले मुख्य प्रशिक्षक साबी अलोन्सोलाई पदबाट मुक्त गर्यो
रियल म्याड्रिडले स्पेनिस सुपर कप फुटबल प्रतियोगिता जित्न नसकेपछि मुख्य प्रशिक्षक साबी आलोन्सलाई मंगलबार बर्खास्त गरेको छ । साउदी अरेबियामा आइतबार राति बार्सिलोनासँग ४२औँ स्पेनिस सुपर कपको उपाधि भिडन्तमा रियल म्याड्रिड ३–२ ले पराजित भएको थियो । म्याड्रिड लगातार दोस्रोपटक बार्सिलोनासँगै फाइनलमा स्तब्ध भयो । आठ महिना अवधिमा अलोन्सोले टोलीलाई प्रभावशाली नतिजा दिलाउन नसकेको ठहर म्याड्रिडको रहेको छ ।
म्याड्रिडले उनलाई बर्खास्त गर्न खासै ठुलो चुनौती सामना गर्नुपरेन । म्याड्रिडमा आउनुअघि नै दुई पक्षबिच सम्झौता भइसकेको थियो । क्लबले चाहेको कुनै पनि वेलामा पदबाट मुक्त गर्न सक्छ । म्याड्रिडले पनि यसै आपसी सहमतिमा अलोन्सोलाई हटाइएको जनाएको छ । ‘दुई पक्षबिच आपसी सहमतिमै निर्णय भएको हो,’ म्याड्रिडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले उसको नयाँ भविष्यको शुभकामना व्यक्त गरेको छ ।’
म्याड्रिडले तत्कालै क्लबकै पूर्वखेलाडी अल्भारो अर्बेलोआलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । ‘अब रियल म्याड्रिडलाई पूर्वखेलाडीसमेत रहेका अल्भारोले प्रशिक्षण दिनेछ,’ विज्ञप्तिमा भनिएको छ । अर्बेलोआले बुधबार कोपा डेल रे अन्तर्गत हुने खेलबाटै आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । अलोन्सोमाथि सुपर कप अगाडिदेखि नै दबाब थियो । अलोन्सो र प्रमुख स्ट्राइकर केलियन एम्बाप्पे र भिनिसियस जुनियरसँग जमेमको थिएन । यी दुवै खेलाडीसँग रणनीति तथा खेल्ने शैलीलाई लिएर अलोन्सोले टिप्पणी गर्दै आइरहेका थिए ।
क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भिनिसियस र एम्बाप्पेलाई आप्mनै शैलीमा प्रतिस्पर्धा गर्न अनुमति दिएका थिए । खेलाडीले आफूले बनाएको रणनीतिअनुसार नखेल्दा अलोन्सो विवाद गर्थे । प्रमुख खेलाडीसँगको विवादका कारण अलोन्सोले पद गुमाउनु परेको स्पेनिस मिडियाले जनाएको छ । आठ महिनाको अवधिमा उनले म्याड्रिडलाई ३४ खेलमा २४ जित दिलाए । तर, सुपर कप गुमाउनु नै उनका लागि ठुलो घाटा भयो । क्लबले उनलाई ‘रियल म्याड्रि«डको लिजेन्ड’ भन्दै सम्मानका साथ बिदाइ गरेको छ । स्पेनिस ला लिगामा बार्सिलोनाले म्याड्रिडविरुद्ध चार अंकको अग्रता लिएको छ । कुनै समयमा रियलले बार्सिलोनामाथि शीर्ष स्थानमा फराकिलो अन्तर राखेको थियो ।
म्याड्रिडकै सफल खेलाडी अलोन्सो
प्रशिक्षकका रूपमा असफल भए पनि अलोन्सोले एक खेलाडीका रूपमा भने म्याड्रिडलाई धेरै सफलता दिलाएका छन् । उनले सन् २००९ देखि ०१६ सम्म म्याड्रिडबाट खेल्दा आठ उपाधि जिते । जसमा दुई युरोपियन कप र एक स्पेनिस ला लिगा प्रमुख रह्यो । अल्वेलाले स्पेनको राष्ट्रिय टोलीबाट खेल्दा सन् २०१० मा विश्वकप जितेका थिए । यसैगरी, उनले सन् २००८ र २०१२ मा युरोकपसमेत हात पारेका थिए । गत सिजनमा अलोन्सोको प्रशिक्षणमा म्याड्रिडले क्लब विश्वकपको सेमिफाइनल स्थान बनाएको थियो । फाइनल प्रवेशको खेलमा म्याड्रिड पिएसजीबाट पराजित भयो । यसैगरी, स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडसँग रियल ५–२ ले हारेको थियो । अलोन्सोको प्रशिक्षणमा म्याड्रिड कोपा डे रेको अर्को चरणमा छ । यसअघि उनले आप्mनो प्रशिक्षणमा जर्मन क्लब बायर्न लेभरकुसेनलाई सफलता दिलाएका थिए ।